गृहपृष्ठ उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै सिद्धार्थ ग्रुप
उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै सिद्धार्थ ग्रुप
जरिवाना तिर्दै उम्कँदै
सिद्धार्थ गुप्रअन्तर्गत तेल उत्पादन गर्ने कम्पनीले पटक–पटक गुणस्तरहीन खाद्यान्न उत्पादन गरी बिक्री गर्ने गरेको पाइएको छ । रुपन्देहीको गोनाहस्थित सिद्धार्थ आयल इण्डष्ट्रिज र सिद्धार्थ रिफाईनरी एण्ड सोलाभेन्ट इण्डष्ट्रिजले क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई पटक–पटक जरिवाना बुझाएको पाइएको हो ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा अनुसार १६ फागुन २०७३ मा तोरीको तेलमा पेरोक्सायर्डको मात्र बढी भएको भन्दै कार्यालयले मुद्दा चलाएको थियो । २ कातिक २०७४ मा पनि जिल्ला प्रशासनमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा कम्पनीले ८ मंसिर २०७४ मा २ हजार रुपैयाँ जरिवाना तिरेको थियो । पुनः सोही कम्पनीको नमुना जाँच गर्दा मात्र नपुगेको भन्दै जिल्ला प्रशासन कार्यालयले २ हजार थप जरिवाना तिराएको छ ।
सोही ग्रुपअन्तर्गतको सद्धार्थ रिफाईनरी एण्ड सोलाभेन्ट इण्डष्ट्रिजले तीन पटकसम्म जिल्ला प्रशासन कार्यालयमा जरिवाना बुझाएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका नायव सुब्बा माधव घिमिरेका अनुसार उक्त कम्पनीले २५ मंसिर ०७४ मा एसिड भ्यालु र पेरोक्साईडको मात्रा बढी भएका कारण २ हजार रुपैयाँ जरिवाना तिरेको थियो । कम्पनीका सञ्चालक अपितकुमार अग्रवाल र राजेन्द्रप्रसाद अग्रवालले दोस्रो पटक १० हजार र पुनः ५ हजार जरिवाना जिल्ला प्रशासन कार्याललाई तिरेका छन् । पटक–पटक नमुना परीक्षण गर्दा नमुना फेल भएपछि जरिवाना तिराइएको जनाइएको छ ।
गत आर्थिक बर्षमा जिल्ला प्रशासन कार्यालयमा कुल ४ सय ३ मुद्दा दायर भएका छन् । आर्थिक बर्ष ०७३/७४ मा सरेर आएका कुल ११६ वटा र ०७४/७५ मा दर्ता भएका ३८७ गरी कुल ५ सय ३ वटा मुद्दा दर्ता भएको जनाइएको छ । जसमा कुल ४ सय २१ वटा मुद्दा फस्र्यौट भएका छन् । गत आर्थिक बर्षबाट चालु आर्थिक बर्षमा कुल ८२ वटा मुद्दा सरेर आएका छन् ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तेलमा दुर्गा मोडल आयल मिल पडसरी कटैयालाई पनि मुद्दा चलाएको छ । तेलमा नै रौनक तेल कम्पनीले पनि २ हजार जरिवाना तिरेको छ । गत आर्थिक बर्ष २०७४/०७५ मा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले कुल ४ सय ५० वटा नमुना संकलन गरेको थियो । जसमा जम्मा १ सय ७१ वटा मात्रै नमुना परीक्षण गरियो । अन्य नमुना परीक्षणकै क्रममा रहेका छन् । १ सय ७१ मध्ये १३ वटाबारे जिल्ला प्रशासनमा मुद्दासमेत दायर गरिएको छ । जसमा कतिपयले मुद्दाबापतको रकम बुझाइ सकेका छन् भने कतिपय प्रक्रियामा रहेका छन् ।
प्रकाशित समय १७:४७ बजे


















