गृहपृष्ठ स्याङ्जा पुगेर गगन थापाले भने- सरकार बरालियो
स्याङ्जा पुगेर गगन थापाले भने- सरकार बरालियो
फाइल तस्बिर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गरेका छन् ।
चापाकोट उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको आइतबार स्याङ्जाको चापाकोटमा समापन गर्दै उनले इतिहासकै बलियो सरकारका रुपमा रहेको वर्तमान केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गरे ।
‘बलियो सरकारले गरेका सम्पूर्ण कार्य पूरा हुनुपर्छ,’ थापाले भने, ‘कमजोर सरकार बरालियो भने सम्हाल्न सकिने तर बलियो सरकार बरालिँदा अन्यलाई समेत अप्ठ्यारो परेको छ ।’
‘सरकार बलियो भएका बेला जस्तोसुकै पनि कार्य गर्न सक्ने वर्तमान सरकारले सन्तोषजनक काम गर्न सकेन,’ उनले भने, ‘इतिहासकै बलियो सरकार हुँदाहुँदै पनि सरकारले पाएको मौकाको सही सदुपयोग गर्न सकेन यो दुर्भाग्य हो ।’
उनले नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा भए पनि सरकारले सञ्चालन गरेका कार्यमा कुनै पनि अवरोध नगरेको बताए ।
‘हामी चाहन्छौँ सरकारले धेरैभन्दा धेरै कार्य गरोस् र सफल होस्,’ थापाले भने, ‘हामी चार वर्ष सरकारलाई प्रमुख प्रतिपक्षीको हैसियतले सहयोग गर्छौं तर सरकारले राम्रो काम गर्न सकेन र जनता सरकारको काम कार्यबाट विरक्त भएका छन् ।’
सजिलैसँग पाएको कुराको महत्व कम हुने बताउँदै नेता थापाले संविधान र गणतन्त्र सजिलैसँग प्राप्त नभएको र यसलाई जोगाउनतर्फ लाग्नुपर्नेमा जोड दिए । गत मङ्सिर २८ गतेदेखि सुरु भएको प्रथम चापाकोट महोत्सव आइतबार सकिएको हो ।
प्रकाशित समय १९:११ बजे

















