गृहपृष्ठ प्रदेश-५ : प्रदेशसभामा विधेयक पेश, शोक प्रस्ताव पारित
प्रदेश-५ : प्रदेशसभामा विधेयक पेश, शोक प्रस्ताव पारित
प्रदेश-५ को प्रदेशसभाले केही दिनअघि भएको दुर्घटनामा परेका मृतकहरूप्रति शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बेलुका दाङमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।
बैठकमा सभामुख पुर्णबहादुर घर्तीले स्कुल बस दुर्घटनाका मृतकहरुप्रति शोक प्रस्ताव राखेका थिए । बैठकले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । बैठकमा प्रदेश-५ जाँचबुझ आयोगको गठन र संघ–संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ ।
पेश भएका विधेयकबारे सांसदहरुले धारणा राख्ने र मन्त्रीले जवाफ दिएपछि निर्णयार्थ सभामा पेश हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको तेश्रो अधिवेशनको दोश्रो बैठकमा विशेष समय लिएर सत्तारुढ दल नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले पार्टीले चुनावमा पनि सुकुम्बासीलगायत भूमिसँग सम्बन्धित समस्या यथाशीघ्र समाधान गर्ने वाचा गरेकाले आयोग गठनमा ढिला नगर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
सांसद श्रेष्ठले भौतिक पूर्वाधार निर्माणमा पनि प्रदेश सरकार गम्भीर नदेखिएको गुनासो गरे । वैठकमा विशेष समय लिएर सत्तारुढ दल नेकपाकै सांसद उत्तरकुमार वलीले राप्ती अस्पतालको उपचार सेवा प्रभावकारी नभएको टिप्पणी गर्दै सुधार गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले प्रभावकारी उपचार सेवा र दक्ष जनशक्ति पनि नभएकाले दाङमा २ दिनअघि भएको बस दुर्घटनामा घाइते भएकाले राम्रो उपचार सेवा पाउन नसकी ठूलो मानवीय क्षति हुन पुगेको सांसद वलीले बताए । गम्भीर घाइतेहरुलाई अघिल्लो दिननै हेलिकोप्टरबाट काठमाडौं लगेको भए ज्यान बचाउन सकिने तर एक दिन ढिला हुँदा घाइतेको ज्यान गएको वलीको भनाइ थियो ।
प्रकाशित समय १९:०४ बजे
















