गृहपृष्ठ भूकम्प प्रभावित ७७ विद्यालय भवन पुनर्निर्माण हुँदै
भूकम्प प्रभावित ७७ विद्यालय भवन पुनर्निर्माण हुँदै
पाल्पामा भूकम्पबाट क्षति पुगेका ७७ विद्यालय भवन यो वर्ष भूकम्प पुनर्निर्माण प्राधिकरणमार्फत् पुनर्निर्माण हुँदै छन् ।
चारकोठे ५०, तीनकोठे चार र दुईकोठे २३ विद्यालय भवन निर्माण कार्य सुरु भएको शिक्षा समन्वय तथा कार्यान्वयन एकाइ प्रमुख रमेशराज पौडेलले बताए । जिल्लामा यसभन्दा अगाडि निर्माण कार्य सुरु भएको भूकम्प प्रभावित विद्यालय भवनको पुनर्निर्माण कार्य लगभग ७० प्रतिशत सकिएको छ ।
आव २०७३/७४ मा ३२ निर्माण भएका भवनमध्ये नेपाल सरकार शिक्षा विभागबाट ३०, प्राधिकरणबाट दुई वटा छन् । आव २०७४/७५ मा शिक्षा विभाग र भूकम्प पुनर्निर्माण प्राधिकरणबाट गरी जम्मा ११६ भवन निर्माण भएका छन् । प्राधिकरणबाट ७४ भवन प्राप्त भएकामध्ये चारकोठे १६, तीनकोठे चार, दुईकोठे ५४ भवन छन् ।
नेपाल सरकार शिक्षा विभागबाट प्राप्त भएका ४२ भवनमध्ये चारकोठे १२ र दुईकोठे ३० भवन छन् । आव २०७५/७६ मा पहिलो चरणमा शिक्षा विभागबाट प्राप्त ३२ भवनमध्ये चारकोठे १६, दुईकोठे ११, तीनकोठे पाँच भवन छ । दोस्रो चरणमा प्राप्त भएको ४८ भवनमध्ये चारकोठे २४, तीनकोठे चार र दुईकोठे २० भवन छन् ।
प्राधिकरणमार्फत् पहिलो चरणमा ३६ भवन प्राप्त भएकामध्ये दुईकोठे १७, चारकोठे चार, तीनकोठे १५ भवन छन् । दोस्रो चरणमा ४८ मध्ये चारकोठे २४, तीनकोठे चार, दुईकोठे २० भवन छन् । प्राधिकरणबाट आव २०७३/७४ सम्ममा चारकोठे भवनका लागि ६३ लाख रूपैयाँ, दुईकोठे भवनका लागि २१ लाख रूपैयाँ र तीनकोठे भवनका लागि ३१ लाख रूपैयाँ रकम उपलब्ध गराइएको छ ।
आव २०७४/७५ मा चारकोठे भवनलाई ६३ लाख रूपैयाँ, २०७५/७६ मा चारकोठे भवनलाई मात्र ७० लाख रूपैयाँ बजेट उपलब्ध गराइएको छ ।
जिल्लामा भूकम्पमा ८२ विद्यालय सुरुमा क्षति पुगेका भवनमा सूचीकृत भएका थिए भने पछि थप भएर आएकासहित ११७ विद्यालय भूकम्प प्रभावित विद्यालयमा सूचीकृत भएका छन् ।
नेपाल सरकार शिक्षा विभागबाट आव २०७३/७४ सम्ममा चारकोठे भवनलाई ३२ लाख रूपैयाँ, दुईकोठे भवनलाई १३ लाख रूपैयाँ उपलब्ध गराउने गरिएकामा २०७४/७५ मा चारकोठे भवनलाई रु ३६ लाख रूपैयाँ, दुईकोठे भवनलाई १६ लाख रूपैयाँ रकम उपलब्ध गराइएको छ ।
पाल्पामा ४९४ विद्यालय सञ्चालनमा छन् जसमा सामुदायिकतर्फ प्राथमिक २००, संस्थागत ५९, आधारभूत तहमा सामुदायिक ८८, संस्थागत १२, मावि तहमा सामुदायिक ११५, संस्थागत २० विद्यालय छन् । (रासस)
प्रकाशित समय ०७:४४ बजे
















