गृहपृष्ठ तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम
तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम
प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबारबाट सुरु भएको तेस्रो नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बासुदेव घिमिरेले ‘सामुदायिक विद्यालयको शैक्षिक र भौतिक सुधारः बालबालिका विद्यालय प्रवेशको पहिलो आधार’ भन्ने नाराका साथ समग्र शिक्षा प्रणालीको सुधारका लागि स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र लगनशीलता साथ अगाडि बढ्ने जनाएका छन् ।
सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरिसकेको तिलोत्तमाले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन शैक्षिक र भौतिक पक्षको सुधारमा समेत जोड दिने भएको छ । यसका साथै विद्यार्थीको आवत–जावतका लागि सवारीसाधन सञ्चालनमा सहयोग उपलब्ध गराउनेसम्मका कार्यक्रम अघि सारिएको छ ।
तिन वर्ष भित्र सामुदायिक र संस्थागत विद्यालय बीचको दुरी समान गर्ने, ‘फल्स सिलिङ्ग’ राखेर विद्यार्थिलार्इ टिनको छानामुनी बस्नुपर्ने बाध्यताको अन्त्य गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा ‘स्वस्थ नगरबासी : स्वस्थ नगर’ भन्ने नारा अघि सारिएको छ । जस अनुसार गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित कायम गर्न क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको छ । सोही नीति तथा कार्यक्रममा निकट भविष्यमा कार्यान्वय हुने स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत १७ नम्बर वडाका नागरिकलाई स्वास्थ्य बीमामा लाग्ने रकमको ३० प्रतिशत अनुदान दिने गरी बजेट व्यवस्था मिलाइनेसमेत उल्लेख गरिएको छ ।
नीती तथा कार्यक्रममा स्वास्थ्य चौकीको स्तरोन्नती, ‘बीपी ग्राम’लाई आवश्यक भौतिक पूर्वाधार सहित स्वास्थ्य केन्द्रको रुपमा संचालनमा ल्याइने विषय समेत समेटीएको छ । ‘एक घर, एक करेसाबारी : पकेट क्षेत्रमा व्यवसायिक तरकारी’ भन्ने नारा अघि सार्दै ‘तरकारी पकेट क्षेत्र’, ‘एक घर : एक करेसाबारी’ को नीति अवलम्बन गर्ने, व्यवसायिक रुपमा काम गर्ने किसानलाई नगरपालिकाको सम्मान गर्ने जस्ता विषय समेट समेटिएका छन् ।
प्रकाशित समय १६:१७ बजे

















