गृहपृष्ठ किर्तिपुरको आकाशमा मौसमी सूचना दिने बेलुन
किर्तिपुरको आकाशमा मौसमी सूचना दिने बेलुन
बुधबार बिहान ५ः३७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको आकाशमा एउटा बेलुन उड्यो । त्यो थियो ‘रेडियोसोन्ड’ अर्थात् मौसमी तथ्यांक संकलन गर्ने बेलुन ।
त्रिभुुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागको परिसरबाट उडेको बेलुन जमिनबाट करिब १९ किलोमिटर माथिसम्म पुुगेको थियो । बेलुनले तापक्रम, वायुको चाप, वायुको दिशा, बादलको अवस्था, सापेक्षित आद्रता लगायतको अवस्थाबारे तथ्यांक संकलन गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बेलुनले संकलन गरेको मौसमी तथ्यांक स्टेसन (डाटा सेन्टर) मा पठाउनेछ । ती तथ्यांकका आधारमा मौसम पूर्वनुमान गर्न सकिने विभागले जनाएको छ । विश्व बैंकको व्यवस्थापन र जलवायु लगानी कोषको आर्थिक सहयोगमा बुुधबारबाट बेलुन उडाउन सुरु गरिएको हो ।

विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार नेपालले हालसम्म विश्वको मौसमी तथ्यांक प्रयोग गर्दै आएको थियो । तर, अब आफ्नै मौसमी तथ्यांक समेत प्रयोग गर्न बेलुुन उडाइएको हो ।
‘विश्व मौसम संगठनको नियम अनुसार बिहान र बेलुका बेलुन उडाउने समयसीमा तोकेको छ । सबै देशले एउटै समयमा बेलुन उडाउँदा कम्यूटर मोडलमा काम गर्ने सजिलो हुन्छ,’ महानिर्देशक डा.शर्माले भने, ‘फरक–फरक समयमा भयो भने कम्यूटर मोडलमा काम गर्न गाह्रो हुन्छ । त्यसैले हामीले सधैँ ५ः३० वा ५ः३७ मा बेलुन उडाउँछौं ।’
उनले विहानको समयमा बेलुन उडाउनुको कारण हवाई सेवामा अवरोध नहोस् भन्ने पनि रहेको बताए । नेपालको मौसम पूर्वानुमान मेल नखाने गरेको जनगुनासो रहँदै आएका बेला शर्मा भन्छन्, ‘अब मौसमी सूचनाले मेल खानेछ ।’
मौसमी अवस्थासम्बन्धी तथ्यांक दिने बेलुन आकाशमै आफैं फुट्नेछ । उनका अनुसार बुुधबार १ घण्टामा १९ किलोमिटरसम्म उडेर बेलुन आफै फुटेको थियो । उनी भन्छन्, ‘बेलुन फुुट्ने एकीन समय हुुुँदैन । जतिखेर पनि फुुटन सक्छ ।’
सरकारले ४० वर्ष अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रेडियोसोन्ड उडाएको थियो । तर, प्रत्येक दिन २० हजार खर्च तथा पूर्वाधार नहुँदा उतिबेला निरन्तरता दिन नसकिएको बताउँदै शर्माले भने, ‘अब निरन्तर रुपमा बेलुुन उडाइनेछ ।’ उनका अनुसार २ वर्षसम्म उडाउन पुग्ने बेलुन विभागसँग छ ।
प्रकाशित समय १६:२६ बजे

















