गृहपृष्ठ बाइस लाख लगानीमा बन्यो बुटवलमा ‘धराहरा’

बाइस लाख लगानीमा बन्यो बुटवलमा ‘धराहरा’

एकपटकमा ५० जना चढ्न मिल्ने

dharahara-newskarobar

काठमाडौंमा सुन्धारामा महाभूकम्प जानुभन्दा पहिला रहेको धराहराको स्वरुप बुटवलमा निर्माण गरिएको छ । उद्योग व्यापार संघ बुटवल रूपन्देहीको आयोजानमा बुटवलमा जारी मेलामा २२ लाख रुपैयाँ खर्च गरेर नौ तले धराहरा निर्माण गरिएको हो । मेलाको मुख्य आकर्षणको रुपमा लिइएको धराहरा चढ्नेहरुको घुइँचो लागेको छ भने धराहराअगाडि सेल्फी खेच्नेहरुको पनि भीड लागेको छ ।

मेला अवलोकनका लागि आउनेहरुलाई नयाँपन दिन धराहरा निर्माण गरिएको मेला मूल आयोजक समितिका संयोजक एवं उद्योग व्यापार संगठन बुटवलका अध्यक्ष प्रवीणबहादुर पाठकले जानकारी दिए । उनका अनुसार भारतबाट कालिगढ मगाएर धरहरा बनाइएको हो ।

एकपटकमा ५० जनासम्म चढ्न मिल्ने क्षमता रहेको धराहरामा बास, फलाम र कपडा प्रयोग गरिएको छ । मेलास्थलका साथै बुटवलका केही भागसमेत हेर्न सकिने भएकाले धरहरा चढ्न दर्शकको भीड लागेको छ ।

जिल्ला समन्वय समिति रूपन्देही र बुटवल उपमहानगरपालिकाको प्रवद्र्धनमा बुटवलमा तेस्रो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला बुटवलमा जारी रहेको छ । असोज २८ गतेसम्म सञ्चालन हुने मेलाको शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे ।

चार सय १५ भन्दा बढी स्टल रहेको प्रदर्शनीलाई सांस्कृतिक बनाउन स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने सांस्कृतिक संयोजक एवं संघका उपाध्यक्ष सीताराम रसाइलीले जानकारी दिए । मेलामा कलाकारहरू बद्री पंगेनी, शिव परियार, सनुप पौडेल, एन्जिला रेग्मी सुजता पाण्डेलगायतको प्रस्तुति रहने उनले बताए । त्यसैगरी प्रदर्शनीमा फेसन सो, बिट कन्टेस्ट र खुला डान्स प्रतियोगिता पनि हुनेछ ।

प्रकाशित समय १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु