गृहपृष्ठ दैलेख सदरमुकामका पाँच स्थानमा पहिरो

दैलेख सदरमुकामका पाँच स्थानमा पहिरो

dailekh-newskarobar

 

गत वर्ष वर्षातसँगै आएको पहिरोले दैलेखको नारायण नगरपालिका– ६ नजिक गणेशचोकमा बसोबास गर्दै आएका नमुना बस्तीका तीन जनाले अनाहकमै ज्यान गुमाए । भिरालो जमीनमा टहरा निर्माण गरेर बसेको नमुना बस्तीमा यो वर्षको वर्षातसँगै २५ घर जोखिममा परेका छन् । लगातारको वर्षातले घरभन्दा माथिबाट पहिरो आएपछि बस्ती जोखिममा पर्न थालेको भन्दै समुदायका सबै चिन्तित भएको पव वादीले बताए ।

अहिले सिन्की गाजलीको घर पहिरोले पुरिएको छ, अन्य २४ घरका वादी समुदायले घरभित्रको सामान आफन्तको सारेका छन् । विगत तीन वर्षदेखि हरेक वर्षातमा पहिरोको जोखिममा पर्दै आएको समुदायको लागि दिगो व्यवस्थापन अझै हुन सकेको छैन । जिल्ला प्रशासन, जिल्ला प्रहरी र नारायण नगरपालिकाले विभिन्न पहल थालेको भए पनि उचित स्थानको अभाव भएकाले बस्ती अन्यत्र सार्न समस्या भएको नारायण नगरपालिका–१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले जानकारी दिए ।

वर्षातमा दैलेख सदरमुकामको गणेशचोकमा रहेको अजित श्रेष्ठको घर भत्किएको छ, घरमा पसल गर्दै आएकी ममता श्रेष्ठको सामान स्थानीय बासिन्दाको पहलमा उद्धार गरिएको छ । पसलमा करीब १० लाख बराबरको क्षति भएको छ ।

नारायण नगरपालिका–१ मा रहेको तारा थापाको घर पूरै भत्किएको छ । घरभित्रका सबै सामान पुरिएका छन् । घरमा कोही व्यक्ति नभएकाले सकुसल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । लगातारको वर्षातसँगै दैलेखका विभिन्न स्थानमा पहिरो खसेपछि यातायातका साधन अवरुद्ध भएका छन् । कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेका कारण तीन दिनदेखि सडक अवरुद्ध भएको छ ।

 

-रासस

 

 

प्रकाशित समय १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु