गृहपृष्ठ ‘अपाङ्गता भएका महिलामाथि बढी हिंसा हुन्छ’
‘अपाङ्गता भएका महिलामाथि बढी हिंसा हुन्छ’
विश्वभर अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहँदा आज २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभर मनाइएको छ ।
पेशाले शिक्षिका सोमना खड्का दृष्टिविहीन हुन् । बाटोमा आफूले हिँड्दा थुप्रै समस्या झेल्नु परेको खड्का बताउँछिन् । उनी भन्छिन्, ‘सबै अपाङ्गहरुको पिडा उस्तै हो तर दृष्टिविहीन त्यसमा पनि महिलालाइ अझै बाँच्न अप्ठ्यारो छ ।’
बाटोमा हिँड्दा सोमनालाई बाटो कटाइदिने नाममा कतिपटक शारीरिक हिंसा समेत भएको छ । तर यी सबै घटनाका दोषीलाई सरकारले कारबाही गर्ने उनको विश्वास छैन । त्यसैले उनले यी घटनाका सम्बन्धमा फलोअप गरेकि छैनन् । न्याय दिने निकायले नै आफूहरुलाई अपहेलना गरेको गुनासो सोमनाको छ ।
त्यस्तै अपांग शसक्तिकरण केन्द्रकी उपाध्यक्ष किमसरा खत्रीले पनि महिला अपांगहरुलाई अझै समाजमा स्थापित हुन गाह्रो रहेको बताइन् । उनले राज्यले सुरक्षाको प्रत्याभूति नगरेको भन्दै न्याय र अवसर सपांगका लागि मात्रै हो कि भन्ने भान पर्न थालेको गुनासो गरिन् ।
महिलाहरुले हिंसा खेप्नुको मुख्य कारण आर्थिक रुपमा महिला कमजोर हुनु हो । अर्को कारण पितृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यता तथा लैङ्गिक विभेद पनि भएको उनीहरुको भनाइ छ ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल भने प्रदेश सरकार अपांगमैत्री रुपले चलेको बताउँछन् । आफूहरुले कार्यालयको व्यवस्थापनदेखि नीति सम्म अपाङ्गमैत्री बनाएको र आगामी दिनमा यसलाई अझ फराकिलो बनाउदै लैजाने उनको प्रतिवद्धता छ ।
प्रकाशित समय १८:३२ बजे

















