गृहपृष्ठ अस्पतालले कामबाट हटाएका शौचालय सफाइ कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

अस्पतालले कामबाट हटाएका शौचालय सफाइ कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

निकालिएका अन्य ३२ कर्मचारी पनि तनावमा

अछामको बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालको गेटअगाडि सोमबार बिहान साफेँबगर नगरपालिका- ६ का सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएका हुन् ।

आगोले जलेर गम्भीर घाइते भएका उनलाई थप उपचारको लागि हेलिकप्टरमार्फत नेपालगन्ज लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । अस्पतालले कामबाट हटाएका उनी शाैचालय सफाइ गर्ने जिम्मेवारीमा थिए । उनको एक छोरा र एक छोरी रहेका छन् ।

आर्थिक संकट परेको भन्दै उनीलगायत ३३ जना कर्मचारीलाई अस्पतालले दुई महिनाअघि नै  हटाएको पत्र दिएको थियो । त्यसयता उनी तनावमा रहेको हटाइएका अर्का कर्मचारी विशाल पण्डितले बताए । ‘चौकीदारको काम गर्थें । सिद्धार्थ सरसफाईको काममा थिए । हाम्रो पुरानो नियुक्ति सकिन अझै दुई महिना बाँकी थियो,’ उनले भने ।

आफूहरू काममा जाँदा अस्पताल प्रशासनले प्रहरी लगाएर गेटबाहिर निकालेको पण्डितको भनाइ छ । ‘तिमीहरूलाई हटाइसकेको हो, फेरि किन अस्पताल आयौ ?’ भन्दै हाकिमहरुले थर्काएको उनले सुनाए । महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि निम्नस्तरका अन्य धेरै कर्मचारी तनावमा रहेको पण्डितको भनाइ छ ।

अस्पतालले भने आर्थिक संकटकै कारण कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी कटाैती गरिएको जनाएको छ ।

प्रकाशित समय १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु