गृहपृष्ठ कसरी सफल बनाउने दाम्पत्य जीवन ? जानीराख्नुस् केही टिप्स
कसरी सफल बनाउने दाम्पत्य जीवन ? जानीराख्नुस् केही टिप्स
विवाह दुई फरक लिङ्गबीचको सम्बन्धलाई वैधानिकता दिने सामाजिक प्रचलन हो । विवाह एक जिम्मेवारी पनि हो । त्यो जिम्मेवारी विवाह गरेर मात्र पूरा हुँदैन त्यसलाई कसरी सफल बनाउन सकिन्छ भन्ने ज्ञान हुनु पनि आवश्यक छ ।
सफल वैवाहिक जीवनका लागि ध्यान दिनुपर्ने केही पक्षहरु
फिटनेस र डाइट प्लान
फिट एण्ड फाइन सबैले मन पराउने पक्ष हो । आर्कषक शरीर तथा लोभलाग्दो व्यक्ति सबैको आर्कषणको केन्द्र हुन्छ । त्यसका लागि ‘वेट कन्ट्रोल’का गर्नु पर्छ । इच्छाअनुसार एरोबिक्स क्लास वा जिमको सहारा पनि लिन सकिन्छ । जंकफूड तथा तैलीय खानाबाट जोगिनुपर्छ । त्यसको साटो डाइटिसियनको सल्लाहमा सही डाइट प्लान गर्नुपर्छ । यसले सुन्दरता कायम राख्छ । फिटनेस ट्रेनर तथा डायटिसियनको सल्लाह अनुसार गर्दा राम्रो हुन्छ ।
तनावमुक्त रहनुपर्छ
विवाह नजिकिँदै गर्दा धेरैलाई अब मेरो भविष्य के हुन्छ ? भन्ने विषयले तनाव बनाउने गर्दछ । तर यसलाई तनावभन्दा पनि अवसरको रुपमा लिएर भविष्यको सुन्दर योजना बनाउनु राम्रो हुन्छ । धेरै तनाव भएमा मर्निङ वाक, योगा वा मेडिटेसन गर्दा राम्रो हुन्छ ।
सेक्स सम्बन्धी ज्ञान
हाम्रो परम्परागत मूल्य मान्यताअनुसार विवाह सम्बोगलाई वैधानिकता दिने माध्यम पनि हो । त्यसैले सफल वैवाहिक जीवनका लागि यससम्बन्धी ज्ञान हुनु आवश्यक छ । त्यसैले शारीरिक सम्बन्धको प्रगाढता र त्यसका आयामहरूको जानकारी राख्नु आवश्यक हुन्छ । अन्यथा सम्बन्ध बन्नुपूर्व नै टुट्नसक्छ । यसका लागि सेक्सका बारेमा सही जानकारी प्राप्त गर्नुपर्छ । यसबाट डर तथा असहजता हटाउन सहयोग प्राप्त हुन्छ ।
तालमेल कायम गर्ने प्रयास
श्रीमान तथा श्रीमती बिचको तालमेल होस या घरपरिवार सबैसँग राम्रो व्यवहार गर्नु पर्छ । महिलाले श्रीमानको घरमा परिवारजनसितको राम्रो व्यवहारले नै सबैको प्रिय हुने भएकाले, सासू–ससुरा, नन्द, देवर आदिप्रति राम्रो व्यवहार गर्नुपर्छ । रिस, घमण्ड, स्वार्र्थीपनजस्ता कुरामा सचेत रहनु आवश्यक छ । पुरुषले आफ्नो ससुरालीलाई पनि आफ्नै परिवार जस्तो व्यवहार गर्नु आवश्यक हुन्छ ।
खाने कुरा बनाउन सिक्नुपर्छ
खाने कुरा बनाउन सिक्नु अरुलाई ख्वाउनका लागि मात्र नभएर आवश्यक समयमा आफैँले पकाएर खानका लागि पनि हो । यसो गर्दा खानका लागि अरुमाथि वा होटल–रेस्टुराँमा निर्भर हुनुपर्दैन । भान्सा सम्हाल्न जान्नु होममेकरको राम्रो पक्ष भएकाले यस विषयमा ज्ञान हुनु राम्रो हुन्छ । आफैँले पकाएको खाने कुरा खाँदा स्वास्थ्य हुनुको साथै आत्मीयता पनि बढ्छ ।
आफ्नो रुचिलाई बेवास्ता नगरौं
आफ्नो रुचिका कुराका लागि समय निकाल्नुपर्छ । चाहे त्यो पुस्तक पढ्न होस्, संगीत सुन्न अथवा नृत्य, पेन्टिङ आदि जे गर्दा खुसी प्राप्त हुन्छ, त्यो गर्नु राम्रो हुन्छ । अब आफ्नो खुसी अनुसार काम गर्न वा समय बिताउन सकिन्छ, तब मात्र मानिस खुसी हुन सक्दछ ।
हेल्थ चेकअप
नियमति स्वास्थ्य स्वास्थ्य जाँच गराउनु राम्रो हुन्छ । यसबाट स्वास्थ्य प्रतिकूलताका बारेमा थाहा पाइन्छ र समयमै उपचार सम्भव हुन्छ । रोग लाग्न नदिनु राम्रो हो । रोगको पहिचान गरी समयमा नै उपचार गराए वैवाहिक जिवनमा समस्या भोग्नुपर्दैन ।
आफ्नो खुसीलाई महत्व दिनुपर्छ
मानिस खुसी हुन आफूले चाहेको पूरा गर्नु एक अनिवार्य सर्त हो । आफ्नो मनको इच्छा पूरा गर्नुपर्छ चाहे त्यो खानपानका कुरा होस् वा घुमफिरको, सपिङ गर्ने होस् वा कुनै काम गर्ने । आफ्नो इच्छा पूरा गर्दा खुसी र आत्मविश्वास दुवै प्राप्त हुन्छ । स–साना खुसीले जीवनलाई आनन्ददायक बनाउँछ ।
ग्रुपिङ वर्कसप
‘फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन’ भन्ने भनाई नै छ तसर्थ उठ्ने–बस्ने, खानपिन एवं व्यवहार गर्ने तरिका बुझ्नुपर्छ । यसैबाट अरूलाई प्रभावित तुल्याउन सकिन्छ । गु्रपिङ वर्कसप गर्दा अरुको भवनाको कदर गर्न सिकिन्छ । यसबाट विविध सोसल म्यानर्स तथा एटिकेट सिक्न सकिन्छ ।
अनावश्यक खानु हुँदैन
घरपरिवार आफन्तजन साथीभाइसित विभिन्न पार्टी, जमघटमा धेरै खाइन्छ । अनावश्यक खाना खाँदा शरीरको तौल बढ्नुका साथै एसिडिटी समेत हुनसक्छ । आफ्नो भोकअनुसार खानुपर्छ । यसरी खानालाई ब्यालेन्स गर्दा शारीरिक रुपमा पनि स्वास्थ्य भइन्छ ।
तुलना गर्ने बानी छोड्नुपर्छ
एकले अर्काको वातावरण, व्यवहार, सुविधा, सम्पन्नता आदिको तुलना गर्ने बानी ठीक होइन । यो बानीको सिकार भए दुःखबाहेक अरु केही हात पर्दैन । यस्तो बानीलाई छोड्नुपर्छ, तुलना गर्नु राम्रो होइन ।
प्रकाशित समय १२:१९ बजे

















