गृहपृष्ठ गाउँमा बसेर सेवा दिँदैनन् वडा कार्यालय

गाउँमा बसेर सेवा दिँदैनन् वडा कार्यालय

गाउँ जान नगरपालिकाकाे पत्राचार, अटेर गरे छापा मार्ने तयारी

manthalimun-newskarobar

सम्बन्धित वडाबाट सेवाग्राहीलाई सेवा नदिने वडा कार्यालयविरुद्ध मन्थली नगरपालिका कडा रुपमा प्रस्तुत हुने भएको छ । मन्थली नगरपालिकाका केही वडाध्यक्षहरु सदरमुकाम केन्द्रित भएकाले सेवाग्राहीहरु सेवाका लागि मन्थली बजार पुग्नुपर्ने बाध्यता छ । यसमा वृद्धि हुँदै गएपछि नगरपालिकाले त्यसो नगर्ने वडा कार्यालयहरुलाई कारबाही गर्ने तयारी गरेको छ ।

नगरपालिकाले समयसीमा तोकेरै आफ्नो वडाबाट सेवा दिन वडा कार्यालयहरुलाई पत्राचार गरेको छ । मंसिर १५ भित्र सम्बन्धित वडा कार्यालयबाटै सेवा दिन र त्यसो गरेको नपाइए मंसिर १६ बाट छापा मार्ने नगरपालिकाको तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले न्युज कारोबारलाई बताए ।

‘मंसिर १५ गते सम्म बहुमत जनतालाई पाएक पर्ने ठाँउमा कार्यालय राखेर सेवा दिन सबै वडा कार्यालयलाई पत्र पठाएका छौं,’ प्रशासकीय अधिकृत खड्काले भने, ‘गाउँमा नगई मन्थली बजार केन्द्रित सबै वडा कार्यालयमा छापा मार्ने नगरपालिकाको तयारी छ ।’

स्थानीय तहको निर्वाचनपछि जनताले आफ्नै घर दैलोबाट सरकारले दिने सेवा सुविधा उपभोग गर्न पाउने अपेक्षा थियो । तर रामेछापको मन्थली नगरपालिकाका जनताले वडा कार्यालयहरु बजार केन्द्रित भए पछि यो सुविधा पाउनबाट बञ्चित भएका छन् । सरकार सञ्चालनको झण्डै दुई बर्ष पुग्न लाग्दासमेत वडा कार्यालयहरु वडाबाट सञ्चालन हुन सकेका छैनन् ।

मन्थली नगरपालिकामा १४ वटा वडा छन् । जसमध्ये अधिकांश वडा कार्यालयहरु मन्थली बजारबाट सञ्चालन हुँदै आएका छन् । वडा कार्यालय गाउँमा नहुँदा सामान्य सिफारिस लिन पनि मन्थली बजारमा नै आइपुग्नु पर्ने बाध्यता छ । तत्कालीन गाविस कार्यालय हुँदा सचिवहरुले सदरमुकाम केन्द्रित रहेर कार्यालय सञ्चालन गरे जस्तै अहिलेका वडा अध्यक्षहरुले पनि कार्यालय संचालन गरेर बसेका छन् ।

 

नगरपालिकाको निर्देशन
मन्थली नगरपालिकाले आगमी मंसिर १५ गतेभित्र अनिवार्य रुपमा आफ्नै वडाबाट सेवाग्रहीका काम गर्न वडाका जनप्रतिनिधि र कर्मचारीहरुलाई लिखित रुपमा पत्रचार गरेर नै निर्देशन दिएको छ ।

मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले लिखित पत्राचार गरेर नै नगरपालिकामा रहेका १४ वटै वडा कार्यालय मार्फत सेवा प्रवाह गर्न निर्देशन दिएको न्युज कारोबारलाई बताए ।

स्थानीय तह निर्वाचन र जनप्रतिनिधिहरुको बहालीपश्चात वडास्तरसम्म करिब दुईतिहाई जनताको सहज पहुँच हुने स्थल छनौट गरी वडा कार्यालयहरु स्थापना गर्न नगरपालिकाले निर्देशन दिएको छ । साबिक जिल्ला सदरमुकाममै घर भाडामा लिइ वडा सम्पर्क कार्यालय सञ्चालन गरेको जनगुनासो प्राप्त भएको र अनुगमनको क्रममा पनि सोही तथ्य फेला परेकाले तत्काल वडामा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको खड्काले बताए ।

 

घर आफ्नै, व्यवसाय उतै
गाँउमा कार्यालय राखेर नबस्ने वडा अध्यक्षहरुको घर मन्थली बजारमा भएको र प्रायः सबै वडा अध्यक्षका व्यपार व्यवसाय पनि भएकाले मन्थली बजारमा आफ्नै घरमा कार्यालय राखेर बसेको स्थानीय बताउँछन् । सबैलाई सुविधा चाहिएको कारण वडा अध्यक्षहरु गाँउमा बस्न नमानेको खड्काले बताए ।

आफ्नै घरमा वडा कार्यालय राखेर बस्दा आफूले गरेको पुरानो व्यवसाय पनि सँगै गर्न सकिने भएको कारण अध्यक्षहरु मन्थलीमा बस्ने गरेका छन् । वडा अध्यक्षहरुले सम्पर्क कार्यालय खोलेर बस्ने कानुनी प्रवधान छैन ।

मुख्य कार्यालय गाँउमा रहेको भए पनि जनताको सुविधाको लागि सम्पर्क कार्यालयको रुपमा मात्र मन्थलीमा रहेको वडा अध्यक्षहरु बताउछन् । गाँउका मानिसहरु वडा साधारण सिफारीस बाहेका सबै काम गर्न मन्थली आउनु पर्ने भएकाले मन्थलीमा नै सम्पर्क कार्यालय खोलेर बसेको अध्यक्षहरुको भनाइ छ ।

प्रकाशित समय १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु