गृहपृष्ठ पोखरामा चार महिनामै अत्याधुनिक रंगशाला

पोखरामा चार महिनामै अत्याधुनिक रंगशाला

pokhara-studium-newskarobar

१३औं सागलाई लक्षित गरी पोखरामा चार महिनामै अत्याधुनिक प्रविधिको फुटबल रंगशाला निर्माण गरिने भएको छ । १८ हजार ५ सय दर्शक क्षमताको प्यारापिटसहितको फुटबल रंगशाला निर्माण गर्ने गरी आइतबार युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले शिलान्यास गरेका हुन् । तोकिएको मितिमा रंगशाला निर्माण सम्पन्न गर्न ठेकदार कम्पनीलाई उनले निर्देशन दिए ।

पोखरा रंगशालालाई स्पोटर्स टुरिजमको रुपमा विकास गर्दै रंगशालाभित्र निर्माण हुने सम्पूर्ण संरचना अन्तर्राष्ट्रिय मापदण्डको बनाउन उनले आग्रह गरे । ‘रंगशाला निर्माण प्रक्रिया करिब एक महिना ढिलो भएकाले अब कामलाई तीव्रता दिन जरुरी छ,’ मन्त्री विश्वकर्माले भने ।

देशको आर्थिक विकास र समृद्धिका लागि पोखरा जस्तो पर्यटकीय नगरी क्षेत्रमा खेलकुदको हब पोखरालाई स्पोटर्स सिटिको रुपमा विकास गर्नुपर्ने उनको जोड थियो । रंगशालाको निर्माण लागत एक अर्ब २८ करोड २२ लाख छ ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले गुणस्तर र दिगोपनलाई मध्यनजर गरी तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न सबै तर्फबाट रेखदेख आवश्यक भएको बताए । सागका धेरै खेल पोखरामा हुनुपर्ने उनले माग गरे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गण्डकी प्रदेशको राजधानी पोखरामा स्पोटर्स कम्प्लेक्स आवश्यक भएको बताए । होस्टेलसहितको, फिजिकल फिटनेस, एम्बुलेन्स, दमकल, मेडिकलसहितको सेवा पोखरा रंगशालाभित्र आवश्यक भएको उनको भनाइ छ । युरोपेली अवधारणामा निर्माण हुने रंगशाला तोकिएको समयभित्र सकिने गरी काम गर्न निर्माण कम्पनीलाई सदस्य सचिव विष्टले आग्रह गरे ।

भारतको ग्रेट स्पोट्र्स इन्फ्रा इन्डियाले नेपालको एम.ए. कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा रंगशाला बनाउँदै छ । ठेकदार कम्पनीका अनुप आचार्यले पनि सम्झौता भइसकेकाले तोकिएको अवधिभित्रै रंगशाला तयार हुने प्रतिबद्धता जनाए ।

३५ वर्षअघि निर्माण भएको पोखरा रंगशालाको फुटबल प्याराफिट केही महिनाअघि हतार–हतार भत्काइएको थियो । पोखरामा पहिलो पटक स्थायी प्याराफिटबिना मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिता र आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भए ।

प्रकाशित समय ०७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु