गृहपृष्ठ महासंघ स्थापना दिवसमा पत्रकारले खेले फुटवल
महासंघ स्थापना दिवसमा पत्रकारले खेले फुटवल
नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसमा राजधानीमा बिहिबार मिडिया कप फुटसल प्रतियोगिता शुरु भएको छ । शान्ति नगर फुटसलमा भइरहेको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिनाले गरेका थिए ।
पत्रकारको हातमा कलम हुनुपर्नेमा फुटबल देखेर खुशी लागेको बताउँदै उपाध्यक्ष तिमल्सिनाले स्वास्थ्यका लागि भए पनि बेलाबेलामा फुटबल खेलिरहन आग्रह गरे । प्रेस युनियन र पत्रकार महासंघ काठमाडाैं शाखा ‘बी’ बीच भएको उद्घाटन खेलमा युनियनले काठमाडाैं बिलाई ३ काबिरुद्ध ९ गोल गरी जित निकालेको थियो ।
सधैं कलम चलाउन ब्यस्त रहने पत्रकारले फुटबल खेल्दा असहज देखिएको थियो । जम्मा २५ मिनेटसम्म खेलाईएको खेलमा अभ्यस्त नभएकाले ४ जना पत्रकार घाईते भएका थिए । नेपाल पत्रकार महासंघ काठमाडाैं शाखाका सदस्य बिष्णु निश्चलको दाहिने खुट्टा मर्किएको छ । अधिकास पत्रकारले १० मिनेटभन्दा बढी खेल्न सकेका थिएनन् । पहिलो चरणका सबै खेल बिहिबार सकिएका छन् । शुक्रबार प्रथम, द्वितीय र तृतीय स्थानका लागि खेल हुनेछ ।
फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, नेपाल टेलिभिजन, ईमेज टेलिभिजन, नेपाल पत्रकार महासंघ काठमाडांै ए र बि, नेपाल प्रेस संगठन, नेपाल पत्रकार मञ्च लगायतका १२ टिमको सहभागिता छ । स्थापना दिवस महासंघका पूर्वपदाधिकारी सम्मान, शाखा सम्मान, जोखिम, संकट तथा कठिन अवस्थाको रिपोर्टिङ अनुभवको प्रस्तुतिकरण प्रतियोगिता, पूर्व अध्यक्ष तथा सभापतिहरुसँग अन्तरसंवाद निशुल्क स्वास्थ्य शिविरजस्ता कार्यक्रम गरी मनाइँदै छ ।
प्रकाशित समय १७:१६ बजे

















