गृहपृष्ठ आईपीएलमा चेन्नईको लगातार तेस्रो जित, राजस्थान ८ रनले पराजित

आईपीएलमा चेन्नईको लगातार तेस्रो जित, राजस्थान ८ रनले पराजित

इन्डियन प्रिमियर लिग(आईपीएल) मा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध रोमान्चक जित दर्ता गरेको छ । चेन्नई लगातार तेस्रो खेल जित्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ८ रनले पराजित गर्दै चेन्नई शीर्षस्थानमा पुगेको हो । जितका लागि राजस्थान अन्तिम ओभरमा १२ रन चाहिएको थियो । तर ड्वेन ब्राभोले ३ रन खर्चेर २ विकेट लिएपछि खेल चेन्नईको पोल्टामा पुगेको हो । १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सले ८ विकेटको क्षतिमा १ सय ६७ रन मात्र बनाउन सक्योे ।

राजस्थानका लागि बेन स्टोक्सले ४६ रन जोडेका थिए । राहुल त्रिपाठीले २४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३६, सन्जु स्यामसन ८, जस बटलर ६ र कप्तान अजिंक्या रहाणे डक आउट भए । स्टिम स्मिथ २८ र कृष्णप्पा गौतम ९ रनमा आउट भए । जोफ्रा आर्चरले ११ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २४ रन जोडेपछि हार टार्न सकेनन् । चेन्नईको जितमा ब्राभो, दिपक चाहर, इमरान ताहिर र सार्दुल ठाकुरले समान दुई विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७५ रन जोडेको थियो । कप्तान महेन्द्र सिंह धोनीले ४ चौका र छक्का प्रहार गर्दै ७५ रन जोडे । ड्वेन ब्राभोले २७ रनको योगदान गरे । खराब सुरुवात गरेकोे चेन्नईलाई धोनीले उकासेका थिए । आम्बाती रायडू १ रनमा पेभिलिएन फर्काए । ओपनर शेन वाटशन मात्र १३ रनमा आउट भए । केदार जाधव ८ रनमा क्याच आउट भएपछि चेन्नई २७–३ को कमजोर अवस्थामा पुगेको थियो ।

रैनाले ३६ रनको योगदान दिए । रविन्द्र जडेजा ८ रनमा अविजित रहे । राजस्थानका लागि जोफ्रा आर्चरले २, धवन कुलकर्णी,बेन स्ट्रोक्स र जयदेव उनादकटले समान एक विकेट लिए ।

प्रकाशित समय ०८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु