गृहपृष्ठ विश्वकप क्रिकेटको अभ्यास खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका विजयी
विश्वकप क्रिकेटको अभ्यास खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका विजयी
विश्वकप क्रिकेटअन्तर्गत गए राति भएका खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका विजयी भएका छन् । अफगानिस्तानले पाकिस्तानलाई र दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको हो ।
विश्वकप क्रिकेटको अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको छ । पाकिस्तानले दिएको २६३ रनको लक्ष्य अफगानिस्तानले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्दै जित हात पारेको हो ।
अफगानिस्तानलाई जित दिलाउन हसमतुल्लाह साहिदी र मोहम्मद नाबीले उत्कृष्ट साझेदारी गरे । हसमतुल्लाहले नटआउट ७३ रन बनाए भने नाबीले ३४ रन जोडे । हजरतुल्लाह जजाइ अर्धशतक बनाउनबाट ए रनले चुके ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले ४७.५ ओभरमा अलआउट हुँदै २६२ रन बनाएको थियो । पाकिस्तानका बाबर आजमले ११२ रन बनाए भने सोयब मलिकले ४४ रन जोडे । पाकिस्तानलाई कम स्कोरमा रोक्ने क्रममा मोहम्मद नाबीले तीन तथा रासिद खान र दौलत जद्रानले दुई-दुई विकेट लिए ।
अर्को खेलमा श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका ८७ रनले विजयी भएको छ । अफ्रिकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको श्रीलंका २५१ रनमा अलआउट भएको हो । श्रीलंकालाई दाबाबमा राख्न दक्षिण अफ्रिकाका एन्डिले फेलिकुवावले चार विकेट लिएका थिए । लुन्गी एनगिडीले २ विकेट हात पारे ।
श्रीलंकाका लागि दिमुथ करुनारत्नेले सर्वाधिक ८७ रन बनाउँदा एन्जेलो म्याथ्युजले ६४ रनको योगदान गरे । कुशल मेन्डिसले ३७ तथा जीवन मेन्डिसले १८ रन बनाए ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटको नोक्सानीमा ३३८ रन बनाएको थियो । उसका लागि सबै ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे । फाप डु प्लेसिसले ८८ रन बनाउँदा हसिम अमलाले ६५ रनको योगदान गरे । यसैगरी, हेनरिक डुसनले ४० तथा क्रिस मोरिस २६ तथा डेविन पेट्रियोस २५ रनमा नट आउट रहे ।
प्रकाशित समय ०६:४१ बजे

















