गृहपृष्ठ विश्वकप क्रिकेट : अस्ट्रेलिया र दक्षिण अफ्रिका विजयी
विश्वकप क्रिकेट : अस्ट्रेलिया र दक्षिण अफ्रिका विजयी
आईसीसी विश्वकप क्रिकेटअन्तर्गत शनिबार भएका खेलमा अस्ट्रेलियाले श्रीलंकालाई र दक्षिण अफ्रिकाले अफगानिस्तालाई पराजित गरेको छ । अस्ट्रेलियाले श्रीलंकालाई ८७ रनले हरायो भने अफगानिस्तान दक्षिण अफ्रिकासँग ९ विकेटले पराजित भयो ।
अस्ट्रेलियाले दिएको ३३५ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५.५ ओभरमा अलआउट हुँदै २४७ रनमा समेटियो । श्रीलंकाका लागि दिमुथ करुनारत्नेले ९७ रन बनाए भने कुशल परेराले ५२ रन बनाए पनि अन्य ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा टिमलाई हारबाट जोगाउन सकेनन् । श्रीलंकाको इनिङ ध्वस्त बनाउने क्रममा मिचेल स्टार्कले ४ तथा केन रिचर्डसनले ३ विकेट लिए ।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ३३४ रन बनाएको थियो । अस्ट्रेलियाका आरोन फिन्चले १५ चौका र ५ छक्काको सहयोगमा १५३ रन बनाए भने स्टेभेन स्मिथले ७३ रन जोडेपछि टिमको स्कोर उच्च बनेको थियो ।
अर्को खेलमा अफगानिस्तानलाई दक्षिण अफ्रिकालाई ९ विकेटले हराएको छ । डिएल मेथडका आधारमा अफगानिस्तानले दिएको १२७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १ विकेटको क्षतिमा २८.४ ओभरमा लक्ष्य भेट्टाएको हो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ३४.१ ओभरमा अलआउट हुँदै १२५ रन बनाएको थियो ।
प्रकाशित समय ०६:२८ बजे

















