गृहपृष्ठ राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि आर्मी र एपिएफलाई
राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि आर्मी र एपिएफलाई
राष्ट्रिय बिच भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल आर्मी र महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफले उपाधि जितेका छन् । सोमबार फेवाताल किनारामा भएको सातौं राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको फाइनल खेलमा आर्मीले घरेलु टिम गण्डकी प्रदेशलाई २१–१६, १८–२१ र १८–१६ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
आर्मी ए का मानबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडीले गण्डकी बी का राजु विक र अनिल दर्लामी मगरको जोडीलाई पराजित गरेका हुन् । छैटौं संस्करणको महिला बिच भलिबल प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ ए ले नेपाल पुलिस ए समूहलाई २१–१३, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । एपिएफका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले पुलिसका निता साह र कोपिला उप्रेतीको जोडीलाई पराजित गरेका हुन् ।
महिलातर्फ पुलिस बी को समूहले आर्मीलाई पराजित गर्दै तेस्रो भएको छ । त्यसैगरी, पुरुषतर्फ गण्डकी प्रदेश ए को समूहले नेपाल पुलिसलाई पराजित गर्दै तेस्रो भएको छ । प्रतियोगितामा महिला तथा पुरुष विजेता टिमलाई ३०÷३० हजार, उपविजेता टिमलाई २०÷२० हजार र तेस्रो हुनेलाई १०÷१० हजार पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा एपिएफकी विनिता बुढाथोकी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भइन् भने पुरुषतर्फ आर्मीका दिलकुमार सुनार उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले उपाधिसहित जनही ३ हजार पुरस्कार प्राप्त गरे ।
विजयी खेलाडीहरुको टोलीलाई गण्डकी प्रदेशका सांसद राजीव पहारी, नेपाल भलिबल संघका उपाध्यक्ष एवं जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यमबहादुर गुरुङ, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीलगायतले पुरस्कार वितरण गरे । असार ५ देखि सुरु भएको प्रतियोगितामा महिलातर्फ १४ र पुरुषतर्फ १७ टिमको सहभागिता थियो । प्रतियोगितामा तीन विभागीय (नेपाल प्रहरी, नेपाली सेना र एपिएफ) सहित सातै प्रदेशबाट खेलाडी सहभागी थिए ।
प्रकाशित समय १६:५७ बजे

















