गृहपृष्ठ लक्ष्मणपुर बाँध भत्काउन सांसदको माग
लक्ष्मणपुर बाँध भत्काउन सांसदको माग
सांसद पुष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लंघन गरी हुकुमी शैलीमा शासन गर्दै आउनुभएको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको सोमबारको शून्य समयमा सांसद भुसालले कारागार ऐनको दफा ११ र २५ उल्लंघन गरी उपचारका क्रममा रहेका सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाल्ने र नेल लगाउने कारागारका कर्मचारीलाई कारबाही गर्न ठाडो आदेश दिनु प्रधानमन्त्रीको हुकुमी शैली भएको तर्क गरिन् । कारगार ऐनको दफा ११ मा नेल लगाउन चिकित्सकको सुझाव लिनुपर्ने र दफा २५ मा जघन्य अपराध गर्नेलाई नेल लगाउनुपर्ने व्यवस्था छ ।
सांसद पूर्णकुमारी सुवेदीले राप्ती नदीमा पक्की बाँध निर्माण गर्न सरकारसँग माग गरिन् । उनले भारतीय पक्षले निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण बाँकेका १० हजार बिघा जमिन डुबानमा परेको बताएन् ।
सांसद प्रेम सुवालले बाँकेको सिमानामा निर्माण गरिएको लक्ष्मणपुर बाँध तत्काल भत्काउन सरकारको ध्यानाकर्षण गराए । सांसद डिला संग्रौला, नवीना लामा, पार्वता डिसी चौधरी, पार्वतीकुमारी विसुङ्खेले राजधानीमा अज्ञात समूहले महिलामाथि सिरिन्ज आतंक मच्चाएको भन्दै तत्काल पक्राउ गर्न सरकारको ध्यानाकर्षण गए ।
सांसद दिलेन्द्रप्रसाद बडूले विप्लव समूहसँग तत्काल वार्ता सुरु गर्न माग गरे । सांसद नारायणप्रसाद खतिवडाले विर्ता उन्मूलन भए पनि नुवाकोटमा एक हजार ५५८ रोपनी जमिन खनजोत गर्ने चार हजार ९५७ व्यक्तिलाई तत्काल मोही कायम गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद तेजुलाल चौधरी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल र नारायणप्रसाद मरासनीले वर्षाका कारणले जनधनको क्षति पुगेकाले क्षतिपूर्ति तथा नदी नियन्त्रणको माग गरे ।
प्रकाशित समय १३:५३ बजे

















