गृहपृष्ठ विश्वकप क्रिकेट : इंग्ल्याण्ड सेमिफाइनलमा, पाकिस्तानलाई धक्का
विश्वकप क्रिकेट : इंग्ल्याण्ड सेमिफाइनलमा, पाकिस्तानलाई धक्का
घरेलु टोली इंग्ल्याण्ड एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डलाई बुधबार राति १ सय १९ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाएको हो । अब न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्ने नपुग्ने शुक्रबार हुने पाकिस्तान र बंगलादेशको नतिजामा निर्भर रहनेछ ।
३ सय ६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४५ ओभरमा सबै विकेटको क्षतिमा १ सय ८६ रनमा समेटियो । न्युजिल्याण्डका लागि टम लेथमले सर्वाधिक ५७ रन बनाए । ओपनर हेनरी निकोलस शून्यमा आउट भए । अर्का ओपनर मार्टिन गुप्टिल ८ रनमा पेभेलियन फर्किए । कप्तान केन विलियमसन २७ जोड्दै आउट भए । रोस टेलर २८, जेम्श निशम १९, कोलिन डी ग्राण्डहोम ३ रनमा आउट भए ।
इंग्ल्यान्डका लागि मार्क उडले ३ विकेट लिए । क्रिस वोक्स, जोफ्रा आर्चर, लियाम प्लन्केट, बेन स्टोक्स र आदिल राशिदले समान १–१ विकेत हात पारे ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५ रन बनाएको थियो । ओपनर जोनी बेयरस्टोले १ सय ६ रनको शतकीय पारी खेले । जोसन रोयले ६० रन जोडे । जो रुट २४ रनमा आउट भए । जस बटलरले ११ रन मात्र जोड्न सके । बेन स्टोक्स ११ रनमा क्याच आउट भए । कप्तान इओन मोर्गनले ४२ रनको योगदान दिए । क्रिस वोक्स ४, आदिल राशिद १६ र लियाम प्लन्केटले १५ रन बनाए ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्श निशमले समान २–२ विकेट लिए । मिचेल सान्टनार र टिम साउथीले १–१ विकेट हात पारे ।
इंग्ल्यान्ड ९ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । न्युजिल्यान्डको ९ खेलबाट ११ अंक छ । पाकिस्तान र बंगलादेशबीचको खेलले सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ । पाकिस्तान पराजित भए न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्नेछ भने विजयी भए नेट रनरेटका आधारमा टुंगो लाग्नेछ ।
प्रकाशित समय ०७:१७ बजे

















