गृहपृष्ठ प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड सुर्खेतमा
प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड सुर्खेतमा
सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेशस्तरीय दशौं राष्ट्रपती रनिङ सिल्ड हुने भएको छ । शनिबारदेखि सुरु हुने खेलमा विभिन्न ६ विधाका खेल हुनेछन् । भलिबल, कराँते, कबड्डी, एथ्लेटिक्स, तेकवान्दो र उसुमा कर्णाली प्रदेशका १९ वटै जिल्लाका खेलाडीको सहभागिता रहने आयोजक समितिका प्रचारप्रचार संयोजक अर्जुनजंग शाहीले जानकारी दिए ।
कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, पश्चिम रुकुम, हुम्ला, जुम्ला, मुगु, सल्यान र डोल्पाका खेलाडी प्रतियोगितामा सहभागी हुँदै छन् । खेलमा सहभागी हुन यसअघि कर्णाली प्रदेशका विभिन्न १० जिल्लाका माध्यमिक विद्यालयबाट ८ सय ४० जना विद्यार्थी छनौट भइसकेका छन् । प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्डमा तिनै खेलाडीले स्वर्ण, रजत र कास्य गरी ३ सय ४ पदकका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
खेलमा प्रथम स्थान हासिल गर्ने जिल्लाले रनिङ सिल्ड र नगद २० हजार, दोस्रो हुने जिल्लाले कप र नगद १५ हजार तथा तेस्रो हुने जिल्लाले कप र १० हजार रुपैयां पुरस्कार पाउनेछन् । काठमाडौंमा राष्ट्रव्यापी रुपमा हुने संघस्तरीय दशौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा खेलाडी र अफिसियल गरी कर्णाली प्रदेशबाट एक सय दुईजनाको सहभागिता रहनेछ ।
प्रतियोगिता जेठ २१ गतेसम्म सञ्चालन हुनेछ । शुक्रबार कर्णाली प्रदेश खेलकुद सञ्चालन समितिले पत्रकार सम्मेलन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । कार्यक्रममा कर्णाली प्रदेश खेलकुद सञ्चालन समितिका संयोजक शान्ति सिंहले देश संघीय संरचनामा गइसकेपछि हुनलागेको पहिलो राष्ट्रपति रनिङ सिल्ड कर्णाली प्रदेशको शान भएको बताइन् ।
प्रकाशित समय १६:५१ बजे

















