गृहपृष्ठ अर्थमन्त्रीको प्रश्न– दुईतिहाईको सरकार निरंकुश बनोस् भन्ने चाहना त होइन ?
अर्थमन्त्रीको प्रश्न– दुईतिहाईको सरकार निरंकुश बनोस् भन्ने चाहना त होइन ?

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको आकारको तुलना स्याउ र सुन्तलाको तुलना गरेजस्तो हुने बताएका छन् । बजेटको आकारको तुलना गत वर्षको १० खर्बसँग गर्नुपर्ने र त्यस आधारमा यो बजेट ४० प्रतिशत ठूलो रहेको उहाँको प्रस्टोक्ति छ ।
‘सात सय ६१ वटा सरकारलाई बजेट विनियोजन गरिएको छ,’ आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले भने, ‘त्यसकारण विगतमा जस्तो सहज परिस्थिति अहिले होइन ।’
स्थानीय तहलाई दिएको कर असुलीको अधिकारसहित हेर्दा राजस्वको वृद्धि ३५ प्रतिशतभन्दा बढी रहेको उनले प्रस्ट पारे । बजेट हालसम्मकै निजी क्षेत्रमैत्री रहेको भन्दै खतिवडाले राष्ट्रिय उद्योगलाई संरक्षण गर्ने नीति यो बजेटमा पहिलोपटक आएको बताए । ‘हामी उद्योगहरुलाई पारदर्शी बनाउन चाहिरहेका छौं,’ उनले भने, ‘लगानी बोर्ड ऐनदेखि सार्वजनिक–निजी–साझेदारी ऐन ल्याउने तयारी सरकारले गरेको छ, माननीयज्यूहरुले यसतर्फ पनि ध्यान दिन जरुरी छ ।’ कुनै अर्थमन्त्रीको मात्र प्रयासले निजी क्षेत्र खुम्चिन नसक्ने उनको स्पष्टोक्ति छ ।
संघ र प्रदेश र स्थानीय निकायबीचको भूमिकालाई प्रतिस्पर्धीझैं बनाउन खोजिएको उनको भनाइ थियो । ‘तर तीनवटै निकायबीचको भूमिका परिपूरक छ भनेर बुझ्नुपर्छ, प्रतिस्पर्धी होइन,’ उनले भने, ‘जसको जति क्षमता छ, त्यति काम गर्ने हो, एउटाले प्रदेश र स्थानीय निकायलाई जतिसक्दो क्षमतावान बनाउने दिशामा केन्द्र सरकार लागेको छ ।’
दुईतिहाई सरकार भनेर पटक–पटक भनिएको प्रति अर्थमन्त्री डा. खतिवडाले उल्टै प्रश्न गरे, ‘दुईतिहाईको सरकार निरंकुश बनोस् भन्ने चाहना किन भइरहेको छ ? मैले बुझ्न सकिन ।’
प्रकाशित समय १६:२९ बजे