गृहपृष्ठ ओलम्पिक टर्च पोखरामा
ओलम्पिक टर्च पोखरामा
तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पूर्वसन्ध्यामा ओलम्पिक टर्च पोखरा आइपुगेको छ । काठमाडौँको स्वयम्भुबाट सुरु भएको ओलम्पिक टर्च शुक्रबार पोखरा ल्याइएको हो । टर्चलाई ओलम्पियनसहित खेलाडीहरुले पोखरा रंगशालाबाट नगर परिक्रमा गराएका छन् ।
राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले टर्च प्रज्वलन गरी ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरी सुरु भएको र्यालीले पोखराको विभिन्न भागको परिक्रमा गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च र्याली आयोजना गरिएको हो । ओलम्पिक टर्च ६ जना ओलम्पियनले देशका प्रमुख सहरमा पुर्याउने क्रममा पोखरा आएका हुन् ।
मंसिर १५ गतेदेखि सुरु हुने सागको ओलम्पिक टर्च र्यालीमा नेपालका चर्चित ओलम्पियन टिकाराम श्रेष्ठ, जितबहादुर के.सी, मुकुन्दहरि श्रेष्ठ, ज्ञानबहादुर बोहरा, कान्छीमाया कोजु र राजकुमारी पाण्डे सहभागी छन् ।
र्यालीमा सागका डेपुटी सेभ द मिसन समेत रहेका नेपाल ओलम्पीक कमिटीका उपाध्यक्ष तेजवहादुर गुरुङ, राष्टिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, १३औं साग स्थानिय सहजीकरण समितिका सदस्य मोहन रेग्मी, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीलगायत खेल संघका पदाधिकारी, कर्मचारी एंव खेलाडीहरुको सहभागिता छ । देशका विभिन्न भागको परिक्रमापछि टर्च मंसिर १५ गते काठमाडौँ पुर्याइनेछ ।
प्रकाशित समय १७:४५ बजे

















