गृहपृष्ठ १३औं सागको आज औपचारिक उद्घाटन, ६ देश २६ खेलमा सहभागी, भारत २१ खेलमा मात्रै
१३औं सागको आज औपचारिक उद्घाटन, ६ देश २६ खेलमा सहभागी, भारत २१ खेलमा मात्रै
कुन खेल कहाँ हुँदैछ ?
१३औं दक्षिण एसियाली खेलुकद (साग)को औपचारिक उद्घाटन आज हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा आयोजित विशेष कार्यक्रमबीच साग उद्घाटन गर्नेछिन् ।
लामो समयपछि नेपालमा भइरहेको सागमा २६ खेल समावेश छन् । सात देशबाट विभिन्न विधाका गरी २६ खेलमा २ हजार ९१० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालका काठमाडौं, जनकपुर र पोखरामा खेल भइरहेका छन् ।
प्रतियोगिताका २६ खेलमा भारतबाहेकका देशले सहभागिता जनाएका छन् । भारतले भने ठूला पाँच खेलमा सहभागिता जनाएको छैन । पाकिस्तान क्रिकेटमा अनुपस्थित छ ।
‘१३औं सागमा २६ खेल भए पनि दक्षिण एसियाका सबै देशले सहभागिता जनाउनुपथ्र्यो तर भारतले २१ खेलमा मात्र सहभागिता जनाएको छ,’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले भने, ‘भारतले आन्तरिक विवादका कारण १३औं सागमा सहभागिता जनाएन ।’
सदस्य सचिव सिलवालका अनुसार आयोजकलाई भारतले पाँच खेलमा सहभागिताका लागि आधिकारिक जानकारी नै दिएन । भारतले सहभागिता नजनाए पनि सागमा कुनै असर नपर्ने उनले बताए । ‘भारतले सागका सबै खेलमा सहभागिता जनाउनुपथ्र्यो, जनाएन,’ उनले भने, ‘तर भारतले दक्षिण एसियाली खेलकुदका केही खेलमा सहभागिता नजनाए पनि असर पर्दैन ।’
पुरुष टि–ट्वान्टी क्रिकेटमा पनि दुई बलिया राष्ट्र भारत र पाकिस्तान अनुपस्थित हुनेछन् । घोषित खेल तालिकाअनुसार साग पुरुष टि–ट्वान्टी प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानले सहभागिता जनाउनेछन् । बंगलादेश र श्रीलंकाको यू २३ टोली सागमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले चार–चार वटा म्याच खेल्नेछन् । शीर्ष स्थानमा रहने दुई टोलीबीच उपाधिका लागि मंसिर २४ गते त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा खेल हुनेछ ।
नेपालका लागि घरेलु मैदानमा जित्ने सम्भावना धेरै खेलमा बढी छ । आर्चरी, क्रिकेटलगायतका खेलमा भारतले सहभागिता नजनाएको हो । घरेलु मैदानमा हुने खेलमा नेपालले धेरै विधामा स्वर्ण पदक जित्ने आशामा प्रशिक्षक छन् ।
स्वर्णमा पूर्ण रूपमा दाबेदारी गर्न सकिने सम्भावना भने प्रशिक्षकको भनाइले नै पुष्टि गरेको छ । ११औं र १२औं सागमा नेपालले कास्य पदकमा मात्रै चित्त बुझाएको छ । आर्चरीका सहायक प्रशिक्षक वसन्त थकाली पनि कम्तीमा दुईवटा स्वर्ण पदक जित्ने आशामा छन् ।
११औं सागमा नेपालले टिम इभेन्टमा कास्य जितेको थियो । १२औंमा पुरुष एकलतर्फको स्पर्धामा प्रेम पुनले रिकर्भमा कास्य पदक दिलाउँदै आर्चरीलाई पदकविहीन हुनबाट जोगाएका थिए । यसपटक १० स्वर्णका लागि नेपालसहित बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।
कुन खेल कहाँ ?
आर्चरी – मंसिर १५ देखि २३ गतेसम्म – पोखरा रंगशाला
एथलेटिक्स – १७ गतेदेखि २१ गतेसम्म – दशरथ रंगशाला
बास्केटबल – १९ गतेदेखि २४ गतेसम्म – त्रिपुरेश्वर कबर्ड हल
बक्सिङ – १६ गतेदेखि २४ गतेसम्म – कराँते हल सातदोबाटो
पुरुष क्रिकेट – १७ देखि २४ गतेसम्म – त्रिवि मैदान कीर्तिपुर
महिला क्रिकेट – १६ देखि २३ गतेसम्म – पोखरा क्रिकेट मैदान
साइक्लिङ – १७ देखि २१ गतेसम्म – बागडोल
फेन्सिङ – २० देखि २३ गतेसम्म – नयाँ बजार कीर्तिपुर
पुरुष फुटबल – १५ देखि २४ गतेसम्म – दशरथ रंगशाला
महिला फुटबल – १६ देखि २४ गतेसम्म – पोखरा रंगशाला
गल्फ – १६ देखि १९ गतेसम्म – गोकर्ण गल्फ क्लब
ह्यान्डबल – १८ देखि २३ गतेसम्म – पोखरा कबर्ड हल
जुडो – २१ देखि २४ गतेसम्म – आर्मी कबर्ड हल, लगनखेल
कबड्डी – १८ देखि २३ गतेसम्म – हल्चोक कबर्ड हल
कराँते – १५ देखि १८ गतेसम्म – कराँते कबर्ड हल सातदोबाटो
खोखो – १५ देखि १८ गतेसम्म – नयाँ बजार कीर्तिपुर
सुटिङ – १७ देखि २२ गतेसम्म – सुटिङ रेञ्ज सातदोबाटो
स्क्वास – २० देखि २४ गतेसम्म – स्क्वास हल सातदोबाटो
पौडी – १९ देखि २३ गतेसम्म – पौडी कम्प्लेक्स सातदोबाटो
तेक्वान्दो – १६ देखि १९ गतेसम्म – तेक्वान्दो हल सातदोबाटो
टेनिस – १६ देखि २३ गतेसम्म – टेनिस कोर्ट सातदोबाटो
ट्रायथलन – १६ देखि १८ गतेसम्म – पोखरा
भलिबल – ११ देखि १७ गतेसम्म – त्रिपुरेश्वर कबर्ड हल
भारोत्तोलन ( १९ देखि २२ गतेसम्म – पोखरा
कुस्ती – २० देखि २३ गतेसम्म – जनकपुर कबर्ड हल
उसु – १६ देखि १९ गतेसम्म – आर्मी कबर्ड हल लगनखेल
टेबल टेनिस – १६ देखि २० गतेसम्म – लैनचौर कबर्डहल
प्रकाशित समय १४:२७ बजे

















