गृहपृष्ठ भारोत्तोलनमा नेपाललाई पहिलो कास्य, संगीताले बनाइन् राष्ट्रिय कीर्तिमान

भारोत्तोलनमा नेपाललाई पहिलो कास्य, संगीताले बनाइन् राष्ट्रिय कीर्तिमान

नेपालकी संगीता राईले कुल १२७ केजी तौल उठाउँदै भारोत्तोलनमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । प्रतियोगितामा कास्य पदक जितेकी उनले ४५ केजी तौल समूहबाट स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी १२७ केजी तौल उठाएकी थिइन् ।

यसअघि स्न्याचमा ४७ र क्लिन एण्ड जर्कमा ६५ सहित ११२ केजी तौल उठाएकी करिना चौधरीको नाममा सो कीर्तिमान रहेको भारोत्तोलन प्रशिक्षक दिनेश भुजेलले बताए ।

सो इभेन्टमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ केजी तौल उठाउँदै स्वर्ण जितिन् भने १ सय ३९ केजी तौल उठाएकी श्रीलंकाकी सीमारी सामाराकुलले रजत जितिन् । सामाराकुलले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ केजी तौल उठाएकी थिइन् ।

४९ केजी तौल समूहको महिलातर्फ पनि भारतले स्वर्ण जित्यो । प्रतियोगितामा श्रीलंकाले रजत र बंगलादेशले कास्य जितेको छ । भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८९ गरी कुल १५७, श्रीलंकन खेलाडी हसानीले स्न्याचमा ७१ र क्लीन एण्ड जर्कमा ८४ गरी कुल १५५ केजी उचालेकी थिइन् ।

बंगलादेशकी मोला सविराले १३० केजी भार बहन गर्दै कास्यमा चित्त बुझाइन् । उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ७५ केजी भार बहन गरेकी हुन् । विजयीलाई बिहीबार नै पदक हस्तान्तरण गरिएको छ ।

चार दिनसम्म चल्ने प्रतियोगितामा माल्दिभ्सबाहेक सबै देशको सहभागिता छ । भुटानको यो पहिलो सहभागिता हो । महिला र पुरुषतर्फ दश/दश तौल समूहमा प्रतिष्पर्धा हुनेछ । पोखरा- १२, माटेपानीस्थित एसआर केसी बैंक्वेटमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रकाशित समय १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु