गृहपृष्ठ मादी नदी लिफ्टिङ आयोजनाको सर्भे सुरु

मादी नदी लिफ्टिङ आयोजनाको सर्भे सुरु

व्यास नगरपालिका-१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भादगाउँ क्षेत्रमा दीर्घकालीन खानेपानी समस्या समाधान गर्न मादी नदी लिफ्टिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सर्भे सुरु गरेको छ ।

पहिलो चरणको ‘भिजिबिलिटी सर्भे’ पश्चात् व्यास नगरपालिका-४ स्थित करिब तीन किलोमिटर दूरीको मादी नदी किनारमा पानी बोरिङ गरी लिफ्टिङ गर्न सर्भे थालेको हो ।

काठमाडौँस्थित बिन कन्सल्टेन्सीका प्राविधिक गणेश महतोको नेतृत्वमा आएको चार जनाको टोलीले मुख्य लाइनपछि शाखा लाइनको सर्भे थालेको छ । नगरपालिका-१ वडाका सबै क्षेत्रसाथै १२ नं वडाको केही क्षेत्रलाई समेटिने गरी काम थालिएको हो । टोलीलाई सर्भे गर्न अझै दुई महिना लाग्ने समितिले जनाएको छ । समितिले हाल चालु अवस्थाका तीन आयोजनाको पानीले व्यास नगरपालिका-१ भादगाउँस्थित २० टोलका २ हजार २३७ घरमा पानीको धारा जडान गरी पानी वितरण गर्दै आएको छ ।

नगरपालिका-१ स्थित छाब्दी खोलाबाट दुई वटा बोरिङ गरी लिफ्टिङ र वडा १३ स्थित खिरखाँदी खोलाबाट ‘ग्रावेटी’  माध्यमबाट ल्याइएको पानी संकलन गरी भादगाउँ क्षेत्रमा पानी वितरण गरिँदै आएको समितिका प्रबन्धक ईश्वर श्रेष्ठले जानकारी दिए । खिरखाँदी खानेपानी आयोजनाको १७ करोड रुपैयाँ र छाब्दी खोलाबाट हालै पम्पिङ गरिएको योजना ६४ लाख रुपैयाँमा सम्पन्न भएको हो । खिरखाँदी खोला सदरमुकाम दमौलीदेखि करिब १३ किलोमिटर दूरीमा पर्छ ।

छाब्दी खोलाको दुई स्थानबाट बोरिङ गरी पम्पिङ गरिएको पानी प्रतिसेकेन्ड नौ लिटर र खिरखाँदी खोलाको प्रतिसेकेन्ड नौ लिटर गरी १८ लिटर प्रतिसेकेन्ड पानी संकलन हुँदै आए पनि एक दिन बिराएर दिनको दुई घण्टा पानी वितरण गरिँदै आएको प्रबन्धक श्रेष्ठले बताए । बस्ती विस्तार हुँदै जान थालेपछि पानीको समस्या खड्किन थाल्यो । उनले भने, ‘दीर्घकालीन योजनासहित करिब ३० वर्षपछिसम्मका लागि मध्यनजर गर्दै खानेपानीको विकल्प खोजिएको हो ।’

नयाँ आयोजनाअन्तर्गत मादी नदी किनारमा दुई मोटर र दुई पाइप जडान गरी पम्पिङ गरिएको पानी ‘ट्रिटमेन्ट प्लान्ट’ मा राखेर वितरण गरिने समितिले जनाएको छ । उक्त आयोजनामा सरकारको ७० प्रतिशत, स्थानीय श्रमदान २० प्रतिशत र स्थानीयको १० प्रतिशत नगद बेहोर्नुपर्ने प्रावधान रहेको समितिका अध्यक्ष चिजबहादुर दरैले बताए ।

उक्त आयोजनाको लागत करिब ३५ करोड रुपैयाँ छ । अध्यक्ष दरैले भने, ‘टेन्डर गरेको दुई वर्षभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।’ निर्माणाधीन आयोजनाको प्रतिसेकेन्ड ३५ लिटर पानीको क्षमता रहेको बिन कन्सल्टेन्सीका इन्जिनियर निर्जल ढकालले जानकारी दिए । उक्त वडाको उचाइ क्षेत्रमा रहेका बस्ती भदुरडाँडा र गल्बुडाँडामा समेत पानीको सुविधा पुर्‍याउने उद्देश्यले अमिली भन्ज्याङमा रिजर्भ ट्यांकी निर्माण गरिने भएको छ । (रासस)

प्रकाशित समय १४:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु