गृहपृष्ठ सहिद स्मारक लिग : उपाधिको छिनोफानो शनिबार, दबावमा मच्छिन्द्र, आर्मीलाई केही सहज

सहिद स्मारक लिग : उपाधिको छिनोफानो शनिबार, दबावमा मच्छिन्द्र, आर्मीलाई केही सहज

यसपटकको लिगको छिनोफानो शनिबारको खेलबाट मात्र हुने भएको छ । शनिबार शीर्ष दुई टोली आर्मी र मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ । त्यही खेलले लिगको विजेता टुंगो लाग्नेछ ।

उपाधि जित्नका लागि आर्मीले बराबरी गरे मात्र पनि पुग्ने छ भने मछिन्द्रले जित्नै पर्ने हुन्छ । त्यस कारण शनिबारको खेलमा स्टार खेलाडीले भरिभराउ मच्छिन्द्र दबावमा हुनेछ भने आर्मी केही सहजताका साथ खेल्नेछ ।

मछिन्द्रसँग बराबरीमात्र गर्न सके पनि आर्मीलाई इतिहासमै पहिलो लिग उपाधि जित्न पर्याप्त हुनेछ । उक्त खेलमा आर्मी पराजित भए चाहिँ मछिन्द्रले पहिलोपटक शीर्ष डिभिजनको उपाधि जित्नेछ ।

विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएपछि उपाधि होड रोचक बनेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार बिहान भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३-० गोल अन्तरले पराजित गदै शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक/एक गोल गरे । खेलको पाँचौँ मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए । यस गोलसँगै नेपाली राष्ट्रिय टोलीका ‘फरवार्ड’समेत रहेका भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् ।

१२ खेलको समाप्तिमा समान ९ जित, २ बराबर र १ हार भए पनि मछिन्द्र १ अंकले पछाडि छ । आर्मीको २९ अंक छ भने दोस्रो स्थानमा झरेको मछिन्द्रको २८ अंक छ ।

गत वर्ष लिगको अंक तालिकामा पुछारबाट दोस्रोमा रहेका कारण मछिन्द्रको यो वर्ष एक अंक घटाइएको थियो ।

 

प्रकाशित समय १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु