गृहपृष्ठ कोरोना भाइरस : सुदूरपश्चिममा उच्च सतर्कता, हेल्प डेस्क स्थापनाको तयारी
कोरोना भाइरस : सुदूरपश्चिममा उच्च सतर्कता, हेल्प डेस्क स्थापनाको तयारी
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सुदूपश्चिममा सजगता अपनाइएको छ । सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालले यसको चेकजाँच सेवा सुरु गरेको छ ।
प्रदेशका विभिन्न सीमा नाका र विमानस्थलमा हेल्प डेक्स सुरु गर्ने सुदूरपश्चिम प्रदेश सरकारको तयारी छ । विशेषज्ञ चिकित्सक सहितको टोली स्वास्थ्य जाँचमा खटिएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. हेमराज पाण्डेले जानकारी दिए । सुदूरपश्चिममा संक्रमणको जोखिम नरहे पनि अग्रिम सजगता अपनाइएको उनले बताए । उनका अनुसार सुदूरपश्चिममा हालसम्म कोरोना भाइरसको लक्षण देखिएको छैन ।
नेपालका कोरोना भाइरसको संक्रमण नदेखिए पनि उच्च सतर्कताका लागि स्वास्थ्य जाँच सुरु गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले स्थानीय तहसँग समन्वय भएर जनचेतना फैलाउने कामसमेत भइरहेको बताए । रुघाखोकी, सास फेर्न गाह्रो हुनु र १ सय ४ डिग्रीभन्दा बढी ज्वरो देखिएमा स्वास्थ्य जाँच गराइहाल्न कार्कीले सुझाव दिए ।
रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने, नियमित साबुन पानीले हात धुने, खोक्दा र हाछ्यूँ गर्दा नाक र मुख छोप्ने, जंगली तथा घरपालुवा पशुपक्षीसँग सिधै सम्पर्क नगर्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाएमा यसको जोखिमबाट बच्न सकिने स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।
कोरोना भाइरसको जोखिम कम गर्न प्रदेश भित्रका विभिन्न नाका र गेटा विमानस्थलमा स्वास्थ्यकर्मी सहितको हेल्प डेक्स स्थापना गरिने प्रदेश सरकारको तयारी छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले योसँगै सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको विशेष कक्ष सञ्चालन गरिएको बताए । सीमा नाका र विमानस्थलमा पनि केही दिनभित्रै हेल्प डेक्स स्थापना हुने उनकोे भनाइ छ ।
प्रकाशित समय १२:४० बजे
















