गृहपृष्ठ सुदूरपश्चिम खप्तड गोल्डकप : विभागीय टीम एपीएफ क्वाटरफाइनल प्रवेश
सुदूरपश्चिम खप्तड गोल्डकप : विभागीय टीम एपीएफ क्वाटरफाइनल प्रवेश
‘नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रित खप्तड गोल्डकप’को चौथो सस्करणअन्तर्गत शनिबार भएको खेलमा विभागीय टिम एपीएफ विजयी भएको छ । न्यूरोड टिम (एनआरटी)लाई स्तब्ध पार्दै एपीएफ क्वाटरफाइनल प्रवेश गरेको हो ।
सुदूरपश्चिम- ११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो दिन भएको खेलमा एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा पुगेको हो ।
एपीएफलाई जित दिलाउन रमेश दंगाल र बिकु तामाङले एक/एक गोल गरे । एनआरटीको लागि दर्शन गुरुङले सान्त्वना गोल गरे । खेलमा सुरुआती अग्रता भने एनआरटीले लिएको थियो । ३९औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।
कप्तान प्रकाश बुढाथोकीले दिएको पासलाई दर्शनले डिबक्स भित्रबाट पहिलो बारमा सुन्दर गोल गरेका थिए । तर, दोस्रो हाफमा एपीएफ खेलमा फर्कियो । खेलको ६१औं मिनेटमा रमेशले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा ल्याए ।
सुदिप शिख्राकारको कर्नरमा अनमार्क रहेका डिफेन्डर रमेशले हेड गोल गरे । त्यसपछि खेलको ६७औं मिनेटमा वैकल्पिक खेलाडी बिकुले गोल गर्दै एपीएफलाई २-१ को जित दिलाए । कप्तान टोपबहादुर विष्टले प्रहार गरेको रिवाउण्ड बलमा बिकुले गोल गरेका थिए ।
खेलको ‘म्यान अफ दि म्याच’ एपीएफका रमेश दंगाल चुनिए । उनले १० हजारसहित ट्रफी प्राप्त गरे । अब एपीएफले सेमीफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ । यसअघि सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीसँग ३-२ को हार व्यहोरेको एपीएफले त्यसको बदलासमेत लिएको छ । प्रतियोगिताअन्तर्गत आईतबार नव जनजागृति क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्ने छन् ।
फागुन ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ । धनगढी रंगशालामा भइरहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ ।
सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशमा हुने एक मात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम- ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि प्रतियोगिता गर्दै आयोजना गर्दै आएको छ ।
प्रकाशित समय १०:२९ बजे
















