गृहपृष्ठ लकडाउनकै बीच धादिङको बेनीघाटमा क्रिकेट रंगशाला निर्माण सुरु
लकडाउनकै बीच धादिङको बेनीघाटमा क्रिकेट रंगशाला निर्माण सुरु
जिल्ला क्रिकेट संघ नै गठन नभएको धादिङमा लकडाउनकै बीच रंगशाला निर्माण अघि बढेको छ । सरकारले ५० लाख बजेट विनियोजन गरेपछि रंगाशाला निमार्णको प्रारम्भिक काम सुरु भएको हो ।
यससँगै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाट ५ बाहुनटारमा क्रिकेट रंगशाला निर्माणका लागि अभियान नै सुरु भएको छ । गाउँपालिकाले करिब ७५ रोपनी जग्गामा डीपीआर तयार गरेर निर्माणको काम अघि बढाएको छ ।
बाहुनडाँडामा एक वर्ष अघिदेखि नै रंगशाला निर्माण योजना अघि बढाइएको थियो । अहिले रंगशालासम्म पुग्ने बाटो निर्माण सुरु भएको छ । यसअघि गाउँपालिकाले रंगशालाका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । निर्माणाधीन रंगशाला पृथ्वी राजमार्गबाट नजिकै पर्छ ।
तीन वर्षभित्र रंगशालमा निर्माण सम्पन्न गर्ने लक्ष्य गाउँपालिकाको छ । करिब १५ करोड बजेट अनुमान गरिएको रंगशालमा ५ हजार दर्शक क्षमताको प्याराफिट बन्नेछ ।
जिल्लामा क्रिकेट क्रेज पनि बढ्दै गएको छ । विद्यालयका वार्षिक कार्यक्रमहरुमा क्रिकेट खेल समावेश गर्न थालिएको छ भने विद्यालयस्तरीय प्रतियोगिता पनि गरिँदै आएका छन् । जिल्लामै रंगशाला निर्माण हुन थालेपछि युवाहरु उत्साहित भएका छन् ।
प्रकाशित समय ०८:२१ बजे
















