गृहपृष्ठ कर्णाली खेलकुद परिषद्को उपाध्यक्षमा हमाल
कर्णाली खेलकुद परिषद्को उपाध्यक्षमा हमाल
कर्णाली प्रदेशमा खेलकुद परिषद् गठन भएको छ । मंगलबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले परिषद्को उपाध्यक्षमा प्रमोद हमाललाई चयन गर्ने निर्णय गरेको हो । सामजिक विकास मन्त्रालयले गरेको प्रस्ताव मन्त्री परिषद्को बैठकले स्वीकृत गरेपछि परिषद् गठन गरिएको हो । परिषद्को सदस्य सचिवमा भने विश्वमित्र सन्ज्याललाई नियुक्त गरिएको छ । यस्तै, सदस्यहरुमा हुम्लाका टक्कबहादुर शाही, जुम्लाका सरोज शाही, सल्यानका भुमाकुमारी बुढाथोकी, जाजरकोटका मोहनराज घर्ती र दैलेखका हेमा खड्का छन् ।
सामाजिक विकास मन्त्रालयले परिषद गठन गरेसँगै कर्णालीको रोकिएको खेल पूर्वाधारको विकासमा टेवा पुग्ने छ । जिल्ला फुटवल संघ सुर्खेतका वरिष्ठ उपाध्यक्षसमेत रहेका हमाल खेल क्षेत्रका अग्रणी व्यक्तित्व हुन् । यस्तै मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री जिविकोपार्जन सञ्चालन कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै प्रदेश सरकारबाट लोपोन्मुख राउटे जातिको संरक्षण र प्रवद्र्धन गर्न प्रतिव्यक्ति दुईहजार रुपैयाँ आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गुराँस गाउँपालिकालाई बित्तीय हस्तान्तरण गर्ने र गुराँस गाउँपालिकाले नियमानुसार वितरण गर्ने, खाद्यान्न खरिद तर्फको खर्च शीर्षकबाट बिनियोजित भएको रकममध्येबाट १५ करोड र कोभिड शिक्षातर्फको खर्च शीर्षकबाट विनियोजित रकम १० करोड क्रमागत आयोजनाहरुको लागि रकमान्तर गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिइन् ।
उनका अनुसार शान्ति तथा पुनर्स्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक कर्णाली प्रदेश सभा सचिवालयमा दर्ता गर्न स्वीकृत प्रदान गर्ने, द्वन्द्वपीडित, घाइते अपांग उपचार राहत खर्च कार्यविधि २०७७ लाई स्वीकृति प्रदान गर्ने र सहकारी संस्थामार्फत् ब्याज अनुदान कार्यविधि २०७७ स्वीकृति गर्ने निर्णय बैठकले गरेको हो ।
प्रकाशित समय ०७:२७ बजे
















