गृहपृष्ठ कर्णालीमा फुटबल संघ गठन, अध्यक्षमा हमाल
कर्णालीमा फुटबल संघ गठन, अध्यक्षमा हमाल
फुटबल संघ कर्णाली प्रदेशको अध्यक्षमा प्रमोद हमाल निर्विरोध चयन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार गठन गरेको प्रदेशको तदर्थ कमिटीमा हमालसहित ७ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको हो ।
हमालको अध्यक्षमा चयन भएको कमिटिमा जुल्लाका भरत खत्री उपाध्यक्ष चुनिएका छन् । यस्तै, महासचिवमा गणेशकुमार कार्की, कोषाध्यक्षमा अजय बुढा थापा र सदस्यहरुमा कृष्ण खड्का, महेन्द्र चोधरी र खगेश्वर आचार्य रहेका छन् । निर्वाचित कमिटीले ४ जना सदस्यलाई समेत मनोनित गर्नेछ । एन्फाका केन्द्रीय परिवेक्षक कुमार केसी र एन्फा उपाध्यक्ष शिक्षित पराजुलीको उपस्थितिमा प्रदेश कमिटी गठन गरिएको अध्यक्ष हमालले जानकारी दिए ।
एन्फा कार्यसमिति सदस्य कुमार केसीले फुटबललाई विकेन्द्रिकरण गर्ने उद्देश्यअनुरुप संघीय संरचनाअनुसार प्रदेश कमिटी गठन गरिएको बताए । उनले प्रदेशको कमिटी यसअघिको नाम मात्रको क्षेत्रीय समिति जस्तो नभएको उल्लेख गर्दै जिल्लाकै प्रतिनिधिको प्रस्ताव र सल्लाहमा प्रदेश गठन गरिएको उल्लेख गरे । ‘प्रदेश कमिटी यसअघिको क्षेत्रीय समिति जस्तो हैन । शक्ति पृथकीकरणको उद्देश्यअनुरुप गठन गरिएको हो,’ उनले भने, ‘नामको मात्र नभएर प्रदेश गठनमा जिल्ला प्रतिनिधिबाटै गरिएको प्रस्ताव र सल्लाह गरेर गठन गरेका छौं ।’
नेपाल ओलम्पिक कमिटी (एनओसी)का केन्द्रीय सदस्यसमेत रहेका केसीले एन्फाको प्रदेश कमिटीसँग जिल्लाको काम कारबाही हेर्ने र आवश्यक निर्देशन दिने अधिकार रहेको बताए । ‘प्रदेशको कमिटी अधिकार प्राप्त छ । यसले जिल्लाको काम कारबाही हेर्ने र गतिविधिका आधारमा नयाँ जिल्लाको प्रस्ताव गर्ने अधिकार दिएका छौ ।’ उनले भने ।
प्रकाशित समय १९:२७ बजे
















