गृहपृष्ठ अर्जेन्टिना र फ्रान्स भिँड्दै, फिफा भन्छ, ‘४१ प्रतिशत फ्रान्सको सम्भावना’
अर्जेन्टिना र फ्रान्स भिँड्दै, फिफा भन्छ, ‘४१ प्रतिशत फ्रान्सको सम्भावना’
रुस जारी विश्वकप फुटवलमा आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन् । बिहीबार राति समूह चरणका खेल सकिएका थिए ।
नकआउट चरणमा हुने पहिलो खेलमा दुई पटकको विश्वविजेता अर्जेन्टिना र एकपटकको विजेता फ्रान्स आमने सामने हुँदैछन् ।
काजन एरिना स्टेडिएयममा नेपाली समयअनुसार राति पौने ८ बजे यी दुई टोली मैदान उत्रनेछन् ।
समूह चरणमा दुबै टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन् । आजको खेलमा अर्जेन्टिना र उसका कप्तान लियोनल मेस्सीमाथि ठूलै दबाब हुनेछ । किनकि, घिसिएर नकआउटमा आइपुगेपनि त्यहाँभन्दा अघि बढ्न उसको प्रदर्शन यसअघिको भन्द निकै उत्कृष्ट हुनुपर्नेछ । यता, फ्रान्सलाई पनि कम दबाब हुनैछैन ।
फ्रान्सले पनि अहिलेसम्म प्रतियोगितामा आफ्नो छविअनुसार प्रदर्शन गर्न सकेको छैन ।
यी दुवै टोली विश्व फुटवल जगतमा निकै ख्याती कमाएका टोली हुन् । आजको खेलमा पल पोग्वा, एन्टोनी ग्रिजम्यान, लियोनल मेसी, एन्जेल डी मारिया लगायतका खेलाडीमाथि धेरैको नजर हुनेछ ।
समूह चरणअन्तर्गत क्रोएसियाविरुद्धको खेलमा ३–० ले पराजित हुँदा अजेन्टिनी टोलीमा खेलाडीको ढल्कँदो उमेर र असन्तुलन प्रष्ट देखिएको थियो । मेसीले अन्ततः मार्कोस रोहोले सनसनीपूर्ण भलीमा गोल गरेपछि नाइजेरियालाई हराउँदै अर्जेन्टिनालेनकआउट चरणको ढोका खोलेको थियो ।
डिडियर डेशच्याम्पसको फ्रान्स पनि प्रतियोगिता सुरु हुनुपूर्व उपाधिको कागजी दाबेदार थियो । अपराजित रहँदै समूह चरण पार गरे पनि फ्रान्सको प्रदर्शन भने यसको क्षमताअनुसार देखिएको छैन । पहिलो रोजाईका स्ट्राइकर एन्टोनी ग्रिजम्यान उच्च फर्म समाउन असफल हुँदा फ्रान्सको मिडफिल्ड पनि रचनात्मक तरिकाले खेल बनाउने पक्षमा देखिएको छैन ।
यसैबीच फिफाले आजको खेलमा अर्जेन्टिनाले जित्ने सम्भावना कम रहेको अनुमान गरेको छ । अहिलेसम्मका खेलगणितलाई आधार मानेर गरिएको अनुमानमा फ्रान्सले जित्ने सम्भावना ४१ प्रतिशत, अर्जेन्टिनाले जित्ने सम्भावना २७ प्रतिशत र बराबरी हुने सम्भावना ३२ प्रतिशत औँल्याइएको छ ।
प्रकाशित समय ०८:०९ बजे

















