गृहपृष्ठ रोनाल्डो भर्सेस स्वारेज, कसले मार्ला बाजी ?

रोनाल्डो भर्सेस स्वारेज, कसले मार्ला बाजी ?

नकआउट चरणका खेल आजैबाट सुरु हुँदैछन् र रुसमा जारी विश्वकपमा उत्कृष्ट मानिएका टोलीले यो चरणको उद्घाटन गर्दैछन् । पहिलो खेलमा अर्जेन्टिनाविरुद्ध फ्रान्स मैदान उत्रिदा दोस्रो खेलमा पोर्चुगल र उरुग्वे प्रतिस्पर्धा गर्दैछन् ।

पोर्चुगल र उरुग्वेबीच फिश्ट स्टेडिएममा नेपाली समयअनुसार राति पौने १२ बजे हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । किनकि, तुलनात्मक रुपमा यी टोली उस्तै–उस्तै मानिन्छन् ।
यी दुई टोलीबीचको खेललाई बलियो आक्रमणबीचको प्रतिस्पर्धा मानिएको छ । पोर्चुगलसँग क्रिस्टियानो रोनाल्डोजस्ता स्ट्राइकर छन् भने उरुग्वेसँग पनि लुइस स्वारेज र एडिन्सन काभानी छन् ।

स्पेनिस टोली रियल म्याड्रिडका लागि गोल मेसिनको रूपमा चिनिन्छन् रोनाल्डो । प्रदर्शन जस्तै गरेपनि जारी विश्वकपमा रोनाल्डोले ४ गोल गरिसकेका छन् । पोर्चुगललाई दुई वर्षअघि युरोकपको उपाधि जिताउन र जारी विश्वकपको समूहगत चरणमा टोलीलाई अपराजित राख्न पनि रोनाल्डोको भूमिका महत्वपूर्ण छ ।

स्वारेजले हालसम्म दुई गोल गरेका छन् भने काभानीले एक गोल गरेका छन् । यी दुवै खेलाडी युरोपका दुई ठूला लिगका सर्वाधिक गोलकर्ता हुन् । स्वारेजले यसपटक बार्सिलोनालाई स्पेनिस ला लिगाको उपाधि दिलाउन र काभानीले पेरिस सेन्ट जर्मन (पीएसजी)लाई फ्रान्सेली लिगको उपाधि दिलाउन सर्वाधिक गोलकर्ताको सूचीमा आफूलाई उभ्याएका थिए ।

त्यसैले यी खेलाडीकै प्रदर्शनले खेल निकै प्रतिस्पर्धात्क हुने अनुमानगर्न सकिन्छ । युरोपको च्याम्पियन टोलीको हैसियतमा रुस आइपुगेको पोर्चुगलको टोलीमा अन्य राम्रा युवा खेलाडीको पनि बलियो उपस्थिति छ । पेपेको नेतृत्वमा पोर्चुगलको रक्षापंक्ति निकै बलियो देखिएको छ । मिडफिल्डले पनि अग्रपंक्तिमा रोनाल्डोलाई राम्रो साथ दिन सक्छन् ।

स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका मुख्य रक्षक डिएगो गोडिनको उपस्थितिले उरुग्वेको रक्षापंक्ति पनि कमजोर छैन । प्रतियोगिताको समूहगत चरणमा उरुग्वेले कुनै पनि गोल खाएको छैन । उरुग्वेको मिडफिल्ड पनि उत्तिकै बलियो देखिएको छ । यी दुई टोली विश्वकप फुटबलमा पहिलोपटक आमुन्नेसामुन्ने हुन लागेका हुन् । यद्यपि त्यसबाहेक अन्य प्रतियोगितामाको नतिजालाई हेर्ने हो भने पोर्चुगल उरुग्वेसँग अहिलेसम्म हारेको छ । हालसम्म भएका दुईमध्ये एक खेलमा पोर्चुगल विजयी बनेको छ भने अर्काे खेल बराबरीमा सकिएको छ ।

यसैबीच फिफाले यी दुई टोलीमध्ये उरुग्वेले जित्ने सम्भावना बढी देखाएको छ । क्वालिफाएरदेखि समूह चरणसम्म दुई टोलीले गरेका प्रदर्शनलाई आधार मानेर गरिएको विश्लेषणमा उरुग्वेले जित्ने सम्भावना ३४ प्रतिशत औँल्याइएको छ भने पोर्चुगलको ३३ प्रतिशत छ । बराबरीको सम्भावना पनि ३३ प्रतिशत नै रहेको फिफाले जनाएको छ ।

प्रकाशित समय ०८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु