गृहपृष्ठ अधिकारी र गुरुङको जोडीलाई गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि
अधिकारी र गुरुङको जोडीलाई गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि
विधान अधिकारी र रविन गुरुङको जोडीले तेस्रो पुष्पलाल स्मृति गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । ४०औं पुष्पलाल दिवसको सन्दर्भमा सोमबार पोखरा रंगशालामा सम्पन्न भएको फाइनल खेलमा अधिकारी र गुरुङको जोडीले विशाल खड्का र वीरेन्द्र कुँवरको जोडीलाई २१–१७, ११–२१ र २१–८ को सेटमा पराजित गर्दै उपाधिसहित २० हजार पुरस्कार प्राप्त भएका हुन् । शम्भु श्रेष्ठ र खेम केसी तथा विशाल बस्नेत र प्रदिप लम्सालको जोडी तेस्रो भए ।
त्यसैगरी, पुष्पलाल ‘ए’ तर्फ प्रेमकुमार गुरुङ र शक्ति गुरुङको जोडीले उपाधि जिते । सुशील पौडेल र रवीन गुरुङको जोडी दोस्रो हुँदा सुरेन्द्र हमाल र सन्दीप अधिकारी तथा दुर्गा बराल र सञ्जीव लाभाजूको जोडी तेस्रो भयो । त्यसैगरी, पुष्पलाल ‘बि’ तर्फ लक्ष्मण न्यौपाने र अर्जुन गिरीको जोडीले अमृत पोखरेल र केशर नेपालको जोडीलाई फाइनल खेलमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
त्यसैगरी, नवीन गुरुङ र पुजन गुरुङ तथा शिव पोखरेल र निराजन थापाको जोडीले तेस्रो स्थान हासिल गर्यो । ४५ वर्षमाथि उमेर समूह भेट्रान्सतर्फ भूमि गुरुङ र राजेन्द्र गुरुङको जोडीले वनमाली आचार्य र कुमार गुरुङको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो । मनोजकुमार श्रेष्ठ र केशरबहादुर राय मल्ल तथा बुद्धिमान गुरुङ र नरबहादुर गुरुङको जोडी तेस्रो भए । विजयी खेलाडीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका हुन् । विशाल खड्का, शम्भु श्रेष्ठ, विधान अधिकारी र विशाल बस्नेत राष्ट्रिय खेलाडी हुन् ।
विजेता खेलाडीको समूहलाई २० हजार, उपविजतालाई १५ हजार तथा तेस्रो स्थान हासिल गर्ने समूहलाई नगद १० हजारसहित ट्रफी मेडल प्रमाणपत्र प्रदान गरिएको थियो । कुटि रिसोर्ट प्रालि, लेकसाइडले प्रतियोगिताको मुख्य प्रायोजन तथा कास्की जिल्ला ब्याडमिन्टन संघले प्राविधिक सहयोग गरेको हो ।
नेपाल राष्ट्रिय वाणिज्य संघ कास्की, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कास्की र उद्योग तथा व्यावसायिक महासंघ समन्वय समिति कास्कीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा एक सय ८४ खेलाडीले सहभागि जनाएको प्रमुख अफिसियल नरबहादुर गुरुङले बताए । शनिबारदेखि सञ्चालित प्रतियोगितामा कास्की, तनहुँ, बेनी, पर्वत, बागलुङलगायत जिल्लाका खेलाडीले सहभागिता जनाएको प्रतियोगिता संयोजक यदुनाथ अधिकारीले जानकारी दिए ।
प्रकाशित समय १८:५९ बजे