गृहपृष्ठ साफ च्याम्पियनसिप : नेपाललाई जित्नै पर्ने दबाब

साफ च्याम्पियनसिप : नेपाललाई जित्नै पर्ने दबाब

saff-newskarobar

बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार भुटानविरुद्ध मैदानमा उत्रदैछ । बंगबन्धु रंगशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे शुरु हुनेछ ।

पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न पनि आजको खेल जित्नै पर्ने दबाब छ । साफमा नेपाल र भुटान दुई पटक खेलेका छन् । जसमा दुवै पटक नेपालले जितेको छ । नेपालले सेमिफाइनलको सम्भावना जीवितै राख्न भुटानलाई हराउनुको विकल्प छैन । पराजित भए नेपाल पुनः समूह चरणबाट घर फर्कने छ ।

नेपालसहित पाकिस्तान, भुटान र आयोजक बंगलादेश रहेको समूह ‘ए’ मा पाकिस्तान र बंगलादेशले आ–आफ्नो पहिलो खेल जित्दै महत्वपूर्ण तीन÷तीन अंक जोडिसकेका छन् । त्यसैले पनि नेपाललाई जित्नै पर्ने दबाब रहेको ढाकामा रहेका एन्फा उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

‘आजको खेल नेपालका लागि गर या मरको अवस्था हो,’ उनले भने । नेपालले भुटानसँग सन् २००३ को साफमा प्रतिस्पर्धा गरेको थियो । ढाकामै भएको खेलमा नेपालले भुटानलाई २–० ले हराएको थियो । यस्तै नेपालले पाकिस्तानको कराचीमा सन् २००५ मा सम्पन्न साफमा भुटानलाई ३–१ ले हराएको थियो ।

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र नीराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् । रासस ।

प्रकाशित समय १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु