गृहपृष्ठ सांसदका अभिव्यक्ति चुनाव तयारीका भाषण जस्ता
सांसदका अभिव्यक्ति चुनाव तयारीका भाषण जस्ता
‘मुलुकी संहिता देउवाकै पालामा पारित भएको हो’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले संसदमा सांसदहरुको अभिव्यक्ति व्यक्तित्व र गरिमा सुहाउँदो नभएको टिप्पणी गरेका हुन् । बस्नेतले संसदमा सांसदहरुले तथ्यलाई ‘ट्विस्ट’ गरेर बोल्ने गरेको भन्दै साही विषयमा आउने समाचारलाई पुनः संसदमा प्रस्तुत गरिएको गुनासो गरे । उनले विशेष र शुन्य समायमा बोल्ने सांसदहरुको अभिव्यक्ति चुनाव तयारीताकाको भाषण जस्तो भएको टिप्पणी गरे ।
बस्नेतले सांसदहरुले तथ्य र प्रमाणविना बोल्न नहुने बताए । ‘तथ्यलाई ट्विस्ट गरेर माननीयहरु बोल्ने र ती कुराहरु अर्काे दिनका समाचार यहाँ आएर भन्ने गर्दा सदनको गरिमामाथिनै प्रश्न उठेको छ ।’
मुलुकी फौजदारी तथा देवानी संहिताका प्रावधानलाई लिएर सरकारको आलोचना भइरहेको बेला बस्नेतले त्यसको बचाउ गरे । उनले उक्त संहिता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नभई शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला पारित भएको उल्लेख गरे ।
‘नमुना संविधान ल्याएका छौं र प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरेका छौ’, उनले भने, ‘तर राजनीतिकरण गर्ने हिसावले प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न उठाउने गरिएको छ । यो संहिता अहिले होइन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नै पारित भएको हो । एक वर्षपछि भदौ १ गतेबाट संहिता कार्यान्वयन मात्रै भएको हो ।’
संहिताले चिकित्सकहरुको गरिमा र सम्मानलाई संहिताले आँच नपुर्याउने उनको जिकिर थियो । तर, उपचारमा लापरबाही गर्नेहरुलाई कारबाही गर्न कानुन आवश्यक भएको उनले बताए । ‘एउटा खुट्टाको अप्रेशन गर्ने ठाउँमा अर्को खुट्टाको र एउटा किड्नीको अप्रेशन गर्न थाल्दा अर्को किड्नीको अप्रेशन गर्ने जस्ता लापर्वाही नहोस् भनेर यो आएको जस्तो लाग्छ,’ बस्नेतले भने ।
प्रधानमन्त्रीको राजिनामा माग गरिएको विषयप्रति असहमति जनाउदै बस्नेतले त्यसलाई ‘हास्यास्पद’ भने । अध्यागमन विभागले एक व्यक्तिलाई विदेश जान रोकेकाले प्रधानमन्त्रीको राजिनामा माग्नु हास्यास्पद भएको उनको भनाई थियो ।
प्रकाशित समय १२:१९ बजे
















