गृहपृष्ठ नेपाल र भारतबीच फुटबल भिडन्त आज
नेपाल र भारतबीच फुटबल भिडन्त आज
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतीय टोलीसँग प्रतिस्पर्धा गर्दैछ । जापान ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलका लागि म्यानमारमा हुने एसियन छनोटको पहिलो खेलमा नेपालले भारतसँग खेल्न लागेको हो ।
म्यानमारको याङगोनस्थित थुवुन्ना स्टेडियममा नेपाली टोली दोस्रो चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउसो सवा २ बजे सुरु हुनेछ । यसअघि नेपालले चीनमा अभ्यास र मैत्रीपूर्ण खेल खेलेर म्यानमार पुगेको हो ।
भारतविरुद्ध मैदान उत्रँदा नेपाली टोली महत्वपूर्ण ३ अंकको खोजीमा हुनेछ । चीनामा खेलेका तीन खेलमध्ये नेपालले दुईमा हार र एकमा जित निकालेको थियो । बिहीबार भारतलाई हराउन सके नेपाललाई दोस्रो चरणको बाटो खुला हुने छ । छनोटको समूह ’सी’ मा रहेको नेपालले भारतपछि कार्तिक २५ गते घरेलु टोली म्यानमारको सामना गर्नेछ । अन्तिम खेल २७ गते बंगलादेशसँग खेल्नेछ ।
ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले खेल्नेछन् । समूह ’ए’ र ’बी’ मा पाँच पाँच राष्ट्र रहेको छ भने समूह ’सी’ र ’डी’ मा चार चार टोली रहेका छन् । प्रत्येक समूहका बिजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको कोटा पाउने छन् ।
प्रकाशित समय १३:२२ बजे

















