गृहपृष्ठ फाल्गुनन्द गोल्डकप आजदेखि, १० टोली सहभागी
फाल्गुनन्द गोल्डकप आजदेखि, १० टोली सहभागी
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आज पाँचथरको फिदिममा सुरु हुँदैछ ।
दशौँ संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ ले कर्णसिंह सोनाम मेमोरियल क्लब ताप्लेजुङसँग प्रतिस्पर्धा गर्नेछ । फिदिम माविको खेल मैदानमा यी दुई टोली दिउँसो २ः३० बजेदेखि आमने–सामने हुने बताइएको छ । प्रतियोगिता फिदिम स्पोर्टिङ क्लब र पाँचथर जिल्ला फुटबल संघको संयुक्त आयोजनामा हुन लागेको हो ।
पुस ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रोले २ लाख रुपैयाँ पाउनेछ । बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, उदीयमान खेलाडी र प्रत्येक खेलको म्यान अफ् द म्याचलाई जनही १० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । बेस्ट कोच र सर्वाधिक गोलकर्ताले भने १५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल दिइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफसँगै हिमालयन शेर्पा क्लब, ब्वाइज युनियन क्लब, जावलाखेल युथ क्लब, सुनसरी–११, मोरङ–११, झापा–११, कर्णसिंह सोनाम मेमोरियल क्लब ताप्लेजुङ र आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथरको सहभागिता रहने बताइएको छ ।
प्रकाशित समय ०९:३२ बजे

















