गृहपृष्ठ प्रेमध्वज प्रधान : नेपाली संगीतको गर्विलो इतिहास
प्रेमध्वज प्रधान : नेपाली संगीतको गर्विलो इतिहास
‘सन्तुष्ट छु । पछाडि फर्केर हेर्दा जिन्दगीमा असन्तुष्ट हुनुपर्ने कुनै काम गरेजस्तो लाग्दैन । त्यसैले मैले बाँचेको जीवनसँग सन्तुष्ट छु ।’
‘आफ्नो जीवनप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?’ भनी हामीले सोधेको प्रश्नमा वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानले दिएको उत्तर हो यो । उनको उत्तर जति जोसिलो लाग्छ उत्ति नै निष्कलंक पनि ।
बूढापाकाका शब्दमा चारबीस (असी वर्ष) काटिसकेका भए पनि उनको मुहारमा कान्ति भर्भराउँदो छ । इमानले बाँचेको उनको जिन्दगीसँग पछाडि फर्केर आफैंलाई हेर्दा, केही कथाहरु छन्, केही कहानीहरु छन् र केही उछ्वासहरु पनि छन् । तर, पश्चातापको क्लेससम्म पनि छैन । ८४ वर्ष पुग्दा पनि त्यसै चम्किलो र कान्तियुक्त देखिएको होइन उनको मुहार ।
०००
प्रेमध्वज प्रधानको जन्म १९९३ सालमा सिन्धुपाल्चोकको चाैतारामा भएको हो । उनको परिवार सामान्य नै हो तर केही भिन्न पनि । सामान्य यस अर्थमा कि उनको परिवार पनि औसत नेपालीको जस्तै थियो । भिन्न यस अर्थमा कि उनका बाबुआमाबीच प्रेम विवाह भयो, त्यो पनि अन्तरजातीय । बाबु प्रधान र आमा तुलाधर । विकासको यो अवस्थामा आइपुग्दा पनि अन्तरजातीय विवाहलाई सामान्य मान्न समाज तयार नभइरहेको यथार्थबीच तत्कालीन समाजमा उनका बाबुआमाको विवाहलाई सामान्य मान्न कसरी सकिन्थ्यो र !
प्रधानका बाबुआमाबीचको प्रेम सम्बन्धलाई उनको परिवारले स्वीकारेन । जसका कारण डिभोर्स भयो । ‘हजुरबा अलि स्ट्रङ टाइपको हुनुहुन्थ्यो,’ प्रधान भन्छन्, ‘उहाँलाई बुबाआमाको विवाह स्वीकार्य भएन र बुबाको अर्को विवाह गराइदिनुभयो ।’ वि. सं. २००१ साल, जतिबेला प्रेमध्वज ८ वर्षका थिए, बाबुआमाको डिभोर्स भयो । त्यसपछि उनको जीवनमा धेरै उतारचढाव आए ।

सांगीतिक माहोलयुक्त वातावरणमा हुर्किएका प्रधान आफू सांगीतिक क्षेत्रमा रहनुमा पारिवारिक प्रभाव रहेको बताउँछन् । ‘मेरा जिजुबाजे पनि संगीतको सौखिन हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘आमाको त संगीतमा विशेष रुची नै थियो ।’
प्रधानकी आमा प्राणदेवी गीत गाउँथिन् । ‘उहाँले रेडियो नेपालमा ६–७ महिनाजति गाउनुभयो, यो २००७ सालतिरको कुरा हो,’ प्रधान भन्छन्, ‘आमा तबला, हार्माेनियम बजाएर गाउनुहुन्थ्यो ।’ बाबुबाजे शास्त्रीय संगीतका सौखिन भए पनि प्रधानले गीत संगीतमा लाग्ने ‘ढाडस’ भने आमाबाट पाए ।
०००
‘राजा त्रिभुवनको पालामा टोल–टोलबाट खोजेर केटीहरुलाई दरबार लैजाने चलन थियो,’ उनी भन्छन्, ‘आमाले भन्नुभएको उहाँ १० वर्षको हुँदा त्यहाँ राखेको रे !’
त्यसरी लगेका ‘केटीहरु’लाई दरबारमा रहेका उस्तादहरुले संगीत र नाटक सिकाउँथे, उनीहरुले पछि अभिनय गर्नुपर्थ्यो- प्रधान विगततर्फ फर्किए । ‘दरबारमा उस्तादहरुले सिकाउँथे रे ! मिस्टेक भए कोर्राले हान्थे रे !’ आमालाई उदधृत् गर्दै उनले भने ।
आमाको संगीतप्रतिको गहिरो रुची र दरबारमा सिकेको संगीतलाई प्रधानले पैतृक सम्पत्तिको रुपमा संवर्धन गरे । उनको सांगीतिक बाल्यकालले आमाकै काखमा सस्नेह हुर्कने अवसर पायो । सोही जगमा उभिएको उनको सांगीतिक करियर सधैंभरि उचाइतिरै लम्किरह्यो ।
आमा दरबारमा गएर गाउने र अभिनय गर्ने गरे पनि तत्कालीन राजाहरुसँग प्रेमध्वजको विशेष सानिध्य भने रहेन । प्राणदेवीले पनि प्रेमध्वज सानै छँदा दरबार जान छाडिन् ।

उनको मूल घर सिन्धुपाल्चोक, मावली काठमाडौं । त्यसैले उनी बेलाबेला सिन्धुपाल्चोक गइरहन्थे । सिन्धुपाल्चोक जाँदा र काठमाडौं आउँदाका क्षणहरु उनको मानसपटलमा अहिले पनि ताजै छन् । ‘अरु बेला चौतारा पुग्न दुई दिन लाग्थ्यो,’ उनले सिन्धुपाल्चोक जाँदाको एउटा घटना सम्झँदै भने, ‘तर नारायण गोपालसँग गएको बेला भने एकपटक हामी एकैदिनमा पुगेका पनि छौं ।’
०००
गीत संगीतमा उनको रुची थियो, गाउँथे पनि, त्यसमा आमाको रुची पनि थियो । तर, गायक बन्छु नै भन्नेचाहिँ थिएन । उनलाई गायक बन्नु थिएन, बरु आफूले गाएका गीत राम्रोसँग गाउन पाए पुग्थ्यो । साधना त्यसैका लागि गर्थे- आफूले गाएको गीत राम्रोसँग गाउन सकूँ ।
०००
प्रेमध्वज सम्झन्छन्- वि. सं. २००७ सालमा रेडियो नेपालको स्थापना हुनुपूर्व नेपाली गीत संगीतको विकास हुनै सकेको थिएन । त्यसबेला काठमाडौंका केहीसँग रेडियो त थियो तर त्यसमा नेपाली गीत बज्दैनथ्यो । रेडियो नेपाल स्थापना नभएकाले नेपाली स्टेसन भए पो नेपाली गीत बज्नु ! जति बज्थे हिन्दी गीत बज्थे । रेडियोले टिप्ने भनेका पनि हिन्दी स्टेसनहरु नै थिए ।
जतिसँग रेडियो थियो उनीहरुले पनि सानो स्वरले बजाउँथे, ठूलो स्वरमा रेडियो बजेमा राणाले लैजान्थे । यस्तो बेलामा नेपाली संगीत कतिसम्म पिछडिनुपर्यो होला ? सहजै अनुमान गर्न सकिन्छ । हो, त्यस्तो बेला नेपाली संगीतले प्रेमध्वज प्रधान र प्रेमध्वज प्रधानहरु पायो । जसका कारण नेपाली संगीतमा आज हामीले गर्व गर्न लायक इतिहास निर्माण भएको छ ।
वि. सं. २००७ सालमा रेडियो नेपालको स्थापना भयो । रेडियो नेपालको स्थापना भए पनि नेपाली गीत संगीतहरु थिएनन् । ‘मलाई त्यतिबेलासम्म पनि नेपाली गीत संगीत हुन्छ जस्तो लागेको थिएन,’ प्रेमध्वजको यो भनाइले नेपाली संगीतको त्यसबेलाको दयनीय अवस्थाको चित्रण गर्छ ।
त्यसबेलाका सबै नेपाली कलाकार भारतीय संगीतबाट प्रभावित थिए । ‘रेडियो नेपालको स्थापना हुनुअघि भारतीय संगीतमात्र सबैले सुनेका थिए, ‘नेपाली संगीत कहाँ बज्थ्यो र सुन्न पाउनु !’ प्रधान सम्झन्छन् । अर्थात्, नेपाली संगीतलाई प्रेमध्वजहरुले शून्यबाट सुरु गरेर यहाँसम्म पुर्याए । वि. सं. २००८ देखि भने रेडियो नेपालमा नेपाली गीत बज्न थाले । त्यो पनि प्रत्यक्ष । किनकि, रेकर्डिङ प्रविधि नै थिएन । गायो, सकियो । फेरि गाउन, फेरि अभ्यास गर्नुपर्ने ।
२००७ सालमा रेडियो नेपालको स्थापना त भयो तर त्यसमा गएर कसरी गाउने, कसरी बजाउने ? यो प्रेमध्वजलाई खासै थाह थिएन । उनी त्यसरी गाउने, बजाउनेतर्फ धेरै लालायित पनि थिएनन् ।

यसबीचमा एउटा घटना घट्यो । ‘वि. सं. २००८ सालमा उस्ताद भैरवबहादुर थापाको कम्पोजमा ६ वटा गीत सुन्न पाएँ,’ उनले भने, ‘त्यसबेलादेखि ‘ए ! नेपाली गीत पनि हुँदो रहेछ’ भन्ने लाग्यो ।’ नेपाली गीत सुनेको पहिलो अनुभव हामीसँग बाँड्दै गर्दा उनको अनुहार अझ तेजिलो देखियो ।
रेडियो नेपालको स्थापनापछि पनि हिन्दी गीतहरु नै बज्थे । ‘नेपाली गीत नै थिएनन् के बज्नु !’ प्रेमध्वजले भने, ‘नातिकाजी, तारादेवीले पनि हिन्दी नै गाउनुहुन्थ्यो ।’
०००
प्रेमध्वज साथीभाइहरूसँग मिलेर पालैपालो गीत गाउँथे । त्यसैबीचमा वि. सं. २००८ मा प्रत्येक आइतबार रेडियो नेपालमा भ्वाइस टेस्ट (स्वर परीक्षा) हुन्छ भन्ने थाह पाए । भ्वाइस टेस्ट दिएको सुन्न उनी रेडियो नेपालतिर लागे ।
रेडियो नेपालको स्वरपरीक्षा दिइरहेको ठाउँमा गएर हेर्दा स्टुडियोमा एउटा माइक झुण्ड्याइएको र कसैले औरत (भारतीय चलचित्र)को ‘किसिने अपना मुझको बनाया…’ बोलको गीत गाउँदै गरेको सुने ।
विश्वज्योति हलनजिकै रहेको आमाको डेराबाट हलमा लाग्ने हिन्दी फिल्मका गीत सुनेका तन्नेरी प्रेमध्वजलाई पनि स्वर परीक्षा दिन मन लाग्यो । ‘आमाको कोठाबाट विश्वज्योति हलमा लागेका सबै गीत सुनिन्थे, मैले पाँच-सात चोटि सुनेर कण्ठस्थ पारेको थिएँ,’ प्रेमध्वज भन्छन्, ‘अहिले जस्तो रेकर्डिङ पनि थिएन, मोबाइल, युट्युब पनि थिएन, त्यसैले एउटा गीत कण्ठ पार्न फिल्मका गीत आउने बेलामा सुन्थेँ ।’
त्यसपछि उनले स्वरपरीक्षा दिए । ‘मैले त्यसबेला ‘दिल ये नादान’ चलचित्रको ‘जिन्दगी देने वाले सुन…’ बोलको गीत गाएर स्वरपरीक्षा दिएको थिएँ,’ जोशिलो पारामा उनले भने, ‘चार दिनपछि थाहा पाएँ, ‘क’ श्रेणीमा पास भएको रहेछु । त्यसपछि संगीतमा लाग्ने हौसला मिल्यो ।’ आफ्नो स्वरपरीक्षा उस्ताद गणेशलालले लिएको तथ्य भने उनले पछि मात्रै थाहा पाए ।
रेडियो नेपालले स्वरपरीक्षामा ‘क’ श्रेणीमा पास भएकाहरुलाई करारनामा बनाएरै महिनामा दुईवटा गीत गाउन दिन्थ्यो । त्यसरी गाउँदा ‘क’ श्रेणीलाई १०, ‘ख’ लाई ८ र ‘ग’ लाई ५ रुपैयाँ पारिश्रमिक दिइन्थ्यो । प्रेमध्वज ‘क’ श्रेणीमा पास भएकाले १० रुपैयाँ पाउँथे ।
पारिश्रमिकबाट आएको पैसा एक–दुई रुपैयाँ आफैं राख्थे र बाँकी आमालाई दिन्थे । ‘त्यो राखेको एक–दुई रुपैयाँ पनि खर्च हुँदैनथ्यो,’ प्रधानले भने, ‘चियाको चलन त धेरै पछि आएको हो, त्यही एक–दुई रुपैयाँ पनि के मा खर्च गर्नु र !’

स्वरपरीक्षा पास भएसँगै प्रेमध्वजका लागि रेडियो नेपालमा जाने र गाउने बाटो खुल्यो । उनी पनि हौसिए । ‘रेडियो नेपालले दिएको करारमा समय हुन्थ्यो । उक्त समयभन्दा एक–दुई घन्टा पहिले पुग्यो, अभ्यास गर्यो,’ प्रधान त्यसबेलाको इतिहास सम्झँदै भन्छन्, ‘त्यसपछि रेडियोमा गएर ‘लाइभ’ गाउनुपर्थ्यो, बाद्यवादक, गायक कसैले थोरै मात्र पनि बिगार्यो भने गयो ।’
अहिले रेकर्डेड जमानामा त्यसबेलाको जस्तो गम्भीरता हराउँदै गएको उनले बताए । ‘रेकर्ड त पछि मात्र आएको हो, हामी अभ्यास सकेर गीत गाउन बस्दा यति संवेदनशील हुन्थ्यौं कि रेडियोले त्यतिबेलैको लाइभ गर्थ्यो,’ प्रेमध्वज रेडियो नेपालका सुरुवाती दिन सम्झन्छन्, ‘वाद्यवादक लाइभ बजाइरहेको छ, गायक लाइभ गाइरहेको छ, प्रसारण लाइभ भइरहेको छ, अनि पो फिलिङ्स आउँथ्यो ।’
वास्तवमै, त्यो समयमा गीत लाइभ प्रसारण गर्नु चानचुने चुनौती होइन, ठूलो जोखिम उठाउन तयार हुनु पनि हो । तर, प्रेमध्वज प्रधानहरुको पुस्ताले त्यो जोखिम नउठाएको भए नेपाली संगीत आजको स्थितिमा आइपुग्ने थिएन । उनको पुस्ताले उठाएको हिम्मतको जगमा नेपाली संगीत उभिएको छ । ‘लाइभ गाउनुपर्थ्यो, एकचोटि बिग्रिए अर्कोचोटि गाउँछु भन्न पाइँदैनथ्यो, बिग्रियो भने गयो, त्यसैले हामी पूरै गम्भीरताका साथ लाग्थ्यौं,’ उनले भने, ‘जसका कारण गीत बिग्रन पाएनन् ।’

प्रेमध्वज रेडियो नेपालमा ‘लाइभ’ गाउन थाले र प्रत्येक पटक १०/१० रुपैयाँका दरले पैसा लिँदै गए । वि. सं. २०१३/१४ सालतिर रेकर्ड गर्ने मेसिन आयो । त्यो रेकर्ड गर्ने मेसिन रेडियो नेपाललाई डोनेसनमा आएको थियो ।
रेकर्डिङ गर्ने मेसिन आएपछि उनी लगायतका कलाकारहरुमा ठूलो खुसी छायो । कारण थियो– आफ्नो स्वर आफैंले सुन्न पाउने अवसर ! ‘आफ्नो गीत रेकर्ड गरेर आफूले सुन्न पाउने भनेपछि हामी खुब हौसियौं,’ प्रेमध्वजले भने, ‘त्यसअघि हामीले आफ्नो स्वर आफूले सुन्न पाएका थिएनौं ।’
रेकर्डिङ सुरु भएपछि प्रेमध्वजले भूपि शेरचनको शब्द तथा नातिकाजीको संगीतमा ‘यो नेपाली शिर उचाली…’ रेकर्ड गराए । यो नै उनको पहिलो रेकर्डेड गीत हो । त्यो गीत तारादेवी र प्रेमध्वजले गाएका हुन् ।

बाबुआमाको डिभोर्स भएकाले प्रेमध्वजले रोजीरोटीको पनि व्यवस्था गर्नुपर्ने थियो । उनी त्यसको खोजीमा लागे । उनलाई जीवन धान्न केही विकल्प खोज्नुपर्ने थियो ।
उनले पैसाको जोहो गर्न ट्युसन पढाउन थाले तीन ठाउँमा । एक ठाउँको १२ रुपैयाँ लिन्थे, तीन ठाउँको गरी ३६ रुपैयाँ हुन्थ्यो । यतिले आमाछोराको परिवार पालिएको थियो । तर, यसरी पनि नहुने देखेर उनी जागिरको खोजीमा लागे ।
जागिर खोज्दै उनी अमेरिकी लाइब्रेरी पुगेर सोधे– काम छ ?
जवाफ पाए– अहिले छैन, पछि भयो भने खबर गरौंला ।
उनको टाइपिङ राम्रो थियो, उनले केही समय त्यहाँ बिना पैसा टाइपिङ र फाइलिङको काम गरे । केही दिन काम गरेपछि ‘बिना पैसा काम लगाउन अफ्ठ्यारो भयो नआउनुस्’ भने । उनी जान छाडे ।
पछि त्यहीँ काम गर्न बोलावट भयो । सुरुमा उनले दैनिक ५ मोहोर पाउँथे । ‘काम गरेको दिनको पैसा आउँछ नगरेको दिनको आउँदैन काम गर्नुहुन्छ ? भनेर सोध्यो,’ प्रेमध्वजले भने, ‘काम चित्त बुझेमा ६ महिनापछि स्थायी हुन्छ भन्यो, मैले हुन्छ भनेँ ।’ त्यसबेला उनलाई १४–१४ दिनमा (एउटा मंगलबार छाडेर अर्को मंगलबार) तलब दिइन्थ्यो । त्यहाँ उनले ३३ वर्ष काम गरेर ५५ वर्षको उमेरमा रिटायर्ड भए ।
पहिलो पटक तलब लिँदाको त्यस्तो केही अनुभव छ ? भन्ने प्रश्नमा उनले छोटो जवाफ दिए, ‘दंग परेँ नि !’
हामीले फेरि प्रश्न गर्यौं, ‘पहिलो तलब के गर्नुभयो ? ‘आमालाई दिएँ, (हाँस्दै) उहाँले पाइन्ट किन भनेर मलाई नै दिनुभयो ।’
‘जागिर खान’ थालेपछि उनले पैसाको जोहो गर्न पाए । जसका कारण संगीतको तिर्खा मेट्न सजिलो भयो । उनी त्यसबेला आफू ‘संगीतको अम्मली’ भएको अनुभव गर्छन् ।
दुःख गरेर बचाएको पैसा लिएर भारत जाने र गीत रेकर्ड गरेर ल्याएर सस्तोमा बेचेको रोमाञ्चकारी घटना उनले अझै बिर्सेका छैनन् । ‘भारु ८ सय रुपैयाँ बोकेर भारत गएर गीत रेकर्ड गरेर ल्याएँ, यहाँ ल्याएर पाँच/पाँच रुपैयाँमा बेचिदिएँ,’ मुसुमुसु हाँस्दै उनले भने, ‘अहिले भन्दा मान्छेलाई पत्याउन गाह्रो हुन्छ होला तर हामीमा संगीतप्रति त्यति धेरै अम्मल थियो ।’
त्यसबेलाको दरबारले नेपाली संगीतलाई प्राथमिकता दिन्थ्यो । गीत रेकर्डिङका लागि कलाकारलाई भारत पनि पठाउँथ्यो । दरबारले २० हजार लगानी गरेर इन्द्रेणी रेकर्डिङ स्थापना भयो, त्यसको प्रमुख उत्तमलाल श्रेष्ठ हुनुहुन्थ्यो । पछि त्यसैलाई रत्न रेकर्डिङ बनाइयो । त्यसबेला २० हजार भनेको ठूलो रकम थियो– प्रेमध्वजले एकै स्वासमा सबै कुरा भने ।
दरबारसँग भने उनी उत्ति नजिक रहेनन् । २०२०/२१ सालतिर एक–दुईचोटि दरबार गएको मात्र सम्झना छ उनलाई । बच्चु कैलाश महेन्द्रलाई सबैभन्दा मन पर्ने गायक हुन् भन्नेचाहिँ उनलाई थाहा छ । ‘त्यसबेला दरबार जाँदाको मजाचाहिँ के भने हामी बसेको स्थानमा राजा महेन्द्र आएपछि पिन ड्रप साइलेन्स हुन्थ्यो, हामी गायकहरुलाई त्यस्तो शान्त वातावरणमा गाउन खुब मजा हुन्थ्यो,’ प्रेमध्वजले राजदरबारसँग जोडिएका प्रसँग सम्झँदै भने, ‘पछि वीरेन्द्र आएपछि त्यस्तो शान्त वातावरण बनेको सम्झना छैन ।’
राजा महेन्द्रले त्यसरी गाउनेहरुलाई ५०० र तबला बजाउनेलाई ३०० दिने चलन रहेछ, वीरेन्द्र आएपछि त्यसलाई बढाएर १००० पुर्याइएछ । ‘तपाईंले पनि त्यसरी पैसा पाउनुभएको थियो ?’ भन्ने प्रश्नमा उनले भने, ‘महेन्द्रको पालामा त्यसरी लिएको सम्झना छैन, तर वीरेन्द्रको पालामा भने एकपटक हो कि दुईपटक लिएको छु ।’

त्यसबेला प्रेमध्वज गायनमा स्थापित भइसकेका थिए, जतिबेला अमेरिकाबाट चारजना ‘फोक सिंगर’ले स्टेजमा उभिएर गिटार बजाउँदै गाएको उनले पहिलो पटक देखे । त्यो देखेपछि उनलाई पनि गिटार बजाउन औधी रहर लाग्यो । ‘एक्लैले पर्फमेन्स दिन पनि सकिने, अरु बाजागाजा नभए पनि हुने,’ गिटारको प्रसँग सम्झँदै प्रेमध्वज भन्छन्, ‘त्यसअघि गिटार नदेखेको भए पनि त्यो देखेपछि मेरो चाख गिटारतिर बढ्यो ।’
त्यसपछि उनले गिटार मगाए, त्यसको दुई सय रुपैयाँ दिए । रामशरण दर्नालसँग चार महिना सिके, त्यसबेला जम्मा माइनर र मेजर कर्ड सिके । त्यसैको भरमा राष्ट्रिय नाचघरमा वि. सं. २०२० सालमा भएको आधुनिक गीत प्रतिस्पर्धामा भाग लिए र प्रथम भए ।
प्रथम पुरस्कारबापत महेन्द्रले उनलाई सुनको लेपनसहितको मेडल लगाइदिए । प्रेमध्वज भन्छन्, ‘त्यसबेला मैले ‘गोरेटो त्यो गाउँको…’ भन्ने गीत गाएको थिएँ ।’
त्यसबेला रेडियो नेपालले दिने १० रुपैयाँबाहेक गीत गाएबापत उनी पारिश्रमिक लिँदैनथे । ‘पैसा लिने चलन नै थिएन, लिइएन । संगीत सोखको विषय थियो, व्यावसायिक नै थिएन, हामी पैसा कमाउन संगीतमा लागेका थिएनौं । त्यसैले आफूले गाएको गीत राम्रो भए पुग्थ्यो,’ उनले भने ।
०००
प्रेमध्वज प्रधानले सुगम संगीत त गाएका छन् नै सँगै मातृभाषाका गीत, स्वदेशगान र चलचित्रका गीत पनि गाएका छन् । बहुचर्चित ‘राजमति कुमती…’ पनि उनैले गाएको गीत हो ।
उनले गाएका स्वदेशगान पनि उत्तिकै चर्चित छन् । ‘देशको लागि नबग्ने रगत होइन त्यो पानी हो…’ जस्ता गीत सुन्दा अहिले पनि जीउ सिरिङ्ग हुन्छ, त्यस्ता गीत गाउँदा बढी जोसिएर सुरताल खुस्काएका अनुभव छन् ? भन्ने प्रश्नमा प्रेमध्वज भन्छन्, ‘जहिले पनि जोसका साथ गाउने हो । गम्भीरताका साथ गाउने हो । त्यसैले त्यस्तो कहिलै भएन । हामी जतिबेला पनि गीतमा पूरै डुबेर गाउँथ्यौं, त्यसैले त्यस्तो सुरताल खुस्कने भन्ने कहिल्यै भएन ।’

माइतीघर फिल्म बन्दै गर्दा उनलाई पनि रेकर्डिङका लागि भारत लैजाने कुरा भयो । अफिसमा बिदा लिनु भनियो । जयदेव, प्रदीप रिमाल, प्रोड्युसर, डाइरेक्टर सबै थिए । ‘म प्यार बेचिदिन्छु…’ र ‘प्राणभन्दा प्यारो माइतीघर…’ यी दुईटा गीत त्यही बस्दाबस्दै कम्पोज गरिए । ‘हामी सबैजना थियौं त्यतिबेला,’ प्रेमध्वजले विगत सम्झिए, ‘सन् १९६५ तिर हो यो । त्यसरी गीत रेकर्ड भएपछि म एक महिनापछि फर्किएँ, दंग भएर फर्किएँ भनौंन (हास्दै) । त्यहीँ सुन्दै रेकर्ड गर्न पाउने हुँदा त दंग हुने भइगयो नि !’
०००
वि. सं. २०१० सालमा प्रेमध्वजले एसएलसी दिए । तर, पास हुन सकेनन् । अरु सबैमा पास भएँ । संस्कृतमा चाहिँ १५ आउनुपर्नेमा ८ मात्रै आएछ । त्यसपछि उनले पढ्न छाडे र गाउन थाले । पछि बम्बई गएपछि भने उनलाई ‘ओहो ! पढ्नुपर्ने रहेछ’ भन्ने लाग्यो र फर्किएर पुनः २०१३ मा एक वर्ष पढेर एसएसी दिए । यसपटक उनी पास भए ।
०००
प्रेमध्वजले गीत कहिल्यै छानेनन् । ‘म त्यस्तो चुजी छैन, यसो हेर्यो राम्रो लाग्यो भने गाउँथे, चित्त बुझेन भने बरु करेक्सन गराउँथेँ । यो भएन भनेर कसैलाई पनि रिजेक्ड गरेको जस्तो लाग्दैन । रिजेक्ड गर्दा कति अपेक्षा लिएर आएको हुन्छ, त्यसैले रिजेक्ड गरिनँ बरु यसो गरौं भनेँ,’ उनले भने । उनले आफैंले भने गीत लेखेनन् ।

अहिलेको सांगीतिक माहोलले प्रेमध्वजलाई त्यति धेरै सन्तुष्टि दिएको छैन । अहिले ट्रयाक सिस्टमले गायक, संगीतकारलाई त सजिलो बनाएको छ तर संगीतको लालित्य मर्दै गएको उनको विश्लेषण छ ।
अलि सोझिएर बस्दै ठट्यौलो पारामा उनले भने, ‘अहिले त तपाईं पनि गायक बन्न सक्नुहुन्छ । १५–२० चोटी गाउँदा एउटा मिले त भइगयो नि ! ऊ बेलाको जस्तो लाइभ होइन ।’
गायक, संगीतकारले मेहनत गर्न छाडेसँगै गीतले श्रोताको हृदय छुन छाडेको उनको बुझाइ छ । ‘त्यसबेलाका गीत १० पटक सुनेपछि तपाईंलाई ११औं पटक सुनौं, सुनौं लाग्छ,’ प्रेमध्वज भन्छन्, ‘अहिलेका गीत चार–पाँचपटक सुनेपछि पुग्यो जस्तो लाग्छ, किन ? केही त कारण होला नि !’
पहिले गीतकारहरुले धेरै मेहनत गरेर गीत लेख्ने गरेको स्मरण गर्दै उनी भन्छन्, ‘अहिलेका धेरैजसो गायक, गीतकार, संगीतकार एउटै व्यक्ति छन्, यसले गीत संगीतको मधुरता कसरी वृद्धि हुन्छ ? आफैं अनुमान गर्नुस् ।’
नेपाली संगीतमा तत्कालै हिट हुन खोज्ने र साधना गर्न अल्छी मान्ने प्रवृत्ति हावी हुँदै गएकामा उनको असहमति छ । ‘हामीलाई केही चाहिएको थिएन, रेडियोमा लाइभ गाइन्थ्यो, रेकर्ड हुने व्यवस्था थिएन, त्यो बेला हामीले केका लागि गायौं होला ?’ उनी भन्छन्, ‘साधना र लालित्य भएन भने संगीत कर्णप्रिय हुन सक्ला र !’
(तस्बिर ः सुनिल प्रधान)
प्रकाशित समय १०:१६ बजे

















