गृहपृष्ठ नेपाल-यूएई टि-२० शृंखलाको निर्णायक खेल आज, सिरिज जित्ने नेपालको लक्ष्य

नेपाल-यूएई टि-२० शृंखलाको निर्णायक खेल आज, सिरिज जित्ने नेपालको लक्ष्य

Paras-khadka-newskarobar

नेपाल र यूएईबीच टि-२० शृंखलाको निर्णायक खेल आज हुँदैछ । यसअघिका दुई खेलमा एक/एक जितको नतिजा निकालेका नेपाल र यूएई दुवै सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रँदैछन् । खेल नेपाली समयअनुसार २:४५ बजे सुरु हुँदैछ ।

पहिलो खेलमा २१ रनको हार व्यहोरेको नेपालले दोस्रो खेलमा यूएईलाई ४ विकेटले पाखा लगाउँदै सिरिज बराबरीमा पुर्याएको हो । शुक्रबार भएको दोस्रो खेलमा यूएईलाई ४ विकेटले पराजित गर्दै टि-ट्वान्टी शृंखला आफ्नो पक्षमा पार्ने योजनामा नेपालले फड्को मारेको छ । नेपालको जितमा दिपेन्द्रसिंह ऐरीको प्रदर्शनले सानदार रह्यो ।

यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालका लागि दिपेन्द्रसिंह ऐरीले नटआउट सर्वाधिक ४७ रन बनाए । पवन सर्राफले १८ र करण केसीले २० रन जोडे ।

यसअघि, टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनाएको थियो । अविनाश बोहराले तीन तथा सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिएपछि यूएईले ठूलो स्कोर बनाउन सकेन ।

पहिलो ओभरको अन्तिम बलमै सोमपाल कामीले इस्फाक अहमद पेभेलियन फर्काएपछि यूएईको विकेट पतनको शृंखला सुरू भएको थियो । सोमपालले आफ्नो दोस्रो ओभर बलिङ गर्दै यूएईका गुलाम सब्बरलाई पनि घर फर्काइदिएका थिए ।

सन्दीप लामिछानेले घातक बलिङ गर्दै यूएईका मोहम्मद उस्मान र सैमान अनवरलाई छैटौं ओभरका अन्तिम दुई बलमा कप्तान पारस खड्काबाट क्याच आउट गराएपछि यूएईको इनिङ धर्मराएको थियो । अविनास बोहराले सिपी रिजवान, अमिर हायात र मोहम्मद नाविदलाई आउट गरेका थिए । यूएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडेका थिए ।

यसअघि भएको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो । शीर्षक्रमको ब्याटिङ नचल्दा नेपालले खेल गुमाउन पुगेका थियो ।

यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । वसन्त रेग्मीले २ विकेट लिँदा सोमपाल कामी र अभिनाश बोहोराले १–१ विकेट हात पारेका थिए ।

नेपाल पराजित भए पनि क्रिकेटर सन्दीप जोरा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड बनाएका थिए । १७ वर्ष १०३ दिनको उमेरमा युएईविरुद्धको डेब्यू खेलमा उनले अविजित ५३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले यूएईलाई २-१ ले पराजित गरिसकेको छ ।

यूएईविरुद्धको एकदिवसीय सिरिज २–१ ले नेपालकाे पक्षमा

 

नेपालको ओपनिङमै समस्या

नेपालले हरेक खेलमा ओपनिङ ब्याट्सम्यानको समस्या भोग्दै आएको छ । प्रशिक्षक क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले प्रत्येक खेलको ओपनिङमा नयाँ-नयाँ खेलाडीलाई प्रयोग गरे पनि सफलता हात लागेको छैन । ओपनिङ जोडी जम्न नसक्दा पछिल्ला क्रमका ब्याट्सम्यानलाई सधैं दबाब पर्ने गरेको छ ।

प्रकाशित समय ०७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु