गृहपृष्ठ मुख्यमन्त्री रनिङ शिल्ड : पुरुषतर्फ रुकुम र महिलातर्फ कालीकोटलाई
मुख्यमन्त्री रनिङ शिल्ड : पुरुषतर्फ रुकुम र महिलातर्फ कालीकोटलाई
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ रुकुम पश्चिम र महिलातर्फ कालीकोटले हात पारेका छन् ।
आइतबार भएको फाइनलमा रुकुम पश्चिमले पुरुषतर्फ सल्यानलाई ३-० ले हराउँदै एक लाख रुपैयाँ आफ्नो पोल्टामा पारेको छ । रुकुमले सल्यानसँग समूह चरणमा भोगेको हारको बदला लिँदै उपाधि चुमेको हो ।
पहिलो खेलमा सल्यानलाई रुकुमले २८-२६,२५-१९ र २५-२३ को अन्तरमा पराजित गर्दै पहिलो पटको मुख्यमन्त्रीकपको उपाधि उचालेको हो । उपविजेता सल्यानले ७५ हजारमा चित्त बुझाएको छ भने घरेलु टोली सुर्खेत तेस्रो बनेको छ । सुर्खेतले ५० हजार पाउने छ ।
समूह चरणको खेलबाट लगातार जित हात पार्दै शीर्षस्थानमा रहेको सल्यान फाइनलमा हार भोग्न बाध्य भयो । सुरुका खेलमा राम्रो प्रर्दशन गरेको सल्यान अन्तिम समयमा आफूलाई सम्हाल्न नसक्दा उपाधि होडबाट चुकेको हो ।
यस्तै महिलातर्फ कालीकोटले रुकुम पश्चिमलाई ३–० कै सोझो सेटमा हराउँदै उपाधिसँगै एकलाख रुपैयाँ हात पारेको छ । उपविजेता रुकुमले ७५ र तेस्रो भएको दैलेखले ५० हजार रुपैयाँ हात पारेका छन् ।
आयोजक सामाजिक विकास मन्त्रालयले प्रतियोगितामा करिब ५५ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।
यस्तै प्रतियोगितामा पुरूषतर्फ रुकुमका डायमण्ड खड्का र महिलातर्फ कालिकोटका पवित्रा शाही उत्कृष्ट खेलाडी बनेका छन् । उनीहरुले सम्मान र नगद रु ३ हजार ७ सय रुपैयाँ पुरुस्कार हात पारेका छन् ।
यसैबीच खेल समापन गर्दै कर्णालीका आन्तरिक मामिलामन्त्री प्रकाश ज्वालाले यसक्षेत्रको खेलको विकासका लागि खेलुकुदमा लगानीमा जोड दिनुपर्ने बताए । उनले सीमित स्रोत र साधनकाबीच पनि कर्णालीमा खेलकुदमा राम्रो भएको भन्दै खेलमैदानको विस्तार गर्नुपर्ने बताए ।
कार्यक्रममा कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले प्रदेशलाई खेलकुदको क्षेत्रबाट पहिचान गराउने भन्दै अब भौतिक संरचनाहरु निर्माण कार्य सुरु गर्ने जानकारी दिए । उनले भने, ‘हामी खेलकुद सम्बन्धी ऐन ल्याउन लागेका छौं । साथै आउदो आर्थिक वर्षदेखि अन्तरप्रदेशस्तरिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएका छौं ।’
समापन्न कार्यक्रममा कर्णालीका १० जिल्लाका खेलाडी खेलकर्मी लगायत विभिन्न क्षेत्रका प्रमख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रकाशित समय १९:४५ बजे

















