गृहपृष्ठ थ्रीस्टारलाई आहा-रारा गोल्डकपको उपाधि, गोलरक्षक न्यौपाने नायक
थ्रीस्टारलाई आहा-रारा गोल्डकपको उपाधि, गोलरक्षक न्यौपाने नायक
गत वर्षको उपविजेता थ्रीस्टार क्लबले १७औं संस्करणको आहा-रारा गोल्डकप फुटबल प्रतियोगिता २०७५ को उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा आर्मीलाई सडन डेथमा पराजित गर्दै साविक उपविजेता थ्रीस्टार यसपालीको उपाधिसहित आहा–रारामा पाँचौं पटक उपाधि जित्न सफल भएको हो ।
९० मिनेटको निर्धारित खेलमा दुबै तर्फ एक÷एक गोल र ३० मिनेटको अतिरिक्त खेलमा पनि थप एक एक गोलले खेल बराबरीमा पुगेसँगै खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समान ४ गोलपछि खेल निर्णयाकको अन्तिम विकल्प सडनडेथमा पुगेको हो । आहा रारा गोल्ड कपमा अभाग्य सावित भएको त्रिभुव आर्मी क्लव यस बर्ष पनि थ्रीस्टार क्लबसँग पराजित हुँदा उपविजेतामै सीमित हुनुपर्यो । विजेता थ्रीस्टारले उपाधिसहित ८ लाख १ हजार र उपविजेता आर्मीले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । विजेताहरुलाई कार्यक्रममै नगद पुरस्कार हस्तान्तरण गरिएको छ ।
त्रिभुवन आर्मी क्लबको उपाधि जित्ने सपनामा सडनडेथमा थ्रीस्टारका मिक्छेन तामाङको पेनाल्टी प्रहार निर्णायक बन्न पुग्यो । विपक्षी आर्मीका विकास खवासको प्रहार भने थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट बचाउ गरे । पेनाल्टी सुटआउटमा थ्रीस्टारका लागि रञ्जित धिमाल, रुपेश केसी, क्याप्टेन विक्रम लामा, अनन्त तामाङको प्रहार गोलमा परिणत हुँदा सुनिल राईको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । आर्मीका लागि गोलरक्षक विकास कुथुको प्रहार गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट बचाउ गरि दिए । क्याप्टेन भरत खवास, जर्ज प्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतको पेनाल्टी सुटमा गोल गरे ।
आर्मीले पाँचौं मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा चौथो पटक फाइनल पुगेर पनि उपाधि चुम्ने सपना अधुरै रह्यो । आर्मी यसअघि सातौ, आठौं र चौधौं संस्करणमा फाइनल खेलेको थियो । आर्मीका लागि टेकबहादुर बुढाथोकीले सुरुवाती गोल गरेकोमा पहिलो हाफको इन्जुरी टाइममा थ्रीस्टारले बराबरी खेल पुर्यायो । रञ्जित धिमालले पेनाल्टीमार्फत उत्कृष्ट गोल गरे । थ्रीस्टारका दिपक गुरुङले डिएरियामा ह्यान्ड गरेपछि रेफ्रीले दिएको पेनाल्टीको अवसरलाई धिमालले सदुपयोग गरेका हुन् ।
निर्धारित समयमा १–१ को बराबरी पछि आर्मीले पुनः अग्रता लिएको थियो । एक सय ५ औ मिनेटमा आर्मीका सन्तोष तामाङको पासमा बिमल पाण्डेले हेड मार्फत गोल गर्दै गोलअन्तर २–१ पु¥याएकोमा लगत्तै थ्रीस्टारले गोल फर्काएको थियो । जसमा विदेशी खेलाडी पिटर सेगुनको गोल गर्दै खेल टाइब्रेकरमा पु¥याएका हुन। खेलको एक सय ६ मिनेटमा मैदानमा अभद्र व्यवहार गरेको भन्दै रेफ्रि सुदिश कुमार पाण्डेले थ्रीस्टारका सुनिल वललाई रेड कार्ड देखाउदै मैदानबाट बाहिर पठाएका थिए । खेलमा केही समय तनाव भएसंगै आर्मीले आफ्नो खेलाडीहरुको खेल्ने समूहमा नाम उल्लेख नभएको आशिष शाक्यलाई मैदानमा पठाएका थिए । पछि विपक्षी टिम थ्रीस्टार र अपिसियलले जानकारी गराएर शाक्यलाई मैदानबाहिर पठाएसँगै दुबै टिममा १०÷१० जना खेलाडीमा सीमित भएका थिए ।
प्रतियोगितामा थ्रीस्टारका एलन न्यौपाने नायक भने । उनी प्रतियोगितामा उत्कृष्ट खेलाडी सहित उत्कृष्ट गोलरक्षक समेत घोषित भए । साथै उनले फाइनल खेलमा म्यान अफ दी म्याचको उपाधि हाफ्नै पोल्टामा पार्न सफल भए । सर्वोत्कृष्ट खेलाडी वापत उनले स्कूटर हात पार्न सफल भए भने उनले उत्कृष्ट गोलकीपर वापत नगद १५ हजार र म्यान अफ दी म्याच पुरस्कार स्वरुप १० हजार रुपैयाँ पुरस्कार पाए ।
यस्तै सर्वाधिक गोलकर्ताको उपाधि थ्रीस्टारका अनिल गुरुङ (३ गोल) हुँदै २५ हजार पाए । अनुशासित एपीएफ हुँदा आर्मीका बिमल पाण्डे उत्कृष्ट डिफेन्स, सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर, नवयुग श्रेष्ठ उत्कृष्ट स्ट्राइकर र थ्रीस्टारका मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । एपिएफलाई भने १० हजारको साथमा ट्रफि प्रदान गरिएको थियो ।
आयोजक सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा राखेप सदस्यसचिव केशवकुमार बिष्ट, राखेप सदस्य राजेश कुमार गुरुङ, मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, पृथ्बीराजमार्ग बस संचालक समितिका अध्यक्ष ऐन कुमार साई, महासचिव योगेन्द्र बहादुर बस्नेत, आयोजक क्लब अध्यक्ष केशवबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका हुन् ।
गत फागुन ९ देखि सुरु भएको प्रतियोगितामा यसपालि मात्र १० टिमको सहभागिता थियो । फाइनलमा प्रमुख अतिथि राखेप सदस्य सचिव एवं सांसद केशवकुमार बिष्टले प्रतियोगिता सकिएपछि आईतबार देखि नै पोखरा रंगशालाको निर्माणले दू्रत गति लिने बताए । पोखरामा १८ हजार दर्शक क्षमताको अत्याधुनिक प्यारापिटसहितको फुटवल रंगशाला निर्माण हुने उनले दाबी गरे । कास्कीमा यस वर्ष खेलकुदको लागि मात्र एक अर्व ७० करोडको बजेट विनियोजन भईसहेको उनले बताए । आगामी दुई साताभित्र नेपालगन्जमा फिटिङ गर्न मिल्ने प्याराफिटसहितको रंगशाला निर्माणको काम सुरु हुने सदस्य सचिव विष्टले बताए । आगामी नवौं राष्ट्रिय बहत खेलकुद कास्कीमा हुने उनले उद्घोष गरे ।
प्रकाशित समय २०:२७ बजे

















