गृहपृष्ठ ज्ञानेन्द्रको शतकीय योगदानमा भुटानविरुद्ध नेपालको फराकिलो जित
ज्ञानेन्द्रको शतकीय योगदानमा भुटानविरुद्ध नेपालको फराकिलो जित
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको विशाल अन्तरले पराजित गरेको छ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत टी–२० क्रिकेटमा नेपालले भुटानमाथि फराकिलो जित हासिल गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले तीन विकेटको क्षतिमा २ सय ३६ रनको विशाल योगफल तयार पारेको थियो । अन्तर्राष्ट्रिय टी–२० म्याचमा यो १८औँ उच्च स्कोर हो । जवाफी ब्याटिङमा उत्रिएको भुटानले ६ विकेटको क्षतिमा ९५ रनमात्र बनाउन सक्यो ।
नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा ९ छक्का र ५ चौका प्रहार गर्दै सर्वाधिक १०७ रन बनाए । अन्तर्राष्ट्रिय टी-२० मा यो उनको पहिलो शतक हो ।
पूर्वकप्तान पारस खड्काले अर्धशतकीय पारी खेल्दै २८ बलमा ५७ रन बनाए । उनले एक छक्का र ९ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए ।
भुटानका लागि कर्मा दोर्जीले ४ ओभरमा ४५ रन खर्चिएर दुई विकेट लिए भने तोब्देन सिङ्ग्येले ४ ओभरमा ५३ रन दिएर एक विकेट हात पारे । भुटानका लागि रङजुङ्ग मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए । यस्तै, सोनम तोब्गेले १५ र तोब्देन सिङ्ग्येले ११ रन बनाए ।
बलिङतर्फ नेपालका लागि पारस खड्काले दुई विकेट लिए भने करण केसी, ललित राजवंशी र पवन शर्राफले एक-एक विकेट लिए ।
प्रकाशित समय १२:३५ बजे

















