गृहपृष्ठ चौरासी व्यञ्जन : अवधारणा र विशिष्टता

चौरासी व्यञ्जन : अवधारणा र विशिष्टता

चौरासी व्यञ्जन प्रतिकात्मक मात्रै हो ?

चौरासी व्यञ्जन केवल कुनै साङ्केतिक भनाइ मात्र नभएर कम्तीमा चौरासी प्रकारका विशिष्ट खानाका परिकार तथा पेयहरू संलग्न गरी तयार गरिएको खानाको थाली हो । यसमा अयुर्वेदको चर्कसंहिता सूत्रस्थानाको अन्नपना विधिले तोकेको मानिसको हरेक छाकमा अनिवार्य संलग्न गर्न सल्लाह दिइएको दश प्रकारका खाना मुख्य आधार परिकारमा रहन्छ । जन्मदिनको अवसरमा गरिने देवसी शाकाहारी थालीका रूपमा बनाइने ५६ भोगअन्तर्गतका ५६ प्रकारका खाद्य तथा पेय यसको साझा परिकार हो ।

भोजन ग्रहणकर्ताको तत्कालीन शारीरिक, मानसिक, मनोवैज्ञानिक जरुरत तथा निजी इच्छाको पूर्ति हुनेगरी उपलब्ध गराइने कम्तीमा अन्य १८ वटा अतिरिक्त पौष्टिक, कामोत्तेजना वर्धक, मानसिक ऊर्जा वर्धक, नशा वर्धक, आत्म स्वाभिमान प्रदायक शाकाहारी तथा मांसाहारी परिकार संलग्न राजसी परिकारहरू संलग्न गरी बनाइने परम्परागत भव्य थालीको रूपमा चौरासी व्यञ्जन स्थापित भएको बुझिन्छ ।

 

परम्परागत रूपको सात्त्विक, राजसी र तामसी व्यञ्जनको वर्गीकरण

परम्परागत रूपमा खानालाई सात्त्विक, राजसी र तामसी गरी तीन गुण दिने परिकारमा विभाजन गर्ने गरिन्थ्यो ।सात्त्विक गुण दिने खाना मानिसलाई जीवित राख्न जरुरी हुने जीवन्त शक्ति र जीवनयापनको लागि जरुरी हुने शरीर सञ्चालनको शक्ति, स्वस्थ शरीरको स्वस्थ नियमित कायम राख जरुरी शक्ति तथा आधारभूत आनन्द एवं धन्यताको महसुस गर्न जरुरी हुने मनोवैज्ञानिक सन्तुष्टिको जरुरतको पूर्ति गर्ने प्रकृतिको हुन्छ ।

सात्त्विक गुणका खाना प्राकृतिक रूपमा पैदा गरिएका, ताजा, काँचै वा बफाएका वा हल्का प्रशोधन गरिएका, प्राकृतिक रूपमा जस्तो स्वादमा उपलब्ध हुन्छन् त्यस्तै स्वाद दिने, स्वादिला, समय लिएर स्वाद लिई‑लिई ठिक्क मात्रामा खाइने खाद्यपदार्थ हुने गर्छन् । यसमा पूर्ण गेडा हुने गहुँ, पोलिस नगरिएको चामल, जौ, दाल, गेडागुडी, नट, सिड पर्छ । मिलमा पिसेको तेल, ताजा फलफूल, ताजा सागपात, हर्ब, मह, म्यापल, गुड, सख्खर जस्ता प्राकृतिक चिनी, दूध, क्रिम, नौनी, घिउ, दही, लस्सी आदि राखिएका छन् । यिनीहरूलाई दैनिक जीवनको आधारभूत आवश्यकता पूर्ति गर्न सक्षम रहने परिकारको रूपमा लिने गरिन्थ्यो ।

राजसी गुणका खानाहरू शारीरिकभन्दा धेरै कुनै निश्चित प्रकारको पौष्टिकता दिने र दिमागलाई जरुरतभन्दा धेरै उत्तेजक प्रभाव दिने प्रकृतिका हुन्छन् । यस्ता खानाले अधिक नशा दिने, उच्च कामुकता उत्पन्न गरिदिने, कुनै चिज प्राप्त गर्न उच्च अभिलाषा बढाइदिने, जोस बढाउने, लोभ पैदा गरिदिने, स्वार्थ पैदा गरिदिने, प्रतिस्पर्धी भावना जगाइदिने, क्रोध वृद्धि गर्ने, ईर्ष्या वृद्धि गरिदिने आदि जस्ता कुनै एक वा सोभन्दा धेरै स्वभाव विकास गर्न सहायक हुने गर्छन् ।

प्रशस्त मसला, सस, ड्रेसिङ तथा किन्डमेन्टहरु प्रयोग गरी बनाइएका तीष्ण खाना जस्तै: पिरो, तितो, टर्रो, नुनिलो, अमिलो प्रकृतिका खाना यस्ता गुणका ठानिन्छन् । तितो, सुक्खा र खडा मुख पोल्ने वा मुखमा एक प्रकारको झड्का दिने खाना यो वर्गका चर्चित खाना हुन् । हतार‑हतार कम समय लिएर मिठो, च्याट्टचुट्ट मिठो खाएर आफ्नो गन्तव्यतिर लाग्न सकिने गरी यस्ता खाना बनेका भेटिन्छन् ।

सङ्क्षेपमा राजसी गुणको परिकारमार्फत मानिसको विवेक निर्माण गर्ने दिमागको लिम्बिक भाग ह्याक गर्ने र समय सन्दर्भको जरुरतअनुरूप प्रभावमा लिने नियत रहन्छ । यसमा मूलत: सकारात्मक नतिजा दिने नियतमा शरीरको तागत, यौन वा क्रिडा, मानसिक, मनोवैज्ञानिक र निर्णय शक्ति आदि वृद्धिमा सिधै योगदान पुर्‍याउने भोजन वा उक्त खुबी थप्ने हैसियत राख्ने पूरक खाद्यपदार्थ (सप्लिमेन्ट) संलग्न भोजनहरू निर्माण गर्ने गरिन्छ ।

यस्ता खानामा प्याज, लसुन, मुला, अमिला फलफूल, कागती, कफी, चिया, सफ्ट ड्रिङ्क, सुर्ती, गाँजा जस्ता नशा तथा उत्तेजना दिने पदार्थ राखिएको छ । नुनिलो, धेरै मरमसला (तोरीको सस, केचप, अन्य ड्रेसिङ तथा कन्डिमेन्टहरु, टिम्मुरको छोप, तिलको छोप, खुर्सानीको धुलो आदि) हालिएका खाना, कोसे तरकारीहरू, जङ्गली प्राकृतिक मासु जस्तैः बनकुखुरा, मृग, जरायो, बनेल, कालिज, परेवा, ढुकुर आदिका मासु, अण्डा र माछा आदि पर्छन् ।

राजसी गुणका खानाहरू शारीरिक र मनोवैज्ञानिक उत्प्रेरणामार्फत मानिसलाई आनन्द र धन्य महसुस गराउने प्रकृतिका हुन्छन् । परम्परागत रूपमा भोजन ग्रहणकर्ताको जरुरतअनुसार शरीर तताउने, जोस बढाउने, यौनशक्ति बढाउने, नसा बढाउने, यौन निर्बलता हटाउने, शारीरिक शक्ति बढाउने आदि गुण दिने खानाहरू छानी‑छानी राजसी गुणका भोजका परिकारहरूमा समावेश गरी भोजनालयहरूमा उपलब्ध गराउने चलन रहेको देखिन्छ ।

तामसी गुणका खानाहरूको हकमा भने तामसी गुणको परिकारमार्फत मानिसको तत्काल आइपरेको परिस्थितिसँग सकेसम्म भिड्ने नसके भाग्ने, निर्णय लिने दिमागको रेप्टेलियन भाग ह्याक गर्ने र समय सन्दर्भको जरुरत अनुरूप प्रभावमा लिने नियत रहन्छ । यसमा मूलत: फौजी दक्षता विकास गर्ने हिंस्रक, आक्रामक, दिक्क लगाउने प्रवृत्ति विकास गर्ने भोजन संलग्न गरिन्छ ।

जरुरतअनुसार मानिसमा क्रूरपन, सुस्तपन, नशालुपन, पागलपन, अल्छीपन, लोभीपन, पापीपनसमेत बनाउने गुणहरूको विकास गर्न तामसी गुणका भोजनहरूको सहयोग लिने गरिन्छ । भोजनलाई तामसी गुणयुक्त बनाउन दिमागमा अशुद्ध विचारहरू पैदा गराउने, उदास बनाउने, अज्ञानी बनाउने तथा युद्ध र प्रेममा मानवता हेरिँदैन भन्ने मान्यता विकास गर्ने नियत लिइएको हुन्छ ।

यसमा खानपानमार्फत भोजन ग्रहणकर्तामा आफू लागिरहेको कार्य सफलतापूर्वक सम्पन्न गर्नु वा जित्नु एक मात्र विकल्प आफूसँग सुरक्षित छ भन्ने गहिरो विश्वास विकास गर्ने कोसिस गरिन्छ । तत्कालीन परिस्थितिसँग कि भिड्ने हो नसके मर्ने हो भन्ने उच्च अनुशासनभित्र तीव्र वा उग्र लडाकुपन वृद्धि गर्न तामसी गुणका भोजनहरू बनाइन्छ ।

जसका लागि भोजनमा तामसी गुण उपलब्ध गराउन योगदान पुर्‍याउन सक्ने खाद्यबस्तु प्रयोग गर्ने वा उक्त खुवी थप्ने हैसियत राख्ने पूरक खाद्यपदार्थ (सप्लिमेन्ट) उक्त भोजनमा संलग्न गराएर तामसी गुणबाट भरिपुर पारी उचित भोजन निर्माण गर्ने गरिन्छ ।

प्राय: पहिले नै तयार गरी सुरक्षित राखिएको, फर्मेन्टेसन गरिएको गुन्द्रुक, अमिल्याइएको मिसो, नाटो, तामा जस्तो गन्ध दिने खाद्य, प्रशोधित, सुकाइएको, प्याकेट गरिएको, धेरै पटक तातो चिसो बनेको, फ्रोजन तथा लामो समय बजारमा बस्ने अत्यधिक प्रसोधित खाद्यहरुमा तामसी गुण विकास भएको पाइन्छ । प्याज, लसुन, च्याउ, धेरै पाकेका वा पकिनसकेका फलफूल, केही कन्दमूल, बदाम, रक्सी, वाइन, बियर (जाँड), गाडेको अचार, पररक्षी राखिएको खाना, स्वतन्त्र हिँड्डुल गर्न नपाएको जनावरको मासु र दूध, चुरोट, धुँवा आउने गरी पिउने गाँजाबाहेकका सबै धूमपान आदि खाना तामसी गुण विकास गर्न उपयोगमा आउँछ ।

यहाँनिर ध्यान पुर्‍याउनुपर्ने कुरा के छ भने गुन्द्रुक, मुलाको सिन्की, गाडेको अचार, मिसो, नाटो, तामा जस्ता कतिपय खाद्य कतिपय अवस्थामा तत्काल तामसी गुण दिन प्रयोग हुने भए पनि यिनीहरूको पेटको माइक्रोबायोम वा गट माइक्रोबायोमका लागि लाभदायक रहने हुँदा लामो समयमा दिमाग र शरीरका लागि लाभदायक रहन्छन् । त्यस्तै ठिक्क मात्रामा खाइने रक्सी, वाइन, बियर (जाँड) राजसी गुणको हुनसक्छ भने धेरै अनि लामो समय खाँदा तामसी गुणको हुने गर्छ ।

 

परम्परागत रूपको भोजनको वर्गीकरण र चौरासी व्यञ्जन बन्ने विधिसँगको सम्बन्ध

परम्परागत तरिकामा खानामा आयुर्वेदिक अनुशासन कायम गर्ने नियतको एउटा नियमावली जस्तो हो । चौरासी व्यञ्जनमा भने जरुरतअनुसार खानपान व्यवस्थापनमा युद्धमा जस्तै साम, दाम, दण्ड, भेद र आधारभूत नैतिक जिम्मेवारसमेतको ख्याल गरी बनाएको देखिन्छ ।

जस्तैः उसबेला रातभर सुरा र सुन्दरीसँगै झुमेका राजालाई बिहानको राजभेलामा सामान्य रूपमा उपस्थित गराउन राम्रोसँग धुलो परिएको गैँडाको खाग (सिङ) को पाउडरलाई रक्सी र पानीमा घोली खान दिएर बेलुकीको ह्याङओभर पनि जाने र शरीरमा तागत आउने विश्वासमा पिउन दिइन्थ्यो । आफ्नो पाहुना बनी आएका अर्का देशका राजखलकका वयस्क सदस्यलाई गैँडाको खागको पाउडर वाइनसँगै हालेर पिउन दिई रात्रि भोगको लागि आफ्नो दरबारका सुन्दरी सुकन्या सुम्पेर खुसी बनाउने चलन भएको समेत पाइन्छ । उतिबेला गैँडाको खाग हालिएको परिकार चौरासी व्यञ्जनमा समेत संलग्न हुने गरेको बुझिन्छ ।

वैज्ञानिक अनुसन्धानमा गैँडाको खागमा मुख्यतः केराटिन नै रहेको पुष्टि भयो । केराटिनले भनिए जस्तो शरीरमा क्रिडा शक्ति दिने भियाग्राको काम नगर्ने बरु कीटाणुको सङ्क्रमणमा आउने सामान्य ज्वरो ठिक गर्ने देखियो । उक्त गुण त भैँसीको सिङमा समेत रहेछ । उक्त यथार्थता यकिन भएपछि यो चलन विस्तारै हराउँदै गएको बुझिन्छ । बुझ्दै जाँदा उच्च घरानामा गैँडाको खाग यौन उत्तेजनामा आएको पुरुषको लिङ्गको साङ्केतिक रूप मानेर ठूलाबडाको खासखुस गोप्य कुराकानी दरबारका भाइ‑भारदारमा भ्रमपूर्वक बुझ्न पुग्दा कालान्तरमा गलत मान्यता स्थापित भएको अनुमान निक्लियो । त्यसपछिको परिकारमा अब गैँडाको खाग समावेश गर्नुको सन्दर्भ छुट्ने नै भयो । संक्षिप्तमा बताउँदा चौरासी व्यञ्जन आयुर्वेदिक भूमिकामा समयअनुकूल सुध्रिँदै गएको वैज्ञानिक पद्धतिको आजसम्म मैले जानेबुझेअनुरूप संसारकै उत्कृष्ट कूटनैतिक र सांस्कृतिक आहारको सँगालो हो ।

 

चौरासी व्यञ्जनको अवधारणा

परम्परागत रूपमा राजा, सेना र युद्धका खातिर सक्रिय युद्धमा होमिने जनता सबै नै सामूहिक भोजनालयमा खानपान गर्ने चलन भएको देखिन्छ । लडाइँमा तथा वैदिक कला विकासमा उचित खानपानको ठूलो प्रभावकारिता रहने विश्वास राजपुरोहित र राजाहरूमा देखिन्छ । त्यो समयमा विगतका राम्रा कुरालाई निरन्तरता दिने र त्रुटिपूर्ण गतिविधि सच्याउने प्रक्रिया विकास गर्ने परम्परा बसेको देखिन्छ । उतिबेला राज्यको रूपमा समूहमा बस्ने मानिस युद्धबाहेक परिस्थितिअनुरूप चाडवाड मान्ने, जन्म, व्रतबन्ध, विवाह, पूजाआज आदिमा रमाइलो गर्ने गरेको पाइन्छ ।

युद्धमा लड्ने क्रममा कतिपय अवस्थामा मानसिक ऊर्जावर्धक, नशावर्धक खाद्यहरूको प्रयोग जरुरी हुन्थ्यो । युद्ध जितेको बेलालगायतका हर्षबढाइँहरूमा कामोत्तेजना वर्धक, मानसिक ऊर्जा वर्धक, आत्म स्वाभिमान प्रदायक शाकाहारी तथा मांसाहारी परिकारहरूको माग हुन्थ्यो । जन्मदिन, शुभ तिथि, पूजाआज आदिमा देवसी शाकाहारी थालीका रूपमा छपन्न भोग ग्रहण गर्ने चलन बस्यो ।

उतिबेला दरबार र सैनिकको अन्न प्रसाद क्षेत्र हेर्ने विज्ञहरु अयुर्वेदाको चर्क संहिता सूत्रस्थानाको अन्नपना विधिमा हस्त भएका मानिस हुने गर्थे । लिपिबद्ध गरिएको अन्नपना विधिबाट सकेसम्म धेरै फाइदा उठाउन सकिने गरी समय परिस्थितिअनुरूप व्यावहारिक रूपमा भोजन तयार गरिन्थ्यो । आफ्नो उत्कृष्ट सीपलाई संस्थागत गर्दै गल्तीबाट सिक्दै उन्नत तरिकाको विकास गर्दै विशिष्ट परिकार बनाउने र विशिष्ट तरिकाबाट प्रस्तुत गर्ने कला विकास गर्ने क्रममा उक्त समयको विशाल, विशिष्ट र उत्कृष्ट भोजनको रूपमा चौरासी व्यञ्जनको न्वारान हुन पुगेको बुझिन्छ ।

 

मुख्य सूत्रपातकर्ता वा आविष्कारक

समयअनुसार आफ्नो खानपानमा हुनसकेको विकास र युद्धकला तत्कालीन राज्यको नितान्त गोप्यकलाअन्तर्गत लिइने हुँदा देवसी शाकाहारी थालीका रूपमा प्रयोगमा आउने छपन्न भोगबारे बजारमा निकै चर्चा भएको पाइन्छ । भारतमा आफ्नो मेनुमा छपन्न भोग खाना प्रस्ताव गर्ने दर्जनभन्दा बढी भोजनालय र धर्मशाला अस्तित्वमा छन् ।

चौरासी व्यञ्जनअन्तर्गतको दश प्रकारका खानाका मुख्य आधार परिकार र अतिरिक्त कम्तीमा १८ प्रकारका राजसी परिकार बारेको ज्ञान हालसम्म पनि सूत्रस्थानाको अन्नपना विधिमै सीमित बनेको देखिन्छ । तत्कालीन अवस्थामा सैन्यकला र बहादुरीमा नेपाल अग्रणी देखिन्छ । नेपालको सैनिकसँग चौरासी व्यञ्जनबारेको के ज्ञान छ मलाई अवगत भएन । नेपालको जनस्तरमा आज पनि चौरासी व्यञ्जनको निकै चर्चा हुने गर्छ । जे होस् नेपालमा धेरैले यसबारेमा सुनेका छन् ।

भारत लामो समय ब्रिटिस शासकको उपनिवेश बनेका बेला त्यहाँ विकसित खानपान र युद्धकला तहसनहस बनेको देखिन्छ । ब्रिटिस राजबाट मुक्त बनेपछि भारतमा खानाबारे हुने चर्चामा चौरासी व्यञ्जनको दश प्रकारका खानाका मुख्य आधार परिकारसमेत जोडी जम्मा छपन्न प्रकारका खाना मिलेर बनेको देवसी शाकाहारी थालीलाई छपन्न भोग भन्ने गरेको पाइन्छ । भारतमा नेपालमा जस्तो चौरासी व्यञ्जनको त्यति चर्चा र सोधखोज हुन्छ जस्तो मलाई लाग्दैन । किनकि यो नेपालको रैथाने खाना हो भन्ने मेरो विश्वास छ ।

 

अयुर्वेद चर्क संहिता सत्रस्थानाको अन्नपना विधि

आयुर्वेदको चर्क संहिता सूत्रस्थानाको अन्नपना विधि अध्यायमा खाद्यपदार्थको सेवनको कोड अफ कन्डक्ट, वर्गीकरण, पौष्टिक, कामोत्तेजना वर्धक, मानसिक ऊर्जा वर्धक, नशा वर्धक, आत्म स्वाभिमान प्रदायक क्षमता, खाद्य विज्ञान, स्वस्थ र जीवनबारेको समग्र सम्बन्धबारे विस्तृत जानकारी दिइएको छ । अन्नपना विधिमा भोजनहरूको महत्त्व, खानाको तयारी, भोजन ग्रहणपछिको पाचन, शरीरको समग्र स्वस्थतामा खानाको भूमिका, जीवन्त शक्तिबारेको अत्यन्त गहिरो यथार्थता प्रस्ट्याइएको छ ।

त्यहाँ उल्लेख भएअनुसार जुन भोजन हेर्दा आकर्षक देखिन्छ, त्यो वासनादार र स्वादिष्ट हुन्छ । हामीले खाने भोजन अन्ततः हाम्रो शरीरमा परिवर्तन हुने र यसैले हाम्रो प्राणको रक्षा गर्ने हुँदा यिनीहरूलाई निर्धारित विधि अनुशरण गरेर ग्रहण गर्नु जरुरी हुन्छ । आनन्द महसुस गरेर खाद्य तथा पेयपदार्थ खाने अवस्था रहँदा मात्र खानाको सम्पूर्ण पाचन हुने र शरीरले सकारात्मक ऊर्जा प्राप्त गर्ने हुन्छ ।

खानाले दिने पोषण तत्त्वबाट सकारात्मक मनोवैज्ञानिक ऊर्जा प्राप्त हुनसके मात्र हाम्रो स्नायु स्वस्थ रहन सक्छ । मानिसलाई जिज्ञासु र सकारात्मक सोचको बनाउन स्वस्थ स्नायु चाहिन्छ । अन्नपना विधिले सुझाएअनुसार ढङ्ग पुर्‍याएर स्वाद लिई‑लिई खाइने खानपानले शरीरको तन्तुहरूलाई पोषण दिने, शरीरको रोगसँग लड्ने आन्तरिक क्षमता बढाउने, छालाको जटिलता निर्मूल पार्ने र इन्द्रियका अङ्गप्रत्यङ्गहरूलाई स्फूर्त राख्ने गर्छ । अन्यथा खाना आफ्नै शरीरको लागि प्रतिकूल वा हानिकारक हुन सक्छ ।

 

चौरासी व्यञ्जन कसरी बन्छ ?

मेरो अत्यन्त साँगुरो घेराको अनुसन्धानको निचोडकअनुसार आयुर्वेद मुख्य सल्लाह यो छ कि मानिसले आफूले आफ्नै अवस्थालाई ध्यान दिएर खाना खानुपर्छ । शारीरिक र मानसिक स्फुर्तताका लागि तपाईंले कति खानु भयो होइन कि के खानुभयो भन्ने कुराले धेरै अर्थ राख्छ ।

आयुर्वेदका अनुसार सबै मानिसले चामल, दाल, हिमाली नुन, फलफूल, जौ वा गहुँ, वर्षाको पानी वा शुद्ध पानी, दूध, घीउ र मह गरी कम्तीमा नौ प्रकारको भोजन जीवनभर आफ्नो प्रत्येक छाक खानामा समावेश गरी खान जरुरी छ । रातको खानामा दहीसमेत समावेश गर्नुपर्छ । जसलाई म चौरासी व्यञ्जनको १० प्रकारका खानाको मुख्य आधार परिकार भन्न रुचाउँछु ।

खानामा समावेश गरिने दही, मह, नुन, भुटेको अन्नको पिठोको परिकार र घिउ ताजा तैयारी हुनु जरुरी मान्छ आयुर्वेदमा । सग्लै वा टुक्रेको खाद्यपदार्थलाई पिएर वा सामान्य दाल भात जस्तो खाने वा मकै भट्ट जस्तो चपाएर वा आइसक्रिम जस्तो चाटेर वा चुसेर खान मिल्ने गरी खाना तयार गरिन्छ ।

हामीले दिनभर खाइने खानामा अनिवार्य ६ स्वाद (१. गुलियो – पिठो, बोसो, रोटी, चिनी आदि २. अमिलो – दही, चिज, सिट्र्स फलफूल, गोलभेँडा आदि ३. नुनिलो – नुन आदि ४. तितो वा बिटर – अल्कालोइड र ग्लुकोसाइड हुने हरियो तरकारी जस्तै करेला ५. टर्रो वा एसट्रिनजेन्ट – टेनिन हुने गेडागुडी, दाल, अनार, चिया, कफी आदि र ६. पिरो वा पनजेन्ट – वासना दिने तेल आउने खुर्सानी, मसला, जिरा, अदुवा, मरीच आदि) दिने (रसका) खाद्यपदार्थ संलग्न हुन अनिवार्य छ । पानीलाई भने सबै स्वादको महसुस हुनका लागि अनिवार्य पृष्ठभूमिमा रहनुपर्ने पदार्थ वा पेय ठानिन्छ ।

चौरासी व्यञ्जनमा प्रमुख २० गुणस्तर भएका खानाहरू (१. कोदो, मुङ, चिनी जस्ता हल्का पोषण तत्त्व दिने – खसीको मासु, चिज, घिउ, गहुँ जस्ता उच्च पोषण तत्त्व दिने; २. दूध, काँक्रो, कुल्फी जस्तो चिसो – खुर्सानी, रक्सी जस्तो तातो; ३. बटर, क्रिम, नटस, तेल जस्ता तेलमय वा चिल्लो – भुटेको मकै, सुख्खा रोटी जस्तो चिल्लोविहीन; ४. अल्नो वा सदा स्वादको – तिष्ण वा अति स्वादिलो; ५. शाकाहारी ‑ मांसाहारी; ६. भिडी जस्तो चिप्लो – सुक्खा चना जस्तो ओभानो; ७. नरम वा मुलायम – कडा वा साह्रो; ८. पिठो जस्ता मिहिन पदार्थ निर्मित – कनिका वा सुजी जस्ता खस्रा पदार्थ निर्मित – फलफूल, सलाद जस्ता सग्ला चिज निर्मित; ९. सर्बत जस्तो तरल – क्रिम जस्तो लसाइलो – दही जस्तो बाक्लो) अटाउनु अनिवार्य मानिन्छ ।

खानामा शरीर र दिमागका लागि हितकर हुने, तत्कालीन सिजनअनुसार फल्ने र भोजको समयमा स्थानीयतामा उपलब्ध हुनसक्ने खाद्यवस्तुबाट तयार गर्न सकिने गरी परिकारहरूको निर्धारण गरिन्छ ।

चौरासी व्यञ्जन खुवाउन चाहनेको आफ्नै विशेष इच्छा, चौरासी व्यञ्जन ग्रहण गर्नेको शरीरको दोष, भोजको मुड, मन पर्ने परिकार आदिको पूर्व अन्दाज गर्दै भोजनको समयमा इच्छाएको खाना उपलब्ध हुने लगभग निश्चित हुने अनुमानमा चौरासी व्यञ्जनका खानाका परिकार बनाइएको हुन्छ ।

व्यञ्जन ग्रहण गर्नेको तत्कालीन रोग, व्याध, व्रत, सामाजिक मान्यता, चलन, निजी इच्छा, बानी आदि अनुकूल हुने गरी शारीरिक, मानसिक, मनोवैज्ञानिक जरुरतको पूर्ति हुने अनुरूपको स्वाद, पोषण र रवाफमा खानको परिकार उपलब्ध गराइन्छ ।

राजसी परिकार छनौटमा भने भोजन ग्रहण गर्ने व्यक्तिको निजी चाहना अनुरूप कामोत्तेजना वर्धक, मानसिक ऊर्जा वर्धक, नशा वर्धक, आत्म स्वाभिमान प्रदायक खाद्य तथा पेय पदार्थहरूको संलग्नता नछुटाउन निकै होसियारपूर्वक गहिरो अतिरिक्त आन्तरिक गृहकार्यपछि खानका परिकार छनौट गरिन्छ ।

भोजभतेरहरूमा उपलब्ध गराइने चौरासी व्यञ्जनको हकमा भोजभतेरलाई एक विस्तारित सामूहिक भोजनगृह मानेर सामूहिक भान्सामा ठूलो मात्रामा चौरासी व्यञ्जनमा जाने परिकार छुट्टाछुट्टै पकाएर छुट्टाछुटै भाडामा राखिन्छ । ठूलो टपरी वा चौरासी व्यञ्जन उपलब्ध गराइने ठूलो तामा वा चरेसको थालमा साना-साना दुना वा कटौरामा चौरासी व्यञ्जन उपलब्ध गराइने मानिसको जरुरत वा आवश्यकताअनुरूपका परिकारहरू हाली चौरासी व्यञ्जन तयार गरी उपलब्ध गराइन्छ ।

सामूहिक चौरासी व्यञ्जन ग्रहण गर्ने सहभागी आफैंले आफ्नो आहारविहार, बानी (जस्तैः शाकाहारी, मांसाहारी, सर्वाहारी, फला हारी आदि) तथा आफ्नो शरीरमा रहेको (पित्त, कफ, वात) दोष सबैलाई ध्यानमा राखी आफ्नो खानामा उपलब्धमध्येको कस्तो‑कस्तो प्रकारको परिकार संलग्न गरी चौरासी व्यञ्जन खान चाहिरहेको हो भन्ने बताउने मान्यता राखिन्छ ।

सामूहिक चौरासी व्यञ्जन तयारी गर्दा सहभागीको इच्छाअनुसार तत्काल खाना उपलब्ध गराउन सकिने अनुकूलता मिलाउन लचिलो प्रकृतिको कम्तीमा ८४ प्रकारको भोजन अनिवार्य तयार हुनसक्ने अवस्थामा रहने र त्यसको कम्तीमा २० प्रतिशत मतलव १८ राजसी परिकार उपलब्ध गराउन सकिने मनोविज्ञान लिएर चौरासी व्यञ्जनको भोजभतेर व्यवस्थापन गर्ने गरिन्छ ।

 

चौरासी व्यञ्जन बनाउँदा कुनकुन भोजन विशिष्ट राजसी परिकारभित्र समावेश गर्ने ?

अन्नपना विधिमा खानाले हाम्रो शरीरमा पुर्‍याउने भूमिकाअनुसार खानाको वर्गीकरण गरिएको छ । जसअनुसार पानीले हाम्रो शरीरका तन्तुलाई ओसिलो राख्ने काम गर्छ । नुनले झोल पदार्थलाई तरल राख्न, झोलिलो बनाई राख्न र बाक्लिएर जम्न नदिन सहयोग गर्छ । निश्चित बिरुवाहरूको पानीमा नाघुल्ने क्षारीय गुणका खरानी वा लवणहरूले पाचन शक्ति बढाउने र घाउ खटिरा निको पार्ने गर्छ । महले शरीरभित्रका टुटेफुटेका वा च्यातिएका तन्तुहरू एकापसमा जोड्ने काम गर्छ । घिउले तन्तुहरूलाई लयालु, तेलीय चिप्लो र मुलायम बनाउँछ । दूधले शिथिलता हटाउने, शक्ति दिने, जीवन स्फूर्त पारेर बचाएर राख्न भूमिका खेल्छ । मासुले मोटोपन बढाउने र पोषण उपलब्ध गराउने काम गर्छ ।

आयुर्वेदका अनुसार अण्डा, माछामासु खाने वा नखाने मानिसको नितान्त निजी छनौटको विषय हो । मान्छेले आफ्नो निजी चाहना, धर्म, चालचलन, नैतिक मान्यता, पारिवारिक वा स्वस्थको जरुरत आदिले अण्डा, माछामासु खाने वा नखाने त्यसमा पनि के खाने के नखाने निर्णय लिनुपर्छ ।

मानिसको आफ्नै सम्पूर्ण जटिलता, स्पष्टता, राम्रो स्वर, लामो जीवन, बुझ्ने क्षमता, खुसी, सन्तुष्टि, शारीरिक वृद्धि, कुशलता निर्माणमा खानाको उच्च भूमिका रहन्छ । अन्य खानाले जस्तै अण्डा, माछा, मासुले पनि मानिसमा पोषण र जीवन्त शक्ति उपलब्ध गराउँछ । मासुको रूपमा मानिसलाई उपलब्ध भिन्नाभिन्नै जनावर, चरा र माछा सबैको मानिसको भोजनमा आफ्नै प्रकारको भूमिका देखिन्छ ।

मयुरको मासुले आँखाको तेज र कानको सुन्ने शक्ति बढाउँछ । स्वर सुधार्न, कार्य कुशलता बढाउन, क्षमता वृद्धि गर्न र मानिससँग प्रिय रूपमा घुलमिल हुन गाह्रो गर्ने जटिल व्यहोरा हटाउन मयुरको मासु खाने गरिन्छ ।

खसीको फल मासुले मानिस मोटाउँछ तसर्थ मासुको सुप खान सल्लाह दिइन्छ । खसीको मासुको एकातर्फ शरीरमा नकारात्मक र सकारात्मक पक्षको सन्तुलन मिलाउन उपयोगी देखिने र अर्कोतर्फ यो मासु पाचन हुने क्रममा शरीरभित्र निकै कम विषाक्त पदार्थ निक्लने हुँदा उच्चवर्गको छनौटमा पर्ने गरेको छ । बाख्राले खाने हरेक घाँस मानिसको कुनै न कुनै आयुर्वेदिक ओखती रहेकाले बाख्राको मासु मानिसको शरीरले सबैभन्दा धेरै सहने ओभानो मासु मानिन्छ ।

माछा, झिँगे माछा अनि प्राउनले शरीरलाई तताउने, अधिक पोषण दिने, सजिलै पच्ने, फाइदाजनक चिल्लो पदार्थ र खनिज, भिटामिन दिने र यौनशक्ति उच्च राखिदिने गर्छ । धेरै रोगलाई झन् बढवा दिने हुँदा माछा, झिँगे माछा अनि प्राउन केही रोग लागेका बेला नखान सल्लाह दिइन्छ । धेरै शारीरिक रोगमा प्राउनको भूमिका नकारात्मक देखिन्छ ।

दिमाग र स्नायु प्रणाली सञ्चालन गर्न चाहिने शक्ति उत्पादनका लागि रक्त कोषिकामा हुने पाचन प्रक्रियामा भूमिका खेल्ने भिटामिन बि-१२ को माछा राम्रो स्रोत हो । रङ्गिन माछाको शरीरमा हुने रातो सुन्तला-रङ्गको अस्ता-जान्थिन नामक पिगमेन्टको मात्राअनुसार माछा रातो वा सुन्तला रङ्गको देखिन्छ ।

जुन एक प्रकारको केरोटिनोइड भएको र यसले शरीरमा आन्तरिक दर्द हुँदा एन्टी अक्सिडेन्टको काम गरी आन्तरिक दुखाइ कम गर्ने हुँदा क्यान्सर जस्ता रोगमा यो निकै सहयोगी हुन्छ । निलो रङ्गको माछामा बिलिभेरडिन नामक पिगमेन्ट हुने गर्छ, जुन पकाउँदा सेतै बन्छ । यो माछामा भिटामिन बि-६, बि-१२, भिटामिन-ए र पोटासियमको राम्रो स्रोत हुने गर्छ ।

रेन्बो ट्राउट माछा भने ओमेगा – ३, भिटामिन बि- ६ र भिटामिन बि-१२ का अलावा राम्रो पोटासियम र सिलेनियमको स्रोत भएका कारण धेरै खोजिने गरिएको हो । सिलेनियमले शरीरमा आन्तरिक दर्द हुँदा आराम दिने गर्छ । यसको एन्टी अक्सिडेटिब स्ट्रेसविरुद्ध लड्ने र आर्सेनिकसँग मिलेर क्यान्सरसँग जुध्ने क्षमता निकै सराहनीय छ ।

मृग र बनेलको मासुमा नुन कम हुने, राम्रो प्रोटिनको स्रोत रहेको, ओमेगा-३, ओमेगा-६, थियामिन, नियासिन, भिटामिन बि – ६ , सेलेनियम आदि पाइने हुँदा मानव स्वास्थ्यका लागि उच्च गुणस्तरको हुने मानिएको हो ।

खरायो चार खुट्टे भए पनि यसको मासुलाई सेतो मासु भनिन्छ । यसले शरीरमा कम क्यालोरी दिने तर राम्रो गुणस्तरको प्रोटिन, आइरन, फस्फोरस उपलब्ध गराउँछ । यसको मासुमा पनि सेलेनियम पाइन्छ । साथै खरायोको मासुमा नियासिन नामक भिटामिन हुन्छ, जसले कार्बोहाइड्रेटबाट इनर्जी निकाल्छ र धेरै प्रकारका यौन हार्मोनहरुको निर्माण गर्छ । सेलेनियमले शरीरको नशालाई बन्द हुनबाट समेत रोक्छ ।

मासुको सुप मानिसका लागि सबैभन्दा राम्रो मानिन्छ । मासुको सुपले रोग प्रतिरोधक शक्ति विकास गर्ने, प्रतिभा प्रस्फुटन गराउने, स्वर राम्रो बनाउने, ऊर्जा वृद्धि गर्ने, उमेर तन्देरी देखाउने, बुद्धि विकास गर्ने, इन्द्रियहरू सकुशल राख्ने र यौन क्षमता बढाउन भूमिका खेल्छ ।

शुद्ध गाई वा भैँसीको घिउमा शरीरमा खाना पचाउने क्रममा विकसित हुने विषाक्त पदार्थलाई घेरेर शरीरको संवेदनशील अंगलाई हानी हुन नदिने गुण हुने हुँदा सम्भव भएसम्म मासुलाई पकाउँदा शुद्ध घिउमा पकाउन सल्लाह दिइन्छ । नभए शुद्ध तोरीको तेलमा ।

मासुलाई उमालेर, पोलेर, बटरसँग रोस्ट गरेर, तारेर, केक वा मिट बल बनाएर वा तोरीको तेलमा मर मसला बनाएर महको रङ जस्तो हुनेसम्म पोलेर खान सुझाइएको छ ।

हाँस, कुखुरा र बट्टाइको अन्डामा ओमेगा ‑ ३ समेत गरी नौ प्रकारका शरीरलाई अत्यन्त जरुरी हुने फ्याटिएसिड हुने गर्छ । लामो खोकी लाग्ने समस्यामा हटाउन, वीर्यमा शुक्रकिटको सङ्ख्या बढाउन, टिबीको संक्रमणविरुद्ध क्षमता बढाउन, मुटुको रोगमा अण्डा अति उपयोगी हुने गर्छ । बच्चाको बौद्धिक विकास र शारीरिक वृद्धिमा अन्डाको ठूलो भूमिका हुन्छ ।

राम्रो निद्रा नपर्नेहरूलाई राँगोको मासु खान भनिन्छ । बनेल र बुंगुरको मासुले यौनशक्ति र शारीरिक तागत वृद्धि गर्छ । सुगाको मासुले पाचन शक्ति बढाउँछ । पखाला लाग्दा गोटा पार्न पनि सहयोगी हुन्छ । परेवाको मासु धेरै पिसाब लाग्ने र रगत छाद्ने समस्या भएमा खाइन्छ । कछुवाको मासुमा दिमागलाई तागत दिने र यौन शक्ति बढाउने खुबी रहन्छ । कुखुराको मासुले यौन चाहना बढाउने, शक्ति दिने, स्वरको गुणस्तर वृद्धि गर्ने र शरीरमा पसिना निकाल्न सहयोग गर्छ ।

 

चौरासी व्यञ्जनमा कुन कुन खाना पर्छन् ?

चौरासी व्यञ्जनमा कुन‑कुन खाना पर्छन् भन्ने सरल रूपमा उल्लेख गर्न यसलाई तीन भागमा छुट्टाएर प्रस्तुत गर्दा सजिलो हुने गर्छ ।

क) मुख्य आधार भाग

यसमा कम्तीमा १० प्रकारका शाकाहारी खाना समेटिएको छ :

१. अन्न : अन्नले शरीरको आधार शक्ति र सहन शक्ति निर्माण गर्छ । अन्नअन्तर्गत सादा भात वा जिरा पुलाउ वा गहुँको रोटी; आँटाको नान रोटी वा कोदोको रोटी; फापरको रोटी वा मकैको भात राख्ने चलन छ ।

२. हरियो सागपात: हरियो सागपातले शरीरलाई जीवन्त शक्ति दिने, तन्दुरुस्ती राख्ने र रगत सफा गर्ने गर्छ । हरियो सागपात अन्तर्गत पालुङ्गो वा गान्टे मुला, मुलाको साग, चाइनिज साग; मिसाएको हरियो सागको जुस वा सलाद खाने सागहरू; रायोको साग वा बन्दा, गाजर, तोरीको साग आदि सागहरू राखिन्छ ।

३. ताजा तरकारी : ताजा तरकारीले शरीरलाई जीवन्त शक्ति दिने, तन्दुरुस्ती राख्ने र रगत सफा गर्ने गर्छ । ताजा तरकारीअन्तर्गत कुरिलो, मुला वा सलगम; करेला, बरेला, भिडी, भन्टा, हरियो सिमी; आलु, काउली, बन्दा, गाजर आदिको तरकारी राखिन्छ ।

४. फलफूल : फलफूलले शरीरलाई दरिलो राख्ने र शुद्ध गर्ने काम गर्छ । फलफूलअन्तर्गत सिजनअनुसार आँप, मेवा, सुन्तला, केरा वा अङ्गुर; स्याउ, नरिवल, चेरी, खर्बुजा; अनार, बेरी, हलुवाबेद, खुरपानी, सरिफा राख्ने चलन छ ।

५. दूध तथा दुग्ध पदार्थ : दूध तथा दुग्ध पदार्थले वलिष्ठ अस्थिपञ्जर प्रणालीको निर्माण गर्छ । तागत दिन्छ । घिउ शरीरमा उत्पन्न हुने विषादीलगायतका विकारहरूबाट शरीरको अति संवेदनशील स्वचालित अङ्गहरूको रक्षा गर्छ । दूध तथा दुग्ध पदार्थअन्तर्गत दूध, दही, कफिर; घिउ, बटर वा सौंफ, दालचिनी, धानिया र सख्खर हालिएको लस्सी; बाख्राको दूध, फ्याट निकालिएको दूध, मरीच वा खुर्सानीको धुलो हालिएको लस्सी राखिन्छ ।

६. दलहन बाली वा दाल : दाल प्रमुख प्रोटिनको स्रोत हो । लालले शरीरका तन्तुलाई शक्ति वा ओज प्रदान गर्छ । दालअन्तर्गत मुग दाल, कालो दाल; चना, केराउ, बोडी, सिमीको दाल; गेडागुडीको दाल, क्वाँटिको सुप, विभिन्न गेडागुडीको सुप आदि राखिन्छ ।

७. कोसेबाली वा गेडागुडीको तरकारी : प्रमुख प्रोटिनको स्रोत हुने गर्छ । शरीरका तन्तुहरूलाई शक्ति वा ओज प्रदान गर्छ । गेडागुडीअन्तर्गत मुगको गेडा, भटमास, तोफु; चना, केराउ, बोडी, सिमी; राजमा, सेतो सिमीको गेडा, कालो गेडागुडी आदिको सुक्खा तरकारी राखिन्छ ।

८. नट्स (सुक्खा फल) र सिड (सुक्खा बीउ): सुक्खा फल र बीउमा हुने तेलले हाम्रो शरीरमा दैनिक गतिविधिका क्रममा उत्पन्न हुने फोहोर पदार्थ र बिषादिहरु शरीरलाई हानी गर्न नदिने गरी शरीर बाहिर फाल्ने काम गर्छ । शरीरलाई शक्ति प्रदान गर्छ । शरीरमा उत्पन्न हुने रेडिकल आयोनहरुबाट संवेदनशील अंगहरूको सुरक्षा गर्छ । यसअन्तर्गत कालो नुन, हल्का मसलासमेतको नरिवल, तिल, अमेरिकी बदाम, काजु, वा ओखर; सूर्यमुखी फुलको, आलसको, वा फर्सीको भुटेको गेडा; मरिच र खुर्सानीको धुलो लगाएको भुटेको कटहरको गेडा, कटुसको गेडा, बदाम आदि राखिन्छ ।

९. गुलियो वा सख्खर : गुलियोले मुख्यतः तत्काल शक्ति प्रधान गर्छ । गुलियोअन्तर्गत सख्खर, ज्यागरी, ताजा मह; खुदो, भातको गुलियो रस, फुलको गुलियो रस; फलफूलको रस, पुरानो मह, वन मौरीको मह आदि राखिन्छ ।

१०. वर्षाको पानी वा शुद्ध पानी : पानीले सम्पूर्ण शरीरको आन्तरिक गतिविधि हुनका लागि मुख्य स्थान वा आधार उपलब्ध गराउँछ ।

 

ख) साझा देवसी भाग

यसमा कम्तीमा ५६ प्रकारका शाकाहारी खाना (छपन्न भोग) समेटिएको छ :

क) मुख्य अन्नअन्तर्गत

१) खिचडी २) मसलादार बासमतीको पुलाउ ३) खसखस, पनिर, चुकन्दर, गाजर, धनियाँ सलाद ४) उसिनेको कोदोको गेडा र तिलको सलाद ५) बेसार पुलाऊ ६) मसलेदार भुटेको चिउरा ।

ख) तरकारी अन्तर्गत

७) गाजर सब्जी ८) आलु काउली तरकारी ९) क्रिमि निऊरो सलाद वा क्रिमि मूलाको डुकु र ब्रोकाउली सलाद १०) घिऊमा हल्का भुटेको चुकन्दर र गाजरको सुख्खा तरकारी ११) मिसमास तरकारीको सब्जी १२) हरियो – रातो-निलो-कालो बन्दाको सलाद १३) कुरिलोको टुसाको मसलादार सलाद

ग) सुपअन्तर्गत

१४) गाजर-धानियाको सुप वा आलु मस्यौराको सुप १५) दुधिलो मकैको सुप वा कान्जी १६) ओखर र काउलीको सुप १७) आलु फर्सी र नरिवलको मसलादार सुप १८) सग्लो मस्याङको दाल ।

घ) पेय पदार्थ

१९) मरिच र अदुवाको चिया २०) दूधको चिया वा मसला चिया २१) काँक्रो र नरिवलको दूध चिया २२) मरीच र बेसार सहितको दूध २३) अदुवा र सिन्कौली हालिएको मसलेदार दही २४) हर्बल सर्बत २५) बेलको सर्बत ।

ङ) रोटीअन्तर्गत

२६) दुधिलो मकैको रोटी २७) चामलको पिठोको रोटी २८) उम्रेको मुङ, गाजर, कैड़ो फर्सीको मसलेदार परौठा २९) भक्का ३०) मासको पिठोको रोटी ।

च) अचार र ड्रेसिङअन्तर्गत

३१) धनियाँको चटनी ३२) नरिवलको चटनी ३३) काँक्रोको रैता ३४) शुद्ध स्थानीय गाइको घीऊ ३५) भोगटेको चटनी ३६) आरु वा लप्सीको चटनी ३७) हलेदो र अदुवाको चटनी ३८) मुरब्बा ।

छ) खाजाअन्तर्गत

३९) कचौरी ४०) फुल्की ४१) निम्की वा सेल रोटी ४२) फुरौला ४३) पकौडा ४४) मासको बारा ४५) बटुक ४६) भन्टाको पकौडा ४७) करेला – भिन्डीको पकौडा ।

ज) मिठाई र डिजर्टअन्तर्गत

४८) माल पुवा ४९) अर्सा रोटी ५०) लड्डु वा जुलेबी ५१) रस वरी वा दूध वरी वा पेडा-बर्फी वा मन-भोग ५२) बदाम-सुख्खा फलको खिर ५३) खुर्पानी, छोकडा र खानायोको मिठाई ५४) तिलको लड्डु ५५) मिश्री, सौप, ल्वाङ, सुकुमेल, दालचिनी, सुपारी, अलैँची आदिको सेटको थाली ५६) पान वा सुपारी वा सुर्ती वा गाँजा वा गाँजाको लड्डु ।

 

ग) विशिष्ट राजसी भाग

यसमा मांसहारी तथा शाकाहारी गरी कम्तीमा १८ विशिष्ट खाना समेटिएको छ :

१) भाङको अचार वा आलसकोको गेडाको अचार गाडेको (आलु गोलभेँडाको वा काँचो आप वा अमला वा कागती वा भोगटे वा लप्सीको वा करेला वा गोलभेँडाको) अचार वा फरमेन्टेड (तामा वा गुन्द्रुक वा सिन्कीको) अचार वा खुर्सानी वा टिम्मुर वा तिल वा गुन्द्रुक वा पिनाको छोप ।

२) भाङको लड्डु वा भाङ-महको घिउ खट्टे वा नरिवलको लड्डु वा दूध केक वा चिज/पनिर केक वा सुजी वा गाजरको हलुवा वा कुराउनी

३) शाकाहारी (भेजी वा पनिर वा च्याउको) कबाब वा मांसाहारी (बनेल वा कुखुरा वा खसीको) कबाब

४) अमिल्याएको दूधको दही वा मोही मसला

५) बनेल वा खसी वा कुखुरा ‑ उसिनेको वा तारेको वा भुटेको वा सँधेको

६) बनेल वा खसी वा कुखुरा वा माछा वा अन्डाको झोल तरकारी

७) उसिनेको अन्डा वा अम्लेट वा मसला अम्लेट

८) शाकाहारी मःम (पनिर वा तोफु वा च्याउ) वा मांसाहारी मम (बनेलको वा खसीको वा कुखुराको मम) र मःम अचार

९) शाकाहारी (भेजी वा च्याउ) बिरियानी वा मांसाहारी (बनेल वा माछा वा कुखुरा वा खसीको) बिर्यानी

१०) तारेको वा चप बनाएको वा भुटेको माछा वा झिँगे माछा वा प्राउन

११) तारेको पुरा सग्लो सुन्तला वा रातो वा निलो माछा वा ट्राउट माछा

१२) माछा वा कुखुरा वा खसी वा बनेलको तास वा सेकुवा वा सुकुटी

१३) तन्दुर गरेको माछा वा कुखुरा वा खसी वा बनेल

१४) कुनै एक प्रकारको खरायो वा हरिण वा मृगको मासुको परिकार

१५) पोलेका वा उसिनेका वा रोस्ट गरेको कुनै पनि कन्दमुलहरु

१६) हल्का मदिरा : वाइन (पातीको वा गाँजाको वा फलफूलको वा ऐसेलुको वा अन्नको जाड वा तोंङ्वा वा छाङ वा निगार) वा ताडी वा बियर (सोमलताको बियर वा अन्न वा फलफूल वा गुणको बियर)

१७) कडा मदिरा : रक्सी (हुस्कि वा ब्रान्डी वा रम वा भड्का वा टेकुला) वा भाङको बियर

१८) अम्मल – गाँजा वा चुरोट वा तमाखु वा बिँडी वा नशालु हर्ब्स

 

यो खाना एकमुष्ट खान पाइन्छ ?

हाम्रो मान्यताको चौरासी व्यञ्जन बनाउने कुनै ठाउँ मैले हालसम्म चाल पाएको छैन । त्यस्तो भए जस्तो पनि लाग्दैन । यसको विकसित रूपमा ठूल्ठूला एकैपटक ३०० – ४०० भन्दा धेरै खानका परिकारको बफेट राख्ने, दुई घण्टाभित्रमा भरपेट खाने तोकेको मूल्य तिर्ने चलन भएको बफेट रेस्टुरेन्टहरू चाहिँ संसारमा हजारौँ देखिन्छन् । नेपालमा कसैले यो एउटा नेपाली परम्पराको चुलो चलाउँदा हुने हो ।

 

चौरासी व्यञ्जन सबै खान सकिन्छ ?

दिइएको वा खानाका लागि उपलब्ध गराइएको सबै खाना खाने भन्ने विचारधाराबाट चौरासी व्यञ्जन बनाइने वा पस्कने गरिएको हुँदैन । दिएको खानामध्ये जे‑जे जति जति मन पर्छ त्यही खाना त्यति त्यति खाने हो । खाना खाँदा हाम्रो आमाशय जब खानाले पुरै भरिन्छ त्यति बेला त पुरै अटसमटस हुने गरी अघाएको महसुस हुन्छ । आयुर्वेदअनुसार हाम्रो आमाशयमा अटाउने खानाको एक तिहाइ भाग बराबर ठोस पदार्थ, एक तिहाइ भाग तरल पदार्थ र एक तिहाइ भाग खाली नै रहने गरी खानुपर्ने मान्यता छ । परापूर्वकालमा प्रायः सबैमा नै यो कुरा पुगेको देखिन्छ । जति खादा खाना सजिलै पचेको महसुस हुन्छ त्यति खाने भन्ने हो ।

जसमा अत्यन्त पोषण तत्त्व हुने खसीको मासु, रोटी, दूध, चना, तिल, बदाम-मक्खन जस्ता पदार्थ भएका खाना खान पर्दा ‘एक तिहाइ वा आधा अघाउन पाएको के हुन्न’ खान बन्द गर्ने भनिन्छ । पोषण तत्त्व कम रहेको भात, मुङको दाल, कुखुराको वा माछाको मासु, फलफूल, घिउ आदि जस्ता हल्का प्रकृतिका खाना खाँदै गर्दा भने ठिक्क अघाएपछि छोड्ने तर कोची‑कोची नखाने भन्ने मान्यता छ । चौरासी व्यञ्जन ग्रहण गर्नेले आफ्नो इच्छाअनुरूप खाने हुँदा अन्य खानामा जस्तो कति क्यालरी खायो र के‑के तत्त्व प्राप्त भयो भन्ने हिसाब गर्नु सान्दर्भिक रहँदैन ।

(जटिबुटी र हर्बल क्षेत्रमा उन्नत अनुसन्धानमा संलग्न हुँदै संसारभर उद्यमशीलताका लागि जरुरी ज्ञान, सीप र प्रविधि हस्तान्तरणको नेतृत्व गर्दै आएका लेखक घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक तथा औषधि विज्ञ हुन् ।)

प्रकाशित समय १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु