गृहपृष्ठ कारागारमा पुस्तकालय

कारागारमा पुस्तकालय

sampadakiya-newskarobar

कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारमा ‘कारागारलाई किताब अभियान’अन्तर्गत पुस्तकालय स्थापना भएको एक साता बितेको छ । प्रसिद्ध साहित्यकार एवं लेखकहरूको उपस्थितिमा चैत २३ गते सबै कारागारमा पुस्तकालय स्थापना गरिएको हो । कैदीबन्दीलाई लक्षित गरी स्थापना गरिएको पुस्तकालयलाई अभियानले जसरी उपयोग गर्न खोजेको छ, नतिजा सोहीअनुरुपको आउन सक्ने प्रारम्भिक संकेत देखिएको छ ।

प्रहरी, परिवार र समाजसमेतको सोचलाई चुनौती दिने गरी अभियान नै चलाएर कारागारमा पुस्तकालय स्थापना गरिनु कारागारलाई सुधारगृहको रूपमा विकास गर्नुमात्र नभई, कैदीबन्दीमा असल संस्कार र सकारात्मक सोचको विकास गर्नु पनि हो । एक साताको अवधिमा कैदीहरूले पुस्तक अध्ययन गरेर प्राप्त गरेको ऊर्जा र ‘कैदीबन्दीसँग पुस्तक समीक्षा’ कार्यक्रममा उनीहरूको प्रस्तुति र आत्मविश्वासले पनि यसलाई उजिल्याइदिएको छ । कतिपय कैदीले एकै सातामा दुईवटा पुस्तक अध्ययन गरिसकेका छन् । जीवनमा नकारात्मक सोच पालेर वर्षौंदेखि नारकीय जीवन बिताइरहेका कैदीबन्दीहरू एकाएक अध्ययनशील र सिर्जनशील बनेका छन् । पुस्तक जीवन बदल्ने आधार हो भन्ने निष्कर्षमा उनीहरू पुगेका छन् । लेखकले पुस्तकमा दिन खोजेको सन्देशझैं जीवनमा उतारचढाव आइरहन्छन् तर त्यसलाई चिर्दै अघिबढ्नुपर्छ भन्ने ज्ञान उनीहरूमा पलाएको छ । पुस्तकबाट प्राप्त चेतनालाई जीवनमा उतार्दै सिर्जनशील ढंगले अघि बढ्ने आत्मविश्वास उनीहरूमा बढेको छ । अवचेतन मनमा गुम्सिएर बसेका बिकारहरू पखाल्ने माध्यम बनेको छ पुस्तक । कतिपय कैदीले लेखक बन्ने प्रतिबद्धता जनाएका छन् भने कतिपयलाई कविता कोर्न रहर लागेको छ । उनीहरू आफ्ना सिर्जना प्रकाशित होउन् भन्ने चाहन्छन् र त्यसमा अभियानका संयोजक महेशविक्रम शाहले जनाएको प्रतिबद्धताले उनीहरू थप उत्साहित बनेका छन् । कैदीबन्दीका उत्साहमा ऊर्जा भर्न अभियानले उनीहरूका लागि कापी–कलमको व्यवस्था गरिदिन जरुरी छ ।

कारागारको खास अर्थ सुधारगृह हो तर नेपालका अधिकांश कारागार क्षमताभन्दा दोब्बर–तेब्बर कैदीबन्दीले भरिएका छन्, यसरी हेर्दा नेपालका कारागार सुधारगृहभन्दा यातनागृह बनेका छन् । कारागार चलान भएकी गर्भवती महिलाले जन्माएको बच्चा त्यही कालकोठरीमा हुर्किन बाध्य हुन्छ । कुनै सिर्जनात्मक कार्यमा लाग्न नपाउँदा कैदीहरू झन् बढी विक्षिप्त हुने र मानसिक विचलनको सिकार बन्ने गरेका उदाहरण प्रशस्तै भेटिन्छन् । प्रहरी प्रशासन र समाजको कैदीमाथिको व्यवहार पनि टिठलाग्दो हुन्छ । केही कारागारमा सीपमूलक काममा कैदीलाई लगाउने गरिएको पनि पाइन्छ तर कारागार सुधारगृहभन्दा पनि यातनागृहकै रुपमा स्थापित हुँदै गएका छन् ।

कर्णाली प्रदेशबाट सुरु भएको ‘कारागारमा पुस्तकालय अभियान’ देशभर पुर्याउने तत्परता देखाउन सके कारागार सुधारगृहमा रुपान्तरणमात्र हुँदैनन्, कैदीबन्दीहरू सिर्जनात्मक कार्यमा लाग्न उत्प्रेरितसमेत हुनेछन् । विश्वभरि नै ‘ओपन जेल’को अवधारणाले स्थान पाउँदै गएको छ । यो यस्तो अवधारणा हो, जसले कैदीहरूलाई बन्द कोठरीमा कोचेर उनीहरूलाई मानसिक रूपमा विक्षिप्त गराउनेभन्दा खुला वातावरणमा सिर्जनशील कार्यमा सहभागी गराउने गरिन्छ । चीनलगायतका देशले त कैदीलाई विकास निर्माण कार्यमै खटाउने गरेको पाइन्छ । जसको अनुकरण अपरिहार्य बनिसकेको छ । कम्तीमा पुस्तकमा रमाउने बानीले कैदीमा सकारात्मक सोचको विकास हुनेछ, खाली दिमागलाई ‘भूतघर’ बनाएर बसिरहेका कैदीहरू सिर्जनशील बन्न सहयोग पुग्नेछ । समाज परिवर्तनका लागि पुस्तकालय कति शक्तिशाली हुन्छ अनि अध्ययन कति महत्वपूर्ण हुन्छ भन्ने नजिर स्थापना हुनेछ । यसको सार्थकता पूर्ण लक्ष्य प्राप्तिका लागि अभियानलाई सरकारका साथै सबै तह, तप्का, समुदाय र वर्गका मानिस एवं कैदीबन्दीका आफन्तसमेतको बलियो साथ जरुरी छ ।

यो पनि पढ्नुहोस्

कर्णालीका कारागारमा पुस्तकालय : बदलिँदै सोच, फेरिँदै जीवनशैली

प्रकाशित समय १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु