गृहपृष्ठ व्यापारिक नाफामा भुलेका ग्राहक सेवा
व्यापारिक नाफामा भुलेका ग्राहक सेवा
नेपालमा अहिले सबैभन्दा फस्टाएको क्षेत्र कुन हो भन्दा फरक फरक राय आउन सक्छ । नाफाको प्रकृति हेर्ने हो भने बैंकिङ क्षेत्रले अहिले देशभित्र सर्वाधिक फस्टाएको क्षेत्र हो, सञ्चालनमा रहेका २८ वटा क वर्गका बैंकहरूले ८ महिनाकै अवधिमा एक अर्ब रुपैयाँभन्दा बढीको नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकको बाध्यकारी व्यवस्था र सेयर बजारसम्बन्धी कडा नियमहरूका कारण बैंकहरूले पारदर्शी रुपमा आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने भएकाले उनीहरूको नाफा प्रष्टै देखिए पनि तीसँगै ठूलो नाफा गर्ने अन्य क्षेत्रहरू पनि छन्, जुन कारोबारका रकमगत हिसाबले बाहिर देखाइँदैन, तर प्रष्ट अनुभूति भने हुने गर्छ । त्यसमध्येको एउटा प्रमुख क्षेत्र हो, थोक तथा खुद्रा व्यापार । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो १० महिनामा ११ खर्ब ७८ अर्ब रुपैयाँको आयात भएको छ । आर्थिक वर्षको अन्तिम महिनामा एक चौथाइजति आयात हुने गरेको विगतका अनुभव हेर्दा यस वर्ष औपचारिक माध्यमबाट करिब १४ खर्ब रुपैयाँबराबरको आयात हुने निश्चितप्रायः छ ।
नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार नेपालमा हुने भारतबाट आयात हुने कुल व्यापारमध्ये ४० प्रतिशत अनौपचारिक माध्यमबाट हुने गरेको छ । यसरी हेर्दा नेपालमा हाल वार्षिक १८ खर्ब रुपैयाँबराबरको वस्तु आयात हुन्छ । यो त आयातीत वस्तुको तथ्यांकमात्रै हो, नेपालको काला बजारसम्बन्धी ऐनले नै वस्तुको उत्पादन वा आयात मूल्यमा २० प्रतिशतसम्म नाफा जोडेर वस्तु बेच्न पाउने सहुलियत दिएको छ । तर, अधिकांश वस्तु न्यून मूल्यांकन गरेर आयात गरिने हुन्छ । व्यापारीहरूले आयात मूल्यको ५० देखि सत प्रतिशतसम्म नाफा राख्ने गरेको हेर्दा नेपालका २५ देखि ३० खर्ब रुपैयाँको थोक तथा खुद्रा व्यापार हुने गरेको अनुमान गर्न सकिन्छ । थोक तथा खुद्रा व्यापारले नेपालको अर्थतन्त्रलाई हाँकिरहेको छ भन्दा फरक पार्दैन ।
थोक तथा खुद्रा व्याफार त्यतिकै हुँदैन । त्यसका लागि स्थल चाहियो । क्रेता–वित्रेताको संगम हुनु पर्यो । वस्तु आयात गरेरमात्र भएन । व्यापार पनि हुनु पर्यो । अहिले जता हेर्यो, व्यापारीहरूमात्रै देखिन्छन् । खाद्य वस्तुका खुद्रा व्यापारदेखि मदिरा, मोबाइल, कपडा र कस्मेटिकसम्मका व्यापारीहरूले सहरका मुख्य क्षेत्रहरूमात्र नभईकन भित्री गल्लीहरूसमेत ढाकिसकिएका छन् भने ग्रामीण क्षेत्रमा समेत मुख्य चोकहरूमा पसलैपसलमात्र देखिन्छन् । विगतमा ग्रामीण क्षेत्रहरूमा लाग्ने हाटबजारमा वस्तु व्यापार हुन्थ्यो भने हिजोआज बाह्रै महिना, चौबीसैकाल मुख्य सहरी क्षेत्रमा जतासुकै हाटबजार नै लागिरहेको देखिन्छ ।
व्यापार गर्नेले त वस्तुको व्यापार गरेर नाफा कमाउँछन्, त्योभन्दा ठूलो नाफाचाहिँ व्यापारिक सपिङ कम्प्लेक्स बनाउने, सटर भाडामा दिनेहरूले कमाइरहेका छन् । मुख्य सहरी क्षेत्रमा अग्लाअग्ला भवन बनाएर व्यापारीलाई भाडामा दिने र त्यसबाट कुश्त कमाउने धन्धा व्यापाक रूपमा मौलाएको छ । यस्ता व्यापारिक भवनहरूको भाडादर मनमानी लिने गरिन्छ । एउटा सटरका २५–३० हजारदेखि मुख्य व्यापारिक सहरी केन्द्रमा लाख रुपैयाँसम्म छ । यो भाडा व्यापारको धन्धा कतै अनुगमन पनि हुँदैन ।
लगानी गरेपछि नाफा कमाउनु पनि पर्छ तर त्यसका लागि न्यूनतम व्यापारिक मूल्य मान्यता र सिद्धान्तहरूको पालना भने गरिनु आवश्यक हुन्छ । थोक तथा खुद्रा व्यापारका मुख्य आयका स्रोत हुन् ग्राहक तर ग्राहकको सेवा सुविधालाई निकै न्यूनमात्रै व्यापारीहरूले ध्यान दिएका छन् । दैनिक लाखौंको कारोबार गर्नेहरूले पार्किङका लागि सोच्दा पनि नसोचेको देखिँदा उपभोक्ता हितका सम्बन्धित निकायहरूले सरोकार देखाउनु पर्ने अवस्था आएको छ ।
प्रकाशित समय १५:०७ बजे

















