गृहपृष्ठ लकडाउन : तनाव होइन, सिर्जनात्मक कार्यमा लाग्ने अवसर
लकडाउन : तनाव होइन, सिर्जनात्मक कार्यमा लाग्ने अवसर
प्रकोप वा विपत्ति बाजा बजाएर, साइत हेरेर, झ्याली पिटेर र पूर्वजानकारी दिएर आउँथ्यो भने कति जायज हुन्थ्यो नि है ? तर, बिडम्बना त्यो कहिल्यै सम्भव भएन र हुँदैन पनि । यसको अर्थको हामी आफैँ विभिन्न परिस्थितिको पूर्वतयारीमा जुट्नुपर्छ, कुनै विकल्प छैन ।
अहिले विश्व त्रसित गर्ने महामारी पनि कुनै पूर्वजानकारी नै हामी माझ आइपुग्यो । विश्व मानचित्रमा मै हुँ भनेर बसेका अति विकसित देश यसको चपेटामा परेका छन् । स्वस्थ क्षेत्रमा अब्बल मानिएको देश पनि बबुरो भई मुकदर्शक बन्नुको कुनै विकल्प रहेन । हुन सक्ने प्रयास र प्रयोग भने नगरेको होइन, त्यहीँ पनि कुनै ठोस उपलब्धि हासिल भएको छैन ।
विज्ञान, स्वास्थ्य, अर्थ र सामाजिक दृष्टिबाट यो महामारी प्रकोपको अनेकौँ व्याख्या भइसकेका छन् । कोही समय सान्दर्भिक छन् भने केही धमिलो पानीमा माछा मारेको झैँ छन् । बौद्धिक समाजका अनेक यथार्थपरक विषयमा छलफलदेखि विवाद पनि हामीले देखिसकेका छौँ । ढिलो न चाँडो यो प्रकोपको अन्त्य पक्कै होला । यस समस्याको कुनै दीर्घकालीन हल पक्कै निस्केला । तर, हामी त्यस पश्चात् कस्तो भविष्यको बाटो निर्धारण गर्नेछौँ ? हामीले अपनाउने सतर्कता कस्तो हुनेछ ? यो प्रकोपले सिकाएको पाठ कसरी विश्लेषण गर्नेछौँ ? भोलिका दिनमा कुनै विपत् आइपर्दा अहिलेको अवस्थाबाट कस्तो शिक्षा हासिल गरियो ? यस्तै यस्ता गम्भीर प्रश्नहरुको उत्तर खोज्न उत्तिकै जरुरत छ ।
एउटा व्यावहारिक शिक्षाको पठनपाठन हुने शैक्षिक संस्थाको माथि उल्लिखित प्रश्नको सहज जवाफ र भविष्य पूर्वाधारका नवीनतम उत्तरहरु भने पक्कै छ । हाम्रो प्रायः हुने दैनिकी क्रियाकलापलाई नै पृष्ठभूमि मान्ने हो भने व्यावहारिक शिक्षा हामीले जन्मेर ठूलो हुने समयसम्म विभिन्न स्रोतबाट प्राप्त गरिरहेका हुन्छौँ । कुनै अभिभावकले आफ्ना सन्तान गलत संस्कारमा हुर्केको सायद पक्कै हेर्दैनन् । यसको अर्थ हो, हरेकको बाल्यकालमा उचित गृह शिक्षाको अभ्यास हुन्छ ।
कुनै अभिभावकले आफ्ना सन्तान गलत संस्कारमा हुर्केको सायद पक्कै हेर्दैनन् । यसको अर्थ हो, हरेकको बाल्यकालमा उचित गृह शिक्षाको अभ्यास हुन्छ ।
माथि उल्लेख गरिएको जस्तो महामारी कुनै सूचना नदिएर आउने प्रसंगलाई पुनः जोड्दै, हरेक घरमा यस्ता विपतको पूर्वतयारीको गृह कक्षा सञ्चालन गर्ने हो भने यस्तो विषम परिस्थितिमा अतालिनेभन्दा संयमित हुने समाजको परिकल्पना गर्न सक्छौँ । अहिलेसम्म भएन ठिकै छ तर अबको दिनमा यस्ता व्यावहारिक शिक्षा जसले कुनै औपचारिक शिक्षाबिना नै एउटा शिक्षित समाजको निर्माण गर्न सक्छ भने किन नगर्ने ।
साना हुर्किंदै गरेका नानीबाबुहरुलाई संकट, विपत्ति र महामारी के हो ? यसबाट सुरक्षित कार्यको अवधारणा पर्याप्त मात्रामा कसरी गर्न सकिन्छ ? भन्ने कुरामात्र सिकाउन सकियो भने रोग र प्रकोपबाट बच्न नसकिए पनि जोखिमको न्यूनीकरण पक्कै गर्न सकिन्थ्यो । हुलमुलमा हिँड्न हुँदैन भनेर अहिले पाको व्यक्तिलाई सम्झाउन महाभारत भएको अवस्थामा कुनै एक व्यक्ति स्वयं विवेकी बनेर उदाहरण दिँदाको समाज कल्पना गर्नुहोस् । लकडाउने अतालिएर बस्न हम्मेहम्मे परेका बेला कुनै एक व्यक्ति सिर्जनात्मक कार्यमा अग्रसर हुँदा कस्तो प्रतिफल निम्त्याउला एकपटक सोच्नुहोस् । जसरी अहिलेको बदलिँदो आधुनिक रहनसहनमा हामी बसेको प्रकृति भुल्दै छौँ, त्यस्को ठिक विपरीत प्राकृतिक मोह र त्यसबाट लिन सकिने फाइदाको विषयमा ध्यान पुर्याउँदा कस्तो अवस्था हुन्छ होला सोच्नुहोस् ।
हामी महामारी होस् या प्रकोप बाँच्नको लागि खाद्यान्न जुटाउन लाग्यौँ ताकि बाँच्न सकियोस् । हामी सुनचाँदी सम्पत्तिको कल्पना पनि गर्दैनौँ यस्तो बेला, जसलाई हामी जिन्दगी भन्छौँ । जिन्सी कुरा र आर्थिक प्रलोभन बच्चालाई त्यही नै भविष्य हो भनेर उसको उदार दिमागलाई संकुचित नबनाऊँ । बाल्यकाल एउटा यस्तो कालखण्ड हो, जसले एउटा जीवन जो समाज, देश, विश्व र सारा प्रकृतिसँग जोडिएको हुन्छ र त्यो परिवर्तनको संवाहक पनि हो ।
हामी हाम्रो विगत बदल्न सक्दैनौँ तर त्यसबाट सिकिएको पाठ वर्तमानमा प्रयोग गरेर भविष्य भने पक्कै सोचेको जस्तो बनाउन सक्छौँ । ढिला भएको छैन, आजै लकडाउनमा बसेको बेला आफ्नो नयाँ पुस्तालाई विगतको तितो सत्य बताउनुहोस्, जहाँ तपाईंले गल्ती गर्नुभएको थियो ताकि सोही गल्ती तपाईंको आउने पुस्ताले नगरोस् । तपाईंले गर्ने चाहेको सकारात्मक कुरा नगरेर हातमा केही नपर्दाको क्षण वर्णन गर्नुहोस्, जसलाई आउने पुस्तालाई मनन गरेर प्रयोगमा लिएर आउने आँट मिलोस् ।
हामी साना केटाकेटीले केही भुल गरे पिट्ने वा सजाय दिने काम गर्छौं तर त्यो गल्ती किन भयो ? नगरेको भए के हुन्थ्यो ? र नगर्न के गर्नुपर्छ ? कहिल्यै सिकाउने प्रयास गर्दैनौँ, फलस्वरुप उनीहरु हामीलाई नै चित्रण गर्छन्, जुन नितान्त गलत हो । आउनुहोस्, आजैको दिनबाट यो अफ्ठ्यारो र कठिन समयलाई सकारात्मक र बौद्धिक समाज निर्माणमा प्रयोग गरौँ । लकडाउन भनेको भौतिक दूरी राख्ने कार्य हो, वैचारिक दूरी होइन । अहिलेको यो समय गुज्रिँदै गर्दा हाम्रो जीवनको अमूल्य समय पनि गुज्रिएको छ, यो फर्केर पुनः आउँदैन । यो एउटा सुवर्ण अवसरको व्यथालाई कथामा बदलेर गाथामा परिवर्तन गर्ने बेला हो । सुरक्षित घरमै बसेर पहिले परिवार, त्यसपश्चात् समाज अनि देश हुँदै दुनियाँको भलो गर्ने क्षमता देखाउनुहोस् । परिवर्तन हाम्रै पालामा सम्भव छ । आजै गरौँ, भोलि कहिल्यै आउँदैन । सूर्यास्तपश्चात् नै सूर्योदय सम्भव छ । म बदलिन्छु अनि हामी बदलिएर हाम्रो बनाऊँ !
(पौडेल गेट भोकेसनल स्कुल पोखराका महाप्रबन्धक हुन् ।)
प्रकाशित समय १४:०९ बजे

















