गृहपृष्ठ दाइ भन्नुहुन्छ- पत्रकार राजनीतिक गोटी हुन्

दाइ भन्नुहुन्छ- पत्रकार राजनीतिक गोटी हुन्

'सरकारको व्यवहारले सञ्चार जगतलाई राज्यको चौंथो अंग मानेको प्रतीत हुँदैन'

मे ३ अर्थात् आज विश्व प्रेस स्वतन्त्रता दिवस । कुनै औपचारिक कार्यक्रमविनै आज संसारभर यो दिवस मनाइयो । कोरोना महामारीका कारण यतिबेला करिब विश्व नै लकडाउनमा छ । संसारका गतिविधि ठप्प छन् । हरेकको काम एउटा कोठा र घरमा थुनिएको छ । जसकारण योपटक नेपालमा पनि प्रेस स्वतन्त्रता दिवस मनाउन कोही पत्रकार सडकमा निस्किएनन् ।

तर प्रेस स्वतन्त्रतालाई नेपाल सरकारले उहिल्यै लकडाउन घोषणा गरिसकेको छ । जसका कैयौं उदाहरण पछिल्लो घटनाले प्रष्ट देखाउँछ । राज्य सञ्चालनका तीन अंगहरू छन् । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका । सञ्चार जगतलाई राज्यको चौंथो अंग भने पनि नेपालमा भने यो भनाइमा मात्र सीमित छ । सरकारको व्यवहारले सञ्चार जगतलाई राज्यको चौंथो अंग मानेको प्रतीत हुँदैन ।

‘रिपोर्टर विदाउट बोर्डर’ले प्रकाशित गरेको सन् २०२० को विश्व प्रेस स्वतन्त्रता सूचकांकमा नेपाल ११२औं स्थानमा रहेको छ । गत वर्ष नेपाल १०६औँ स्थानमा थियो । दक्षिण एसियामा नेपालको स्थान भुटान र माल्दिभ्सभन्दा पछाडि छ । विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा फ्रिडम फोरमले तयार पारेकोे वार्षिक मिडिया प्रतिवेदनअनुुसार एक वर्ष (मे, २०१८ देखि अप्रिल, २०१९ सम्म) १०४ प्रेस स्वतन्त्रता उल्लंघनका घटना घट्दा १५८ पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् । मिडिया प्रतिवेदनअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा डेढ गुणाभन्दा बढी हो । अघिल्लो वर्ष यो संख्या ६६ रहेको थियो ।

अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हरेक वर्ष यो दिवस मनाउदै गर्दा यस वर्ष दिवसको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने रहेको छ । अफसोच पत्रकार आफैं भयमा पत्रकारिता गर्न बाध्य छन् । नेपालमा प्रेस स्वतन्त्रतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ समेत जारी भइसकेका छन् । ऐन र नियमावली बने पनि प्रेस स्वतन्त्रताको अनुभूति भने सञ्चारकर्मीहरूले गर्न सकेका छैनन् ।

व्यवहारमा प्रेस स्वतन्त्रता नदेखिँदा र प्रेसमाथि हुने गरेका दमन र थुनछेकले संविधानमाथि नै प्रश्नचिन्ह खडा गरिरहेको छ । समय-समयमा समाचार लेख्ने पत्रकारले आफ्नो कलम बन्द गरेर हातमा प्लेकार्ड बोक्दै प्रेस स्वतन्त्रताका लागि आवाज उठाउँदै सडकमा उत्रिनुपर्छ । कहिले हातमा कालोपट्टी बाँधेर विरोध गर्नुपर्छ त कहिले कलम, क्यामेरा र ल्यापटप सडकमा राखेर धर्ना बस्नु परेको छ । यसरी ‘आवाजविहीनको आवाज’ भनिएको प्रेसको आवाज सिंहदरबारको गेटमा ठोकिएर फेरि सडकमै फर्किइरहेको छ ।

प्रेस स्वतन्त्रताको माग गर्दा सुन्नेवालाले प्रेस हस्तक्षेप सुनेछन् क्या हो ? घोडालाई लगाउने लगामजस्तै प्रेस स्वतन्त्रतामाथि लगाम लगाउन सरकार जतिसक्दो उद्यत छ । यदिबेला सञ्चार जगतमा यी यस्ता हस्तक्षेपले मात्र होइन अनधिकृत खोलिएका अनलाइन र युटुब च्यानलले पनि प्रश्न चिन्ह खडा गरिरहेको छ । प्रेस स्वतन्त्रता छैन भने यिनलाई लगाम किन लागेन ? प्रविधिको विकाससँगै डिजिटल अनलाइन र मिडियाले फड्को मारिरहेको बेला भ्रामक समाचार फैलाउने माध्यमलाई कानुनी कारवाही किन हुन सकेको छैन ?

श्रीमानश्रीमतीको झगडा पर्दा त्यही रिसमा केटाकेटीले पिटाइ खाएजस्तै कतिपय स्थानमा पत्रकार र सञ्चार गृहले पनि त्यस्तै समस्या भोग्न परिरहेको छ । एकातिर राज्यको दमन, अर्कोतिर अनधिकृत मिडियाका कारण आमनागरिकले पत्रकारलाई हेर्ने दृष्टिकोणका बिच पत्रकारिता गर्नु निकै कठिन छ । यसका साथै नयाँ पुस्ताले अग्रज पत्रकारको दम्भ पनि उत्तिकै सहनुपर्छ । हरेक पत्रकार मिडिया हाउसदेखि सबैबाट शोषित भएका छन् । उनको श्रमको पनि शोषण भइरहेको छ ।

अहिलेको सरकार के बुझ्छ कुन्नि ! मुख थुनेर र कलमलाई आफूले थिचेर पत्रकारिता गर भनेजस्तो गर्छ । अहिलेको सन्दर्भमा पत्रकारलाई राजनीतिक दलले विपक्षमा हुञ्जेल सम्झिन्छ, पत्रकारको लागि आवाज उठाएजस्तो गर्छ । सत्तामा पुगेपछि त्यही पत्रकारको स्वतन्त्रता खोस्न थाल्छ ।

त्यसैले त एउटा दाइ भन्नुहुन्छ, ‘पत्रकार राजनीतिका गोटी हुन्’ । हुन पनि हो, अहिलेको सन्दर्भमा यथार्थ कुरा गर्दा पत्रकारको हाल त्यस्तै छ पनि । जसलाई पार्टीगत पत्रकारिता गर्ने स्वयं पत्रकारले नै यस्तो स्थिति सिर्जना गर्न मद्दत पुर्याएका छन् । यी स्थिति ल्याउनुमा एक हिसाबले स्वयं पत्रकार पनि जिम्मेवार छन् । यतिबेला पत्रकारको क्षमता भएर पनि क्षमताविहीन जसरी अरुको गोटी बन्नु पत्रकारको दुर्भाग्य हो । यसको सुधारका लागि पत्रकारका संगठनहरुलै नै जिम्मेवार भई बेलैमा कदम उठाउनु आवश्यक छ । महत्वपूर्ण कुरा, यदि एउटा पत्रकारले प्रेस स्वतन्त्रता खोज्छ भने उ पार्टीगत संगठनका हिसाबले पत्रकारिता गर्न छोड्नुपर्छ । किनकि एक पत्रकार आवाजविहीनको आवाज हो, न कि कुनै दल वा नेताको ।

हातमा कलम समाएर, एउटा मिडिया हाउसको निलो कार्ड भिर्दै ‘पत्रकार हुँ’ भन्दै हिँड्नेलाई लगाम लगाउनु पत्रकारको पनि दायित्व हो । प्रेस स्वतन्त्रता माग्नका लागि पत्रकार र सञ्चार गृहले पनि आफ्नो कमीकमजोरी र गल्ति सच्याउन जरुरी छ । पत्रकारिता क्षेत्रमा आउन साच्चै हिजोआज निकै सहज छ । मिल्छ आफ्नै अनलाइन दर्ता गरेर पत्रकार बन्ने हो । नमिले चिनेजानेका कसैको सञ्चार गृहबाट प्रेस कार्ड बनाएर पत्रकारमा दरिने हो । न कुनै शैक्षिक योग्यता, न केही । यति संवेदनशील र जिम्मेवारीपूर्ण पेशामा लाग्न कति सहज छ ।

अनि कहाँबाट नआवोस् प्रेस स्वतन्त्रतामा लगाम र नकारात्मक धारणा ? यी स-साना गल्तिलाई सच्याएर सञ्चार गृह अघि बढेको खण्डमा प्रेस स्वतन्त्रता अवश्य सम्भव छ । नपाइए पनि पत्रकारको आवाज अझै दमदार हुन्छ । जब पत्रकार र सञ्चार गृहले आफ्नो गल्ति, कमजोरी सच्याउँदै अघि बढ्छ, अनि मात्र पत्रकारको आवाजसँगै आवाजविहीनहरुको आवाज पनि गुञ्जिन्छ । अनि, पत्रकारले मागेको प्रेस स्वतन्त्रतामा औंला उठाउने कुनै ठाउँ नहुँदा कसरी बेमतलब बन्न सक्छ सरकार ? तर दुर्भाग्य भनौं, अहिले राज्यका तीन अंगमाथि खबरदारी गर्ने राज्यको चौंथो अंग नै आफ्नै लागि आवाज उठाउन बाध्य छ ।

प्रकाशित समय २०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु