गृहपृष्ठ सेयर बजारमा गलत प्रवृत्ति

सेयर बजारमा गलत प्रवृत्ति

घरबाट बाहिर निस्कँदा बैंक खुलेका छन् । पसलहरु खुलेका छन् । मानिसको चहलपहल पनि निकै बढिरहेको छ । तर, अचम्म लाग्छ अरु बन्द हुँदा खुल्नुपर्ने सेयर बजार अझै खुलेको छैन । अझै बन्द छ । अनलाइन कारोबारका सबै प्रक्रिया पूरा गरेको जवाफ दिने नेपाल स्टक एक्सचेन्ज (नेप्से) र यसको व्यवस्थापनले आफ्नो पसल बन्द गरेको सूचना भने लम्ब्याइरहेको छ । बजार खुल्ने आशमा बसेका लगानीकर्तालाई नेप्से बन्दको सूचना तेर्स्याएर असारको घाम तापेर सुतेको छ । सम्वभतः यसको नियामक धितोपत्र बोर्ड पहिल्यै निदाइसकेको हुनुपर्छ ।

नेप्सेको सञ्चालक समितिमा बसेर भत्ता खाइसकेका धितोपत्र बोर्डका वर्तमान अध्यक्ष अहिले आएर सेयर बजारभित्रको प्रणालीलाई भयावह देख्दै छन् । चारवर्षे कार्यकाल बिताएर बाहिर निस्किएपछि यिनले पनि सेयर बजार सुधारका निकै राम्रा सुझाव दिनेछन् । अनि सेयर बजारमा राम्रो भविष्य देखेका युवा र लगानीकर्ताले जीवनको महत्वपूर्ण समयको चार वर्ष पारदर्शी, विकसित, सुविधा सम्पन्न सेयर बजारको उपभोग गर्न पाउने आशैआशमा बिताउनुपर्ने सम्भावना देखिँदै छ ।

धितोपत्र बोर्डको वार्षिक उत्सवमा अर्थमन्त्रीले अनलाइनबाट भाषण गर्दै भनेका थिए– नियामकले बनाएको नियम जसका लागि बनाइएको हो, पहिला उसले पालना गर्नुपर्छ । दिएका निर्देशन पालना गर्नुपर्छ । उनको आशय नियामकभन्दा माथि बसेको नेप्सेप्रति लक्षित देखिन्थ्यो । अर्थमन्त्रीलाई स्पष्ट थाहा छ, बोर्डका निर्देशनको पालना नेप्सेले गरिरहेको छैन । यही भएर पनि हुनसक्छ, सेयर ब्रोकर लाइसेन्ससम्बन्धी नेप्सेको अधिकार कटौती गरेर सम्पूर्ण अधिकार धितोपत्र बोर्डमातहत राख्ने गरी धितोपत्र ऐन संशोधन हुँदै छ ।

ब्रोकरले नेप्से वा धितोपत्र बोर्डका निर्देशन पालना नगरे निलम्बन गर्ने, झुटा मुद्दा लगाउनेदेखि अनेकका धम्की दिएर निर्देशन पालना गराउन सजिलो छ । र, नेप्से र धितोपत्र बोर्ड यी काम गरिरहेका पनि छन् । तर, बोर्डले नेप्सेलाई त्यसरी धम्क्याउने ठाउँ रहेनछ न त लाइसेन्स खारेज गरिदिन्छु भन्न सक्ने न करोडौँ जरिवाना लगाउन सक्ने न त कारोबार नै रोक्न सक्ने न निलम्बन गर्न सक्ने । यसैले पनि होला, नेप्से बोर्डभन्दा माथि देखिएको ।

धितोपत्र बोर्डमा राष्ट्र बैंक र अर्थ मन्त्रालयका कर्मचारी सञ्चालक ईभइ सेयर बजारको नियमन हुनै नसक्ने अवस्थाका कानुन छन् ।

यो मात्र होइन । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका कर्मचारीको भत्ता मोह र दबदबाले सेयर बजारको सुधार संकुचित हुँदै गएको छ । धितोपत्र बोर्डमा राष्ट्र बैंक र अर्थ मन्त्रालयका कर्मचारी सञ्चालक ईभइ सेयर बजारको नियमन हुनै नसक्ने अवस्थाका कानुन छन् । अनि नेप्सेमा पनि त्यस्तै । अर्थ मन्त्रालयका कर्मचारी र राष्ट्र बैंकका कर्मचारी नेप्सेको सञ्चालक समितिमा बस्नैपर्ने । नबसे सेयर बजार सकिइहाल्ने जस्तो कानुनी अवस्था सिर्जना गरिएको छ । यहाँ नियम पालना गर्ने क्रममा संस्था र प्रणालीलाई हेरिँदैन व्यक्तिलाई हेरिन्छ । इगोलाई हेरिन्छ । यही भएर पनि धितोपत्र बोर्डका निवर्तमान अध्यक्षले प्राथमिक बजारमा जुन परिवर्तन गर्न सके दोस्रो बजारमा प्रयास गरेर पनि गर्न सकेनन् । नेप्सेको साँढे परिवर्तनका लागि उफ्रिन सकेन, बरु बसिदियो ।

सेयर बजारलाई परिवर्तन गर्ने हो भने भत्ता संकलन गर्नका लागि हरेक संस्थामा नेपाल राष्ट्र बैँक र अर्थ मन्त्रालयका कर्मचारी सोह्र श्राद्धका पुरेतझैँ कुद्ने गरी बनाइएका कानुन परिवर्तन गर्न सक्नुपर्छ । सकिन्छ भने संसदमा संशोधनका लागि दर्ता गरिएको धितोपत्र ऐनमा यसप्रकारका व्यवस्था हटाएर सुधारिएको सञ्चालक समितिसम्बन्धी व्यवस्था गर्दा राम्रो ।

सेयर बजारमा अर्को भयावह पनि देखिँदै छ । त्यो हो नियामक र बजार सञ्चालकको निकम्मापन र संगठनहरु हावी । प्रजातन्त्रमा संगठन खोल्न कसैले रोक्दैन । एक जनाबाट दुई हुनेबित्तिकै संगठन बन्छ । परिवारका सदस्यमात्र मिलेर पनि संगठन बनाउन सकिन्छ । संगठनको स्वार्थका लागि पनि संगठन बन्छ । सामाजिक स्वार्थका लागि पनि संगठन बन्न सक्छन् । समाज र प्रणाली परिवर्तनका लागि पनि संगठन बनाउन सकिन्छ । स्वार्थ के हो म स्पष्ट छैन तर सेयर बजारमा संगठन जन्मिरहेका छन् । यो जारी रहन सक्छ । नियामक र बजार सञ्चालकले समयमै ध्यान पुर्‍याउन सकेनन् र परिवर्तित विश्व र प्रविधिअनुसार सेयर बजारलाई परिवर्तन गर्दै लैजान सकेनन् भने संगठनका स्वार्थले सलह किराले वाली छपक्कै छोपेझैँ नेप्से र बोर्ड दुवैलाई छोप्नेछ, जसरी केही अघिसम्म सरकारी कार्यालय, संस्था र कतिपय निजी संस्थालाई पार्टीपिच्छेका संगठनले छोपेका थिए । हरेक दिन हरेक संगठनका मागले संस्था, व्यवस्थापन र व्यवसाय पीडित भए । उठ्नै नसक्ने गरी थला परे र त्यसको पीडा जनताले भोग्नुपर्‍यो ।

सेयर बजारमा संगठन जन्मिएभन्दा पनि कस्तो प्रवृत्ति हावी भइरहेको छ र त्यसले सेयर बजार प्रवेश गर्न चाहने, भर्खर प्रवेश गरेका वा अनुभव बटुलेका लगानीकर्तामा कस्तो प्रभाव पार्दै छ भन्ने कुरा मुख्य हो । सम्भवतः यसको मूल्यांकन सेयर बजारको नियामक धितोपत्र बोर्डले गरिरहेको हुनुपर्छ । मूल्य सिर्जना र उतारचढाव सेयर बजारका दुई महत्वपूर्ण सुन्दर पक्ष हुन्, जसमाथि गलत प्रवृत्तिको प्रवेश हुनु हुँदैन । यस्तै नियामकले मूल्य सिर्जनाको पारदर्शितामाथि लगानीकर्ताको विश्वास कायम राख्न सक्नुपर्छ । अर्को कुरा लगानीकर्ता चुप बसे भनेर हामीले सबै ठीक गरेका छौँ भनेर नियामक निकायले नसोचे हुन्छ किनकि मौनताको अर्थ न्याय पाएको वा सन्तुष्टि भएको भन्ने हुन सक्दैन ।

(सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर तथा क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्स गरेका छन् ।)

यो पनि पढ्नुहोस्

लकडाउनपछिको सेयरबजार

प्रकाशित समय १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु